गोरुबथानको साझा साहित्य संरक्षण संस्थाले डा. डिक देवानलाई ‘स्व. आर. बी. राई स्मृति पुरस्कार’ प्रदान गर्ने

कालेबुङ, 10 अगस्त: शिक्षाविद् डा. डिकबहादुर देवानलाई गोरुबथानको साझा साहित्य संरक्षण संस्थाले पहिलो ‘स्व. आर. बी. राई स्मृति पुरस्कार’-ले अलंकृत गर्ने घोषणा गरेको छ । साझा साहित्य संरक्षण संस्था, गोरुबथानको बाह्रौँ स्थापना दिवस कार्यक्रमपछि उक्त कुराको घोषणा संस्थाका अध्यक्ष तरुण थुलुङले गरेका हुन् । उनले बताएअनुसार युद्धवीर हाई स्कूलका भूतपूर्व प्रधान अध्यपक तथा समाजसेवी स्व. आर. बी. राईको स्मृतिमा यसवर्षदेखि प्रदान गरिने उक्त पुरस्कारको प्रायोजना उनका छोरा-बुहारीहरूले गर्नेछन् भने पुरस्कृत व्यक्तिको चयन अनि पुरस्कार अलंकरणको व्यवस्थापन साझा साहित्य संरक्षण संस्थाले गर्नेछ । पेशागत जीवनको सिङ्गो भाग यहाँको युद्धवीर हाई स्कूलका प्रधानाध्यापकका रूपमा कार्यरत रहेर सेवानिवृत हुने आर. बी. राईको देहान्त गत: वर्ष मात्र भएको थियो । स्व. राई एकजना प्रधानाध्यपकसँगै गोरुबथानमा उच्च शिक्षाको प्रारम्भिक ज्योति बाल्ने व्यक्तित्वका रूपमा परिचित थिए । यसैले उनको नाममा प्रायोजित प्रथम पुरस्कार पनि शिक्षाकै क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइने निर्णय गरिएको कारण उक्त पुरस्कारको सही हकदार पेदोङ निवासी शिक्षाविद् डा. डिकबहादुर देवानलाई चयन गरिएको हो । साझा साहित्य संरक्षण संस्थाद्वारा आगामी २० अगस्तका दिन गोरुबथानमा सम्पन्न हुने ‘२८ औँ भाषा दिवस समारोह’-मा उनलाई उक्त प्रथम ‘स्व.आर. बी. राई स्मृति पुरस्कार’-ले विभूषित गरिनेछ । पुरस्कारमा नगदराशि, अङ्गवस्त्र, अभिनन्दनपत्र र स्मृतिचिन्ह रहनेछन् । उक्त समारोहका प्रमुख अतिथिका रूपमा साहित्य अकादमी, दिल्ली, नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नामदुङ उपस्थित रहनेछन् ।

डा. डिकबहादुर देवानले शिक्षण, विद्यालय संचालन, पाठ्यपुस्तक लेखनसँगसँगै सिङ्गै दार्जिलिङे शिक्षाको इतिवृत अंग्रेजी र नेपाली भाषामा लेखेर शिक्षासँगसँगै सिङ्गै नेपाली वाङमयको क्षेत्रमा अभूतपूर्व योगदान पुर्‍याएका छन् । डा. देवानलाई  दार्जिलिङ शिक्षा जगतका मूल अध्येता, आन्वेषक  र इतिहास लेखकका रुपमा चिनिन्छ । उनले “दार्जिलिङ पार्वात्य अंचलमा शिक्षाको सुरुवात अनि विकासक्रम : एक ऐतिहासिक सर्वेक्षण” नामक एक वृहतग्रन्थ सन् २००९ मा नै प्रकाशित गरेका छन् भने यसैको अंग्रेजी भाग “एडुकेसन इन् दार्जिलिङ हिल्स : एन हिस्टोरिकल सर्वे” पनि यसै साल प्रकाशित भइसकेको छ । यति मात्र होइन उनले “एडुकेसन इन् सिक्किम, एन हिस्टोरिकल रेस्ट्रोस्पेक्ट” अनि “एडुकेसन इन् दार्जिलिङ हिल्स ड्युरिङ द पिरियड अफ् गोर्खाल्याण्ड एजिटेसन” नामक पुस्तकहरू पनि अंग्रेजी भाषामा प्रकाशित गरिसकेका छन् । ११ अक्टोबर १९४७ का दिन कालेबुङको पेदोङमा जन्मिएका डा. देवान यहाँको सन्त जर्ज हाई स्कूलका भूतपूर्व अंग्रेजी शिक्षक र उपप्रधानाध्यापक पनि हुन् । अवकाशोप्रान्त उनले सिक्किम हर्कमाया बीएड कलेजका शिक्षक-प्रशिक्षकको रूपमा अनि इन्दिरा गान्धी ओपन युनिभर्सिटीका परिक्षकका रूपमा पनि सेवा पुऱ्याएका छन् । शान्तिनिकेतनबाट पीएचडी गरेका उनले राजनीति शास्त्रमा एमए गरेका थिए भने नेहु, शिलङबाट एमएड पनि गरेका थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया