साहित्यकार लक्खीदेवी सुन्दासको निधनमा चिया कविताद्वारा शोक प्रकट

गान्तोक, 16 अगस्त। भारतीय  नेपाली भाषा–साहित्यमा उल्लेख्य योगदान गरेकी साहित्यकार तथा समालोचक डा. लक्खीदेवी सुन्दासको निधनमा चिया कविता समूह सिक्किमले एउटा प्रेस विज्ञप्ति जारी गरेर शोक व्यक्त गरेको छ। चिया कविताका संयोजक प्रवीण खालिङले जारी गरेको प्रेस बयानमा  ८५ वर्षीया सुन्दासको सिलिगुडीस्थित एक नर्सिङ होममा बिहीबार दिउँसो निधन भएकोले भारतीय नेपाली साहित्यमा उनी जस्ता सर्जकको अपूरणीय क्षति भएको बताएका छन्। संयोजक खालिङले साहित्यकार सुन्दासको चिर शान्तिको कामना गर्दै सम्पूर्ण चिया कविता समूहको तर्फबाट शोकाकूल सुन्दास परिवार र उनका आफन्त जनमा सम्वेदना प्रकट गर्दै यो बज्रघातले परिवारसमेत सम्पूर्ण नेपाली साहित्य समाज आहत भएको अवस्था हो भनि उल्लेख गरेका छन्।  कोलकातामा जन्मेर भारत र नेपालमा पढेकी भएकी साहित्यकार सुन्दास पूर्वीय र पाश्चात्य समालोचनाकी अध्येता मानिन्छिन्।  डा. सुन्दास भारतको दार्जिलिङमा रहेर नेपाली भाषासाहित्यमा कलम चलाउँदै आएकी थिइन् । पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बनेपछि उनी पाँच वर्षदेखि सिलिगुडी बस्दै आएकी थिइन् ।  सन् १९३४ मार्च २७ मा भारतको कोलकातामा जन्मिएकी सुन्दासले नेपाली साहित्यमा एमए तथा दर्शनशास्त्र र कानुनमा स्थातक गरेकी थिइन् । विशेषगरी समालोचना विधामा कलम चलाएकी सुन्दासका ‘सम्भावित अर्थ समर्पित एकान्त’ र ‘आहत अनुभूति’ ‘खै रिपोर्ट आएन’ र ‘तेस्रो घर’ उनका कृति हुन् ।  डा. सुन्दासले सन् २००१ मा भारतीय राष्ट्रिय अकादमी पुरस्कार पाएकी थिइन् । त्यसैगरी, सन् १९७२ मा रत्नश्री स्वर्णपदक र लोकप्रियादेवी पुरस्कार पाएकी सुन्दासले पश्चिम बंगाल सरकारले प्रदान गर्ने माइकल मधुसूदन अवार्ड प्राप्त गर्ने पहिलो नेपालीभाषी महिला हुन् ।  डा. सुन्दास दार्जिलिङको सरकारी कलेजको पहिलो प्रिन्सिपलसमेत हुन् । उनी भारतीय नेपाली नारी साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत हुन् । महिलाहरु कमै शिक्षित हुने गरेको समयमा दर्शनशास्त्र र नेपालीमा स्नातकोत्तर र त्यसपछि विद्यावारिधि समेत गरेकी सुन्दासले लामो समयसम्म दार्जिलिङस्थित कलेजमा प्राध्यापन गरेकी थिइन्।

साहित्यिक पत्रिका तथा संगठनहरुमा सकृय रहेर नेपाली भाषी साहित्यकारहरुबीच सेतु बनाउनमा योगदान दिएकी सुन्दासले कथा, कविता, नियात्रा, निबन्ध लगायत विभिन्न विधामा कलम चलाएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया