साई सुन्दरम स्कूलमा स्वतन्त्रता दिवससितै कविता आवृत्ति र तर्क प्रतियोगिता

खरसाङ, 15 अगस्त: दिलरामको साई सुन्दरम उच्चत्तर माध्यमिक विद्यालयमा 73 औं स्वतन्त्रता दिवस समारोह साथै कविता आवृत्ति र  तर्क प्रतियोगिता आयोजना गरियो। स्कूलकी चेयरम्यान विष्णु ठकुरीको अध्यक्षता र सामाजिक कार्यकर्ता डीके राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण शिक्षक नगेन छेत्रीले राखेका थिए भने सञ्चालन स्कूलको प्राचार्य निरपेन दिप छेत्रीले गरेका थिए। कार्यक्रममा विशेष अतिथिको रूपमा साई सुन्दरम स्कूलका संस्थापिका भीमकुमारी छेत्री,  कविता वाचन प्रतियोगितामा निर्णायकको रुपमा सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालयकी शिक्षिका सुधा राई,  कवि-पत्रकार हनोक थापा,  कवि नितेस राई उपस्थित थिए।

समारोहमा योग प्रशिक्षक मणिकुमार ठकुरीको अगुवाईमा विद्यार्थीहरूलाई लिएर योग प्रदर्शन गरियो।  समारोहमा विद्यार्थी साहित राईले देशभक्ति गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सिनियर शिक्षिका सरोजा छेत्रीले स्वतन्त्रता दिवस विषयमा वक्तव्य राखेका थिए।  कार्यक्रमको मुख्य आकर्षणको रूपमा तर्क प्रतियोगिता र कविता आवृत्ति प्रतियोगिता रहेको थियो । यस अन्तर्गत “इण्डिया सुपर पावरको रूपमा अघि बढ़िरहेछ” विषयमा तर्क प्रतियोगिता आयोजना गरियो जसमा विद्यार्थीहरूले पक्ष र विपक्षमा रहेर वक्तव्य राखेका थिए। यसमा निर्णायकको रूपमा शिक्षकहरू मनिष प्रधान, कृष्णमणि प्रधान र शिक्षिका उपस्थित थिए भने यस प्रतियोगितालाई कुन्दन राज राईले सञ्चालन गरेका थिए । यस प्रतियोगितामा विपक्षमा रहेर वक्तव्य राख्ने विद्यार्थीहरू विजय बनेका छन् । त्यसरी नै कविता आवृत्ति प्रतियोगितामा निर्णायकको रूपमा सन्त जेभियर्स स्कूलकी शिक्षिका सुधा राई,  कवि -पत्रकार हनोक थापा,  कवि नितेस राई उपस्थित थिए।

यस प्रतियोगितामा आठौँ श्रेणीसम्मका विद्यार्थीहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि डीके राईले सम्बोधन गर्दै पढ़नु मात्र होइन तर अनुशासनमा रहेर विस्तारै अघि बढ़नुपर्छ, सिक्नु भनेको लगातारको प्रयासले हो भन्दै नानीहरू देशको भविष्य हो भनी बताए। उनले यस्तो राम्रो कार्यक्रम आयोजना गरेकोमा स्कूल पक्षलाई बधाई पनि दिए। आजको प्रतियोगितामा विद्यार्थी नानीहरूले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताउँदै विद्यार्थीहरूलाई राष्ट्रीय झण्डाको महत्त्व र अन्य विषयमा जानकारी गराएका थिए। कार्यक्रममा कविता प्रतियोगिताका निर्णायकहरू शिक्षिका सुधा राई,  हनोक थापा र नितेस राईले वक्तव्य राखेका थिए भने कविद्वय हनोक थापा र नितेस राईले कविता पनि पठन गरेका थिए । कविता प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई विष्णु ठकुरीको पहलमा अतिथिहरूको बाहुलीबाट पुरस्कारहरू वितरण गरियो । कार्यक्रममा धन्यवाद ज्ञापन तेजेन लेप्चाले राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया