गोर्खाल्याण्ड क्षेत्रलाई पनि केन्द्र अधिनस्थ राख्नुपर्छ-विमल गुरुङ

कालेबुङ, 5 अगस्त: प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रलाई केन्द्र अधिनस्थ राख्नुपर्ने गोजमुमो अध्यक्ष विमल गुरुङले माग गरेका छन्। कश्मिर सम्बन्धमा केन्द्रले निर्णय लिँदै दुईवटा केन्द्र शासित प्रदेश बनाएपछि गोजमुमो अध्यक्ष विमल गुरुङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै गोर्खाल्याण्ड क्षेत्रलाई पनि केन्द्र अधिनस्थ राख्न माग गरेका हुन्।

‘बङ्गलादेशबाट आज बङ्गालमा भईरहेको अनुप्रवेशले भारतमा भविष्यमा अर्को कश्मीर जन्माउन सक्छ भन्ने कुरामा हामी चिन्तित छौँ-विमल गुरुङले भनेका छन्, ‘यसैले बङ्गालमा झट्ट एनआरसी लागु गरेर देशको सुरक्षाको दिशामा कदम उठाउनुपर्ने अनि राष्ट्रवादी गोर्खाहरूलाई न्याय दिन प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रलाई पनि कश्मिरलाई झैँ केन्द्र अधिनस्थ राख्नुपर्नेछ भनी अपील गर्न चाहन्छौँ।

यदि गोर्खाल्याण्ड क्षेत्रलाई केन्द्र अधिनस्थ राखेमात्र गोर्खाहरूले पनि आज कश्मीरका जनताले झैँ स्वतन्त्रता अनुभव गर्नसक्ने गुरुङको तर्क छ।

जम्मु काश्मीरको सन्दर्भमा धारा ३७० माथि केन्द्रको सरकारले लिएको निर्णय राष्ट्रिय सुरक्षा अनि अखण्डताको निम्ति आवश्यक कदम रहेको भन्दै पार्टी पक्षबाट गुरुङले समर्थन जनाएका छन्।

‘लद्दाखलाई जम्मु कश्मीरबाट अलग गरेर केन्द्र शासित प्रदेश बनाएकोमा अनि जम्मु कश्मीरलाई विधानसभायुक्त केन्द्र शासित प्रदेश बनाएकोमा गोर्खा जनमुक्ति मोर्चाले यस कदमले कश्मीरका जनताले साँचो प्रजातन्त्र पाएको ठहर गरेको छ’-गुरुङले भनेका छन्, ‘भारतीय जनता पार्टीको यो कदम राष्ट्रिय सुरक्षाको निम्ति विशेष रहेको हामी मान्दछौँ। यसले कश्मिरमा पाकिस्तानी अनुप्रवेशलाई पूर्णत: रोक्न सक्षम हुनेछ।’

यस सन्दर्भमा गुरुङले दार्जलिङ, पहाड, तराई अनि डुवर्सका तमाम गोर्खाल्याण्ड समर्थक राजनैतिक दलहरूलाई एका-अर्कामा मतभेद नराखेर एक भएर आवाज उठाउन आग्रह गरेका छन्।

‘यस विषयमा भारतका सबै प्रान्तमा बसेका गोर्खाहरूले केन्द्रको निर्णयलाई स्वागत गर्दै गोर्खाल्याण्ड सन्दर्भमा राष्ट्रिय एकता कायम गरिदिने अपील गर्दछु’-गुरुङले भनेका छन्, ‘अहिलेको घडीमा हामी समस्त गोर्खा एक भएको खण्डमा केन्द्रले अवश्यै हाम्रो पक्षमा निर्णय लिनेछ अनि हामीलाई बङ्गालबाट अलग गरेर हाम्रो देशप्रेमको कदर गर्नेछ अनि हामीलाई राजनैतिक न्याय दिनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया