बगर बन्दैछ सिड्फार्म-देवरालीको सडक

कालेबुङ, 10 अगस्त: जब गाउँले अलकत्रे सडकको सपना देख्यो, दशकौँपछि सन् 2010-11 तिर बल्ल-बल्ल सडक खनिन थालियो। सडक त खनियो तर ब्ल्याक टप अर्थात सडकमा कालो अलत्र भने समयमा लागेन। गाउँलेहरूले धेरै आवाज उठाएपछि बल्ल फेरी सन् 2014-15 तिर अलकत्र लगाइयो। यसरी ढिलै भए पनि 3-4 दशक अघिदेखि गाउँलेहरूले देखेको अलकत्रे सडकको सपना पूरा भएपछि क्षेत्रवासीको हर्षले आकाश चुम्यो। जसरी गाउँमा अलकत्रे सडक बनिएपछि रहर गर्ने, कर पर्नेहरूले गाडी-घोडा जोड्छन्, उसै गरि गाउँमा धेरैले गाडी-घोडा पनि जोडे। तर दुर्भाग्यवश दशकौँदेखि देखेको अनि बल्ल-बल्ल पूरा भएको अलकत्रे सडकको सपना एकै सालको बर्खाले भत्काइदियो। सन् 2015 -कै बर्खाले सडकको अवस्था एकदमै जीर्ण बनायो भने प्रत्येक वर्षको बर्खे झरी र भलले हाल यस सडकको अवस्था कुनै खोलाको बगरभन्दा कमको छैन। यसरी अलकत्रे सडक नै खोलाको बगर झैँ बनेपछि हाल यातायात नै ठप्प हुने अवस्थामा यो सडक पुगेको छ।  कुरा यहाँको सिड्फार्मदेखि बोङबस्ती गुम्बा गाउँ, तामाङ गाउँ, गैरी गाउँ, टारी गाउँ हुँदै देवराली लेप्चा गाउँसम्म पुग्ने सडकको हो। प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत 1 करोड 25 लाख 71 हजार 4 सय रूपियाँको लागतमा निर्माण गरिएको 4.90 किलोमिटरको यस सडक निर्माण भएपछि एक वर्ष पनि राम्रो टिकेन।

‘सडक निर्माण भएपछि लगत्तै अर्को सालको बर्खाले गाउँको सपना चकनाचुर पाऱ्यो,  एक वर्ष नबित्दै सडक जीर्णोद्धार गर्न पर्ने अवस्थाको बन्यो’-स्थानीयहरूले भने, ‘कत्रो सपना देखेर, कत्ति कुदेपछि गाउँमा बल्ल-बल्ल बनिएको सडकको भरपुर सुविधा लिन नपाइ सडकको अवस्था बेहाल भयो।’

आज पनि त्यो सडकको अवस्था बेहाल नै छ। सडक खोलाको बगर सरह बनेको छ। प्राय: कृषकहरू बसोबासो गर्ने देवरालीस्थित लेप्चा गाउँ, टारी गाउँ, गैरी गाउँ, अधिकारी गाउँ, तामाङ गाउँ अनि गुम्बा गाउँका मानिसहरूको जीवन रेखा मानिन्छ यो सडक। गाडी कुदाएरै परिवार पालन पोषन गर्ने धेरै चालकवर्ग यही सडकको भरमा छन्। तर सडकको अवस्था एकदमै जीर्ण बनेपछि व्यवसायिक कृषकवर्ग, चालकवर्गमात्र यो सडकले पिडित छैनन् तर गाउँमा कोही विरामी भए अस्पताल लान-ल्याउन गाउँ नै असुविधामा परिरहेको स्थानीयहरूको भनाइ छ। अहिले फोर विल्हर गाडी पनि दुख–सुख कुद्ने अवस्थाको रहेको यो सडकमा भने अब साना गाडीहरू कुदाउन सकिन्न। यती मात्र होइन उही बाटो भएर दैनिक स्कुल आउ-जाउ गर्ने स्कुले विद्यार्थीहरू पनि बाटोको अवस्थाको कारण असुविधामा छन्। चटक्क परेर घरबाट स्कुलतर्फ निस्किएको विद्यार्थी लुगा-जुत्ता भरी हिलो लिएर स्कुल पुग्न परिरहेको अवस्था छ। विशेष यस सडकको नाली व्यवस्थापनमा धेरै कमजोरी देखा पर्छ। अव्यवस्थित नाली कै कारण नालीमा बग्ने भल सडकमा बगेपछि बाटोको अवस्था खोलाको बगर भएर जाने नै हो। यतीका दिनसम्म गाउँलेको सहयोगमा चालकवर्गले आफै सक्दो मरमत्ती गर्दै गाडी गुडाइरहेको सडक अब विभागको सहारा बिना मरमत्ती गर्न कठिन नै छ। केही महिना अघि क्षेत्रको भ्रमणमा आएका तत्कालिन जीटीए बीओएका उपाध्यक्ष तथा वर्तमान बीओए अध्यक्ष अनित थापाले पनि उक्त सडक जीर्णोद्धार गरिदिने आश्वासन दिएका थिए। तर हाल बर्खा लागिसक्दा पनि उक्त सडक जिर्णोद्धार कार्य हुने कुनै छाँट् देखिन्दैन। क्षेत्रको जीवन रेखा मानिने यस सडकको अवस्था देख्दा यसको जिर्णेद्धार कार्य झट्ट शुरू नगरिए गाउँको अर्थव्यवस्थामा असर पर्ने देखिन्छ। सडकसित जडित विभिन्न समस्याहरूबाट गाउँलेहरूले निकास पाउन विभागले यस सडकलाई पहिलो प्राथमिकता दिन पर्ने स्पष्ट भएको छ। यस सडक जिर्णोद्धारलाई लिएर जीटीए अधिनस्थ विभागले अगावै सर्वे गरिएको बताइए तापनि त्यसको कार्यान्वयन भने देखा परेको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया