मणि ट्रस्टको सहयोगमा खरसाङका क्यानसर पीडितलाई 1 लाख 35 हजार रुपियाँको सहयोग

खरसाङ, 13 अगस्त: कालेबुको सामाजिक संस्था मणि ट्रस्टद्वारा आज खरसाङका क्यान्सर पीडित महिला दीप लामा तामाङलाई 1 लाख 35 हजार 337 रुपियाँको चेक प्रदान गरियो। ट्रस्टका खरसाङ शाखाद्वारा 22 जुलाईदेखि 2 अगस्तसम्म खरसाङ रेलवे स्टेसन एवं बाटा निजिक आर्थिक सहयोगको निम्ति शिविर राखिएको थियो।
उक्त शिविरबाट सङ्कलन भएको कूल राशी आज पीडित परिवारका पक्षमा लैला थापालाई खरसाङस्थित ट्रस्टको आर्ट्स एण्ड हेण्डिक्राफ्ट सेन्टरमा प्रदान गरियो। यस अवसरमा ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, सचिव उत्पल रोय, म्यानेजिङ ट्रस्टी बिना लोहागुन, खरसाङका ट्रस्टी छुन्ना सुब्बा , दार्जीलिङका ट्रस्टी रञ्जना प्रदान, ट्रस्टका सहायक स्वास्थ अधिकारी प्रणिता सुब्बा आदि उपस्थित थिए।
यस अवसरमा पीडितलाई सहयोगको निम्ति ट्रस्टबाट अपील गर्ने गोदाम धुरा स्थित ग्राम सुधार समितिका सचिव नितिन राई एवं शिविर अवधि सहयोग गर्ने धेरैवटा समाजका प्रतिनिधिहरू उपस्थित थिए। यस क्रममा ट्रस्टले पीडितलाई प्रदान गरिएको राशीको सम्पर्ण विवरण परिवारपक्ष, खरसाङ नगरपालिका एवं पत्रकार सङ्गठनहरूलाई प्रदान गरियो।
ट्रस्टले सपोर्ट फर लाइफ अन्तर्गत स्थापनाकालेदखि नै आर्थिक समस्यासित जुझ्दै आएका विरामीहरूका निम्ति सहयोग गर्दै आएको बताउँदै ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। कार्यक्रममा ट्रस्टद्वारा विभिन्न समाजका प्रतिनिधि एवं स्वयंसेवीहरूलाई स्मृति चिह्न अनि प्रमाण-पत्र वितरण गरियो।
यस अवसरमा सिंहले अझ भने अनुसार कुनै पनि समाजले आग्रह गरेको खण्डमा ट्रस्टले आर्थिक सहयोग उठाउने पहल गर्दै आएको छ। यसैले जुन समाजहरूका निम्ति ट्रस्टले शिविर आयोजना गर्छ आगामी दिनमा ती समाजहरूले पनि अन्य समाजका निम्ति सहयोग गरिदिने  आह्वान गरेका छन्। एउटा समाजले गरेको काममा अन्य समाजहरूले पनि सहयोग गर्दा विभिन्न समाजहरूमाझ अझ सद्भाव बढेर जाने सिंहले बुझाइ छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया