कालेबुङमा स्वतन्त्रताको रौनक(फोटो फिचरसितै)

कालेबुङ, 16 अगस्त: कालेबुङमा सबैभन्दा ठूलो अनुष्ठानमध्येका एक स्वतन्त्रता दिवस समारोह यसवर्ष पनि धुमधामसित पालन गरियो। महिनौ दिन अघिदेखिको तयारी अनि प्रतिक्षामाझ यहाँको मेलाग्राउण्डमा भव्य रङ्गारङ्ग कार्यक्रममाझ दुई दिनव्यापी रूपमा 73 औँ स्वतन्त्रता दिवस समारोह पालन गरिएको थियो।

प्रत्येक वर्षसरह यसवर्ष पनि समारोहका मुख्य आकर्षणका रूपामा कालेबुङ वरिपरिका 24 वटा स्कूलहरूले आ-आफ्नै अन्दाजमा मार्चपास प्रस्तुत गरे। यसवर्ष समारोहका प्रमुख अतिथिका रूपमा उपस्थित नगरपालिका अध्यक्ष रवि प्रधानले विद्यार्थीहरूको सलामी ग्रहण गरेका थिए।

कलेजका एनसीसीद्वारा पहिला सलामी दिएपछि विभिन्न स्कूलका स्काउट एण्ड गाइडले सलामी दिएका थिए भने त्यसपछि 24 वटा स्कूलहरूले मार्सपास प्रस्तुत गरेका थिए।

मार्सपासमा एसयूएमआई प्रथम, सन्त फिलोमिना दोस्रो अनि तेस्रो सन्त जोसेफ कन्भेन्ट एवं गर्ल्स हाइ स्कूल भएको थियो।

हजारौँको उपस्थिति रहेको मेलाग्राउण्डमा मुख्य अतिथि रवि प्रधानले सम्बोधन गर्दै कालेबुङमा स्वतन्त्रता दिवसको रौनक दिल्लीपछि दोस्रो रहेको बताए। उनले देशप्रति पहाडबासीको योगदान अनि प्रेम देखेर यहाँको अस्तित्वको समस्या समाधान गर्न केन्द्रले पहल गर्नुपर्ने कुरा राखे। यसका साथै उनले विद्यार्थीहरूलाई पढाइ एवं खेलकुदमा विशेष ध्यान दिन आग्रह गरे। उनले उत्कृष्ट एवं आवश्यक परेका 5 जना विद्यार्थीहरूलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे। उनले आगामी दिनमा यदि अलग राज्य प्राप्त भएको खण्डमा राज्य चलाउने प्रशासनिक अधिकारीहरू जन्माउन आईपीएस, आईएएस, डब्ल्यूबीसीएस आदिको पढाइको निम्ति कोचिङ क्लास शुरू गर्ने घोषणा गरे। अन्तमा उनले सबैको लक्ष्य गोर्खाल्याण्ड हुनुपर्ने अनि यसका निम्ति सँधै सङ्घर्षरत् रहन अपील गरे।

यसै समारोहमाझ आयोजकद्वारा समाजका विभिन्न क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै सप्तश्रि ज्ञानपीठका निर्देशक तपन कुमार प्रधान, रेड क्रस सोसाइटी कालेबुङका पूर्व सचिव ओबी दास एवं हु कियर्सका संस्थापक एरोन योञ्जनलाई ससम्मान जनाइयो।

समारोहको दोस्रो चरणमा फूटबल खेल सम्पन्न भएको थियो। जसमा मिनि डिभजनमा एसयूएमआई अनि सन्त जर्ज पेदोङमाझ सम्पन्न भएको खेलमा एसयूएमआई विजय बनेको थियो। यसरी नै स्वतन्त्रता कपको फाइनल खेल युनाइटेड ब्रथर कालेबुङ अनि खरसाङमाझ सम्पन्न खेलमा युनाइटेड ब्रथर1-0 ले विजय बन्यो। विजय दललाई दुई लाख रुपियाँ अनि ट्रफी र उपविजय दललाई ट्रफीसहित 1 लाख रुपियाँ प्रदान गरियो।

यसरी नै आज दोस्रो दिन विभिन्न स्कूलहरूमाझ व्याण्ड डिस्प्ले प्रतियोगिता सम्पन्न भएको थियो जसमा एसयूएमआई प्रथम, सन्त जोसेफ कन्भेन्ट दोस्रो अनि फिलोमिना तेस्रो बनेको थियो। कालेबुङ जिल्लापाल डा. विश्वनाथ मुख्य अतिथि रहेको आजको समारोहमा विभिन्न स्कूलका विद्यार्थी कलाकारहरूको नृत्यसितै अन्तर स्कूल फूटबल फाइनल टुर्नामेन्ट सम्पन्न भएको थियो। जसमा छात्र अनि छात्रा दुवैवर्गको खेलमा एसयूएमआई विजय बनेको छ। (फोटो-मुकेश शर्मा)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया