पैहोले राष्ट्रिय राजमार्ग-10 मा यातायात ठप्प: सैयौँ यात्री अलपत्र

कालेबुङ, 14 अगस्त: राष्ट्रिय राजमार्ग-10 मा पैह्रो झरेको कारण यातायात पूर्ण रूपमा ठप्प बनेको छ। 29 माईलमा आज दिउँसो लगभग 2.30 बजीतिर पैह्रो झरेपछि यातायात ठप्प बनेको हो। अविरल वर्षाको कारण मङ्गलबार राती नै पैह्रो झरेकोले यातायात ठप्प बनेको थियो। यद्यपि विभागीय प्रयासमा पैह्रो सोहोरेर आज बिहानदेखि यातायात सुचारू गराइएको थियो। तर फेरि अचानक पैह्रो झरेपछि यात्रीहरू दुईतर्फ अलपत्र परेका छन्। सैयौँ बाहनहरू राजमार्गमा फँसेका छन्।

अर्कोतिर उक्त पैह्रोको छेवैमा फेरि सडक चुँडिएको छ। अचानक सडक चुडिँदा प्यारापेडमा बसेकी एक महिला चुडिएको बाटोसितै डिलमा झरेको कारण घाइते बनेकी छन्। जसलाई तुरन्तै एनडीआरएफ टोली अनि अन्य मानिसहरूले उद्दार गरेर अस्पताल लगेको छ।

राजमार्गमा पैह्रोको कारण सिक्किम अनि कालेबुङदेखि सिलगढी जाने अनि सिलगढीबाट फर्कने कैयौँ यात्रीहरूले सास्ती भोगिरहेका छन्। धेरै यात्रीहरूले रेल अनि हवाइ यात्राको निम्ति पनि निर्धारित समयमा पुग्न नपाएका गुनासोहरू अघि पनि अघि आएको छ।

पैह्रोको कारण दिनभरि नै मालबाहक गाडीहरू सडकमा थुनिएका छन् भने साना गाडीहरूले पेशोक, मङ्वा भएर वैकल्पिक यात्रा गर्नपरेको अवस्था छ।

पीडब्ल्यूडी एनएच 10 विभागका सह-अभियन्ता उत्तम प्रधान अनुसार विभागले भरसक पैह्रो खुलाउने प्रयास गरिरहेको छ। तर लगातार ठूलो पैह्रो झरेको कारण आज सडक खुलाउन सकिएन। यद्यपि भोली मौसम अनुकूल रहे 3 देखि 4 घण्टाभित्र सडक सुचारू गराउनसकिने प्रधानले आश्वस्त गराएका छन्।

केही दिन अघि सेतिझोडाको पैह्रोले यातायातमा धेरै समस्या उत्पन्न गरेको थियो भने अहिले आएर उन्तीस माइलको पैह्रो ठूलो समस्या बनेको छ।

विभागीय पक्षबाट उत्तम प्रधानले भने अनुसार केही दिनअघि कलकत्ताबाट आएको एउटा टोलीले हाइवेको निरिक्षण गरिसकेको छ।  मख्य गरी राजमार्ग-10 को सेतीझोडा अनि 29 माइलको उक्त पैह्रो अनि झोडा साथै अन्य ठाउँहरूको निरिक्षण गरिएको साथै  यसको स्थायी समाधानको निम्ति ठोस् परियोजना तयार पारिने प्रधानले जानकारी दिएका।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया