पाहाड़को शिक्षा कसले सुधार्ने ? (विचार)

हाम्रो समाजको सबै समस्याको समाधान भनेको छुट्टै राज्य मात्र होइन अतह हामीलाई जुन काम सुम्पिएको हुन्छ त्यो जिम्मेवारीपूर्ण पुरा गर्नु हो। प्रत्येक तहबाट नै इमान्दारीपूर्वक काम गरिन थाले समाज समृद्धिको बाट तिर अवश्य नै अग्रसर हुनेछ। र सबैभन्दा पहिले पाहाड़मा शिक्षण प्रणालीमा सुधार आउनुपर्छ।


लेखक-कमल भुजेल,

रिसर्च स्करल, भौतिक विज्ञान विभाग, मिजोरम विश्वविद्यालय।

अन्योलतामा बगिरहेको पाहाड़को सामु धेरै चुनौतीहरू उभिरहेको बेला अझ प्रश्नको बोझ दिनु खिसी-टिही गर्नु झैं हुन्छ। समस्या पनि थातिमा यस्तो प्रकारले थुप्रियो कि संगाल्नु नै आँट गर्नु नसकिने जस्तो देखिन्छ। हुनपनि इतिहासको विरताको कथामा मात्र बाँच्नु सिकाए। हकिकतमा त सधैँ हारै-हार मात्र देख्न पायौँ हाम्रो जेनेरेसनले। अतीतको गरीमामा मात्र रम्न सिकाए। टाड़ा हेर्न खोज्दा जसरी वरीपरी डाड़ा-काड़ाले छेलिदिन्छ त्यसरी नै यहाँको भविष्य पनि सधैँ यसरी नै छेल्लिन्ने गरियो। लिमिटेड एडिसन भएर बाँच्न सिकाइयो पाहाड़ेहरूलाई।

पाहाड़ले गर्व गर्ने कुराहरूमा शिक्षा, साहित्य, स्वस्थ्य, सुरक्षा, सौन्दर्य आदि थिए। तर यसको जगेड़ा गरेर राख्नमा पाहाड़ सक्षम बनेन भन्नु भन्दा पनि चेष्टा नै गरेर हेरेनन्। शिक्षा? अहिले शिक्षाकै विस्तारमा सन्दर्भ जोड़्छौ।

साहित्य? न कुनै “दर्शन” न त कुनै“वाद”, गुटै-गुटमा गुटमुट्टिएर साँघुरिए साहित्य। साहित्यकार अकडेमी पुरस्कारमा मक्ख। समाजको दर्पण, चर्काएर प्रतिविम्ब नै कोत्रा-कोत्रा हुँदैछन्, एक-दुई जनाले नथाम्ने हो भने यतिञ्जेलसम्म छरपष्ट भइसक्ने समाजको दर्पण साहित्य।

स्वस्थ्य ? स्वस्थ्य सुधार्न पहिले पाहाड़ चड़्थे, अहिले उपचारदेखि सपैको निम्ति ओह्रालो झर्छन्। मानसिक होस् वा शारिरिक। आर्थिक होस् वा राजनैतिक। उपचार तल नै हुन्छ।

सुरक्षा? सुरक्षाको त झन् कुरा? पाहाड़ त्यसै त शान्त छ, पहिले कमानमा आवज उठायो कि हट्टा-बाहारगरिन्थ्यो, अहिले विदेशी लाञ्छनाको ऐंठनले छोड़दै छोड़्दैन। हामी रुँदा अरूले हाँसेको देख्छन्।

यसरी पाहाड़ खोक्रिन्दै-खोक्रिन्दै खाष्टो मात्र बनिसक्दा पनि केही आशा छन् जसले यसलाई पुणर्जीवित गराउन सक्छ। भारतको इतिहासमा पाहाड़ले धेरै नै हारेको छ, तर जहिलेपनि जितेको झैं पटेका पड़काएर नाँच्न नै लगाए। मनमा असन्तुष्टि हुँदा-हुँदै पनि परिपूर्ण भएको ढोंग गर्न लगाए। हेपिरहेको थाहा पाएर पनि सही दिन सिकाए। अत्याचारमाथि विरोधको आवाज त्यसै दबाइदिन लगाए। यसरी दिन, महीना, साल देखी दशक र शताब्दी नै बितेर जाँदा हाम्रो प्रतिरोधक क्षमता नै विलिप्त भैसक्ने क्रममा छ। हामी प्रगतिको बाटोमा जाने आँट सम्म गर्न पनि डराउने हुन थालेका छौं। हामी जित्दैनौ, कहिलेपो जितेको छौ र? भन्ने प्रश्नले लड़नु अघि नै हराइदिन थालेको छ यथार्थ। हाम्रो भागमा हारै-हार मात्र त छ, हारेर पनि के हुन्छ र? हामी हार्दा पनि नाचिँ त हाल्छौ, रमाइहाल्छौ। संघर्ष गरेर जोखिम नउठाई पनि खुशी पाएपछि किन विपत्ति मोड़्नु? यो मानसिकताले ग्रसित हाम्रो समाज अफीम खाए झैं अलअलिराको छ।

र हामी अहिले पूर्ण नचिनिने भएका छौ आफैसित। गिरीले कविता कोर्दा अरूले हामीलाई चिन्न छोड़्दैथिए, अहिले हामी स्वयंले नै चिन्दैनौ। हाम्रो चिनारी खुकुरीमा मात्र सिमित राख्नेले खुकुरीमा धार लगाउने जिम्मेवारी नै बिर्सिदिए। केवल विरताको गीतमा रूमलीनु सिकाए, तर वीर हुनुको अर्थ पनि बताएनन्। वीरता र बुद्धीलाई जोड़्ने जमर्को पनि भएन। यसरी धेरै कुरा भएन जसले हामी हुनुको अर्थलाई बचाँइराख्थ्यो। तर यस्ता धेरै कुरा भए जसले अस्तित्वको चोक्टा लुछिराने क्रमिक क्रिया गरिरहे, अवरोध धरी नभएपछि प्रतिरोध त झन् कसरी हुने?

यसरी यस्तै भएन-भएनहरू धेरै भए पनि आपतकालीन उपचार गर्नु पर्ने भनेको पाहाड़को शीक्षाको हो। विभिन्न विभागमा धेरै कर्मचारीहरू छन् तर विद्यालयमा कर्मरत व्यक्तिहरू कर्मचारी मात्र नभएर शिक्षक पनि हुनु पर्ने हो। पाहाड़मा रोजगारको विकट समस्याले गर्दा जुन प्रकारले यी विद्यालयहरूमा शिक्षक नियुक्तिको व्यवस्था चलिआएको छ अब शिक्षाको स्तर ढलपल हुनुमा यसको पनि अहम भूमीका निर्वाह हुन्छ। यदि शिक्षण पेशा जिम्मेवारीपूर्ण लिए निकै चुनौति पुर्ण हुनेछ। पाहाड़को हरेक कुनामा जसरी समस्याको थेग्रो जमिएको छ, विद्यालय पनि त्यसबाट पर जान्थ्यो झन् कसरी। अहिले सरकारी मात्र नभएर निजी-विद्यालयको पनि स्तरमा कमी आएकै कारण विद्यार्थीको ओह्रालो नै पलायन भइरहेको छ। सपै स्कूल खाली हुने दौरमा छन् र सरकारी प्राइमेरीले रेस लगभग जितिसकेकै छ। स्कूलमा गुणस्तर शिक्षाको कमीले आमा-बाबाले ट्युसन वाध्यतामूलक बनाइसके। नानी स्कूल गएन भने चिन्ता गर्दैनन् बरू, तर ट्युसन गएन भने बबाल हुन्छ। सरकारीमा पढ़ाई राम्रो नभए निजि-विद्यालय लान्छन् त्यहाँ पनि नभए कोचिंग लगाउछन् र जसो-तसो गरेर पास गराउछन्। अब पैसा हुनेले पो यो व्यवस्था गर्ला तर जसको सामर्थ्य छैन, उसले गुनस्तर शिक्षा के पाउदैन त यो स्थितिमा। कमान-बस्ती बाट दु:ख गरेर सरकारी स्कूल पढ़्न आउछन् तर बोर्डको परीक्षामा धेरै सरकारी विद्यालयबाट फर्स्ट डिविजन नै हुनु छोड़ीसकेपछि पैसा नहुँदा राम्रो मार्क्स पनि नआउने स्थितिमा पढ़नमा प्रोत्साहन दिनु पनि चुनौती बन्दैगइरहेको छ। पाहाड़मा पैसा हुनेहरूको नानीहरू पढ़ी नै दिदैन, अनि जसले पढ़्नु सक्छ तिनीहरूकोमा पैसा नै हुँदैन। यसरी पढ़्न नचाहनेलाई जब्बरजस्ती पढ़ाउन सकिन्न र पढ़्न सक्नेलाई सठीक आर्थिक सहयोगको व्यवस्था गरिएको पाइदैन। फलस्वरूप राम्रो पढ़्न सक्ने नानीहरू पनि हतोत्साहित भएर असमञ्जसताको भुवरीमा रूमल्लिरहन्छन् ।

गुणस्तर शिक्षाको कमीले प्रत्येक स्कूलबाट राम्रो गणतव्यतिर पुग्ने एकदमै कम्ती निक्लिन्छन् त्यो पनि भाग्यको भरोसामा र उब्रिएकाहरू अधकल्चो भएर एता-उता भौतारिरहन्छन्। यी अधकल्चो शिक्षा आर्जन गर्नेहरूकोमा विकल्प नै हुँदैन। आफ्नो गुजरा गर्नुको निम्ति आफ्नो इच्छा विपिरत पनि कार्य गर्न वाध्य हुनुपर्दछ। यसरी काम गर्नुपर्दा स्वभिमानमा ठूलो ठेस पर्दछ। आफ्नो स्व: को हत्या नै भइसकेको हुन्छ र यसरी पछि केही गरेर उन्नति नै गरे भने पनि त्यसरी कमाएको पैसा होस वा ऐश्वर्य कुनैले पनि समाजमा प्रगतिको काम गर्दैन।

यसरी पहिले पहिले हाम्रा जातिमा पढ़ाई-लेखाई गर्नेको संख्या धेरै नै कम्ती थिए र अन्य ठाउँमा काम गर्नेहरूमा जो पढ़े-लेखेका थिएनन् तिनीहरू चौकीदारीको कामहरू पनि गर्ने गरेकोले हाम्रो जातिलाई एउटा ट्याग नै दिइएको पनि हो। यो ट्याग हटाउनकै लागि विभिन्न स्तरबाट धेरै अभियानहरू चलेर अलि-अलि साम्य भइरहेकै बेला अब नयाँ ट्याग आउन थालेकोछ फेरि। पाहाड़का अधिकांश पढ़ाइ छोड़ेर पलायन भएकाहरू प्राय: काल सेन्टर, शापिंग माल, ब्युटी पार्लर, रेष्टुरा वा कुनै फ्याक्ट्रीहरूमा कार्यरत छन्। हुनलाई त पसीना बगाएर गरेको काम कुनै पनि सानो नभएता पनि यी काम गर्नेहरूलाई अहिले “मै आइ हेल्प यू ? (May I Help You?)”को ट्याग दिनेगर्छन् भारतीय मूलधाराका नागरिकहरू। यसरी एउटा स्कूलमा पढ़ाइ नहुँदात्यसकोफल कताबाट प्रकाशमा आउछन् सो सन्दर्भ निकाल्नु अति विचारयोग्यछ।

पाहाड़मा जब यी बोर्डको परीक्षा सकिनसाथ धनीका आमा-बाबा कलेज खोज्न थाल्छन् दिल्ली-कोलकतातिर भने यी आर्थिक स्थिति कमजोर भएकाहरू रिजल्ट नै नआइ काम खोज्न थाल्छन् दिल्ली-कोलकता तिर नै। कारण पाहाड़मा भनौ भने १२ सकेर पढ़्न सक्ने कलेज नै छैन। दार्जीलिंग सरकारी कलेजले कति भर्ती लिन सक्ला? खर्सांग एउटा महकुमा भएर पनि एउटा व्यस्थित कलेज छैन। जुन विषय मन पर्छ त्यो पढ़्न पाइदैन। भाग्यको कमारो भएर बाँच्नुको अब अरू विकल्प के? राम्रो पढ़्न सक्नेहरूले पढ़ाइलाई निरन्तरता दिन नै सक्दैनन्। र जसले विकट दु:ख सहेर सफलता प्राप्त गर्नेहरूमा पनि पाहाड़े समाज प्रति त्यस्तो माया वा लगाव देखिन्दैन। पाहाड़बाट दक्षता प्राप्त मानिसहरूले पलायन गर्नुमा पनि हाम्रो सामाजिक संरचनामा खोट भएको अनुभूति हुन्छ। हुन त हामी सपैलाई हाम्रो समस्या थाहा छ तर पनि अनदेखा गर्छौ। कुनै जगामा खोट भए, त्यसलाई ढाकछोप गरेर केही नभएको झैं गर्छौ अझ रंग पोतेर सुन्दर देखाइदिन्छौ। समस्या बढ़ेर गाको गाको हुन्छ। र हामी दोष कसै एकलाई दिएर पन्छिदिन्छौ। यसरी समस्याको समाधान गर्नुबाट सधैँ भाग्ने मानसिकताले आज समाजको शिर झुकिराको छ। हाम्रो समाजको सबै समस्याको समाधान भनेको छुट्टै राज्य मात्र होइन अतह हामीलाई जुन काम सुम्पिएको हुन्छ त्यो जिम्मेवारीपूर्ण पुरा गर्नु हो। प्रत्येक तहबाट नै इमान्दारीपूर्वक काम गरिन थाले समाज समृद्धिको बाट तिर अवश्य नै अग्रसर हुनेछ। र सबैभन्दा पहिले पाहाड़मा शिक्षण प्रणालीमा सुधार आउनुपर्छ। यहाँ नानीहरूले आफ्नो ठाउँमा नै कलेज-युनिभर्सिटी पढ़्नु पाउनु पर्छ। उच्च शिक्षा एकथरी धनीको लागि मात्र नहोस् कारण हाम्रो जाति भनेको केही पैसावालाहरूको मात्र कामरो होइन। समस्या धेरै छन् तर सानो सानो बाट समाधान सुरू गर्नु पर्छ अनि कोसैलाई दोषाउने समय बर्बाद गर्नु भन्दा सुधार कार्यमा जुटेको सार्थक हुनेछ। र शुरू मबाट गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया