
कालेबुङ, 5 अगस्त: कालेबुङको गरीमामय इतिहास बोकेको कालेबुङ आर्ट्स एण्ड क्राफ्ट इण्डस्ट्रियल को-अपरेटिभ सोसाइटी लिमिटेडलाई पुनर्जीवित गर्न आज दोस्रो चरणको बैठक यहाँको श्यामादेवी भवनमा सम्पन्न भयो। कालेबङ जिल्लापाल डा. विश्वनाथको पहलमा गत 26 अगस्तका दिन पहिलो बैठक सम्पन्न भएको थियो। त्यसै बैठकमा सोसाइटीलाई पुनर्जीवित गर्न एक साताभित्र सोसाइटीका अन्य सदस्यहरूसित अर्को बैठक गर्ने प्रस्ताव पारित गरिएको थियो। यसै निर्णयको आधारमा आज सोसाइटीका पुराना सदस्यहरूलाई लिएर बैठक सम्पन्न भएको थियो।
सोसाइटीका वरिष्ठ सदस्य मङ्गल राईद्वारा बोलाइएको बैठकमा कालेबुङका विभिन्न ठाउँमा रहेका अनि वृद्ध अवस्थामा पुगिसकेका सदस्यहरू एवं कालेबुङको सामाजिक संस्था मणि ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, कालेबुङकी विधायिका सरिता राई, वरिष्ट नागरिक सीके प्रधान, अधिवक्ता राजीव पराजुली एवं नागरिक समाजलाई प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तिविशेषको उपस्थिति थियो। सभाबारे जानकारी गराउँदै ट्रस्टका अध्यक्ष सुवास मणि सिंह अनि सोसाइटीका सदस्य मङ्गल राईले सोसाइटीलाई पुनर्जीवित गर्न सर्वसमम्तिले साझा निर्णय लिएको छ। यसै बैठकको निर्णय अनुसार यसलाई पुनर्जीवित गर्न सोसाइटीका सदस्यहरूले सम्बन्धित निकायलाई पत्रचार गर्ने भएको छ।
अर्कोतिर, कालेबुङकी विधायिका सरिता राईले कालेबुङ आर्ट्स एण्ड क्राफ्ट पुरानो कालेबुङको गौरव रहेको कारण यसको अस्तित्वलाई फर्काइल्याउन जरूरी रहेको भन्दै आफ्नो पक्षबाट पनि प्रयास भइरहेको अवगत गराइन्।