डाब्लिङमा कफेर अनि बियोङ पुग्यो फाइनल: आयोजक समितिद्वारा रुदेन लेप्चालाई सम्मान

कालेबुङ, 13 अगस्त: डाब्लिङ खेल मैदानमा सम्पन्न भइहेको स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्टमा बिन्दास कफेर अनि बियोङ फाइनल पुगेको छ। डाब्लिङमा गत 1 जुलाईदेखि नै स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्ट भव्य रूपमा सम्पन्न भइरहेको थियो। डाब्लिङ वरिपरि क्षेत्र सँगसगै कालेबुङ, नेपाल आदि विभिन्न क्षेत्रका मोठ 42 वटा दलहरूले सहभागिता जनाएको टुर्नामेन्टको आज दुईवटा सेमिफाइनल खेल सम्पन्न भयो।

साधु सुन्दर सिंह स्कूलका विद्यार्थीहरूद्वारा व्याण्ड डिस्प्ले एवं सांस्कृतिक कार्यक्रमसितै आरम्भ भएको पहिलो सेमिफाइनल खेल बिन्दास कफेर अनि हेमन्त-7 डाब्लिङमाझ सम्पन्न भएको थियो। जसमा बिन्दास कफेरले 1 को विरूद्ध 3 गोल गरेर फाइनलमा प्रवेश गरेको छ। यसरी नै दोस्रो खेलमा पाकाङलाई 2 को विरूद्ध 4 गोलले हराएर बियोङ फाइनल पुगेको छ। आगामी 15 अगस्तका दिन कफेर अनि बियोङमाझ फाइनल खेल सम्पन्न हुनेछ। यसरी नै आज शिक्षक अनि पास्टरहरूमाझ मैत्री खेल पनि सम्पन्न भएको थियो।

यसै कार्यक्रममाझ आयोजक समितिद्वारा एकजना फिल्मकर्मीका रूपमा रुदेन लेप्चा सादालाई सम्मान जनाइयो। कालेबुङबाट आप्पा चलचित्र निर्माण गरेर नेपाली फिल्म क्षेत्रमा पुऱ्याएको योगदान अनि कमाएको ख्यातीको सराहना गर्दै लेप्चालाई सम्मान जनाइएको आयोजक समितिका पक्षमा सचिव तिलक पोख्रेलले बताएका छन्।

उनले फूटबब टुर्नामेन्टमा विजय दललाई 40 हजार, उपविजय दललाई 30 हजार अनि तेस्रो र चौथौ स्थान ओगट्ने दललाई 20 हजार अनि 10 हजार रुपियाँ नगद राशी अनि ट्रफी प्रदान गरिने बताए।

रुदेन सादा लेप्चा मुख्य अतिथि रहेको आजको खेलमा साधु सुन्दर सिंह स्कूलका प्राचार्य शैलेन्द्र राई, गीतडाब्लिङ क्षेत्रका वर्ल्ड भिजनका संयोजक अल्बर्ट लेप्चा आदि अतिथिहरूका रूपमा उपस्थित थिए भने कमिटीका मुख्य संयोजक अशोक लेप्चा, सचिव तिलक पोख्रेल, कोषाध्यक्ष किन्चुङ लेप्चा आदिको विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया