जीटीएले केन्द्रिय योजनाहरूमा भ्रष्टचार गरिरहेको आरोप: सांसद विष्टले गराउने जाँच, केन्द्रलाई पैसा रोक्न गर्ने निवेदन

कालेबुङ, 16 अगस्त: पहाडमा आएका केन्द्रिय योजनाहरूमा जीटीएले व्यापक भ्रष्टचार गरिरहेको सासंद राजु विष्टले आरोप लगाएका छन्। संसदीय क्षेत्रको भ्रमण गर्दै आज कालेबुङ आएका दार्जीलिङका सासंद राजु विष्टले जीटीएले केन्द्रिय योजनाहरूमा गरिरहेको भ्रष्टचारविरूद्ध जाँच गराउने मात्र होइन भ्रष्टचार नरोकिए पैसा रोक्न केन्द्रलाई निवेदन पनि गर्ने बताएका छन्।

‘केन्द्र सरकारले थुप्रै योजनाहरू दिएको छ’-कालेबुङको माडवार प्यालेसमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सासंद विष्टले भने, ‘पीएमजीएसवाई, आरआईडीएफ साथै नेसनल हाइवे, एनएचपीसी अनि रेलवे पनि छ। यी सबै योजनाहरूमा जीटीएका मानिसहरूले पैसा खाँदैछन् अनि त्यही पैसाले हामीविरूद्ध चुनाउ पनि लड्दैछन्। यो धाँधली हो, भ्रष्टाचार हो। यसको म जाँच गराउँछु।’

उनले यदि यो भ्रष्टचार चलिरहे केन्द्रबाट जति पैसा आउँछ त्यो रोक्नका निम्ति केन्द्रलाई निवेदन गर्ने चेताउनी पनि दिएका छन्।

‘केन्द्र सरकारले चुनाउ लड्नका निम्ति पैसा दिएको होइन, जनताको भलाइको लागी अनि विकासको लागी पैसा दिएको हो’-विष्टले भने, ‘यदि कसैले यो पैसामाथि करप्सन गर्दैछ भने यो गलत हो अनि यसको जाँच अवश्य हुन्छ।’

चुनाउपछि जनतालाई आभार प्रकट गर्न आएको बताउँदै विष्टले आफ्नो सम्बोधनमा चुनावअघि गरेका सबै प्रतिबद्धताहरू पाँच वर्षभित्र पूर्ण गर्ने बचन दिए।

‘धेरैले स्थायी समाधान कसरी ल्याउँछ हेरूम पनि भन्दैछन्’-विष्टले भने, ‘अपठ्यारो छ, तर असम्भव छैन।’

उनले विनय तामाङ अनि अनीत थापाहरूको नाम उल्लेख नगरी उनीहरू पनि जातिको निम्ति इमान्दार छन् भने जीटीए रद्द गर्न आग्रह दोहोऱ्याए।

‘तपाईँहरू के स्वार्थमा भुलिरहनु भएको छ मलाई थाहा छैन’-विष्टले भने, ‘तपाईँ फूटबल ग्राउण्डमा बसेको अडियन्सजस्तो हेरिराख्नुहोस्, म गोल छिराएरै आउँछु।’

उनले जीटीए भनेको रेलको डब्बा जस्तो मात्र रहेको अनि जीटीएले जनतालाई बाटो, राशिन, रोजगार, विकास इत्यादि केही दिन नसकेको आरोप लगाए।

उनले आफूले संसदमा धेरैवटा कुराहरू उठान गरेको अनि विस्तारै सबै पूरा हुँदै जाने आश्वस्त गराए।

‘धैर्य राख्नु’-विष्टले भने, ‘मोदी हे तो मुम्किन हे।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया