रोङ्गोबाट फूटबल खेलेर फर्किरहेको तुलसीपाडाको गाडी दुर्घटनाग्रस्त: 13 जना घाइते: 4 को अवस्था गम्भिर

कालेबुङ, 7 अगस्त: जीटीएको 45 नम्बर समष्टिभित्र पर्ने रोङ्गो जनता मैदानमा फूटबल खेलेर फर्किरहेको डुवर्सको तुलसीपाडाको गाडी 45 ब्लकमा दुर्घटनाग्रस्त भएको छ। 13 जना सवार रहेको डब्ल्यूबी 74पी 9173 नम्बर भएको सवारी गाडी 45 ब्लकमा दुर्घटनाग्रस्त हुँदा सबै 13 जना घाइते बनेका छन् भने 4 जनाको अवस्था गम्भीर रहेको छ। जसमध्ये सञ्जु कुजुर(18), बिपुल नायक(19), गणेश एक्का(25) अनि राज थापा(17) सिकिस्त छन्। उनीहरूको उपचार अहिले मालबजार अस्पतालमा भइरहेको छ।

घटना अनुसार रोङ्गो जनता मैदानमा रोङ्गो स्पोर्टिङ क्लबद्वारा सम्पन्न भइरहेको स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्ट आज सामसिङ युनाइटेड अनि तुलसीपाडा वारियर माझ सम्पन्न भएको थियो। यसै टुर्नामेन्ट खेलेर साँझमा फर्किरहेको समय 45 ब्लकमा आइपुग्दा गाडी दुर्घटनाग्रस्त बनेको हो। प्रत्यक्षदर्शीहरू अनुसार सडकको दुरावस्थाको कारण गाडीको पछिल्लो टायर हिलोमा फसेँपछि गाडी बगेर अनियन्त्रित हुँदा सडकदेखि लगभग 60 फिट तल झरेर दुर्घटनाग्रस्त भएको हो।

रोङ्गोको सडक केही समयदेखि बेहाल अवस्थामा छ भने स्थानीयहरूले सडक मरमत्तिको माग गर्दै आएका छन्। सडकको दुरावस्थापछि जीटीए अध्यक्ष अनीत थापा एवं जीटीए सचिवले पनि उक्त सडकको निरिक्षण गरेपनि कुनै पहल नभएको स्थानीयहरूको आरोप छ। स्थानीयहरूले आजसम्म आफै मरमत्ति गर्दै मुस्किलैले गाडी चलाउँदै आएपनि जीटीए अथवा सिन्कोना विभागले कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ। स्थानीयहरूले सडकको सोचनीय अवस्था नै दुर्घटनाको मूल कारण रहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया