केन्द्रले गोर्खाहरूलाई केवल भोट हाल्ने मसिन मात्र बनाएको छ-युवा मोर्चा

कालेबुङ, 6 अगस्त: जम्मु कश्मीरको मुद्दालाई लिएर यहाँका राजनैतिक दलहरूले गोर्खाल्याण्डको प्रसङ्ग उठाउन शुरू गरेको छ। जम्मु कश्मिरलाई विभाजन गरेर दुईवटा केन्द्र शासित प्रदेश बनाएपछि गोजमुमो विमलगुरुङपक्ष, गोरामुमो आदिले समर्थन जनाएर गोर्खाहरूको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने माग गरिरहेको छ भने अर्कोतिर विनय तामाङपक्ष गोजमुमोले केन्द्र सरकारले केवल गोर्खाहरूको मुद्दालाई सम्बोधन गर्नमा मात्र इच्छाशक्ति नदेखाएको आरोप लगाइरहेको छ।

‘कश्मीरमा धारा 370 र 35 ए लाई खारेज गरेर केन्द्र सरकारको इच्छाशक्तिले दुईवटा केन्द्र शासित प्रदेश बनाउनसक्यो तर दार्जीलिङको मुद्दालाई कहिले सम्बोधन गरेन’-केन्द्रिय युवा प्रवक्ता अनीत खातीले भने, ‘केन्द्र सरकारले गोर्खाहरूलाई केवल भोट हाल्ने मसिन मात्र बनाएको छ।

युवा मोर्चाको साङ्गठनिक बैठकमा पनि यसै विषयमा नै चर्चा भइरहेको खातीले बताए। विशेष गरी आज गोर्खा जनमुक्ति युवा मोर्चाको सभा पार्टी कार्यालयमा सम्पन्न भएको थियो। केन्द्रिय युवा नेतृत्वहरूको उपस्थितिमा सम्पन्न सभामा साङ्गठनिक सुदृढीकरण एवं वर्तमान राष्ट्रिय एवं क्षेत्रीय राजनैतिक परिस्थितिमाथि चर्चा भएको थियो।

यसै क्रममा युवा मोर्चाका नवनियुक्त जिल्ला कार्यकारी अध्यक्ष बारूथ थापालाई पनि पार्टीमा स्वागत जनाइएको थियो। यसअवधि पत्रकारहरूलाई सम्बोधन गर्दै थापाले आफूहरू आज पनि अलग राज्य गोर्खाल्याण्डकै पक्षमा रहेको दावी गरे। उनले अहिलेसम्म केवल बङ्गाललाई मात्र दोष्याउने काम भइरहेको भन्दै गोर्खाल्याण्डको वास्तविक दुश्मन बङ्गाल नरहेर केन्द्र सरकार रहेको आरोप लगाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया