सोनादामा चितुवाको हमलामा महिला घाइते: घरको कुकुरले बचायो चितुवाको हमलामा महिलालाई

खरसाङ, 16 अगस्त:  सोनादा बजारको केही मुनि नयाँ गाउँमा चितुवाले हमला गरेर एक घाइते भएका छन् । गत वुधबार राती 8.30 बजेतिर उक्त घटना सोनादा बजार क्षेत्रको नयाँ  गाउँमा घटेको थियो । प्राप्त जानकारी अनुसार चितुवाको हमलामा 59 वर्षीय आशा लामा नामको महिला घाइते भएका छन् । उक्त महिलाको घरको मुनिल्लो तलामा कुखुराहरू कराएको कारण तल्लो तलामा गएर दैलो खोलेर हेर्दा अघिबाटै पसेको चितुवाले अचानक हमला गरेको र हमलामा महिला घाइते भएका छन्।

चितुवाले हमला गर्दा घरको कुकुर टाईगरलाई बोलाउँदा कुकुरले चितुवासित लड़ाई गरेर परसम्म खेदेकोले महिलाको ज्यान जोगिएको जानकारी प्राप्त भएको छ । यदि घरको कुकुर टाईगर नभएको भए महिलाको ज्यान सक्ने बताइएको छ । चितुवाको हमलापछि महिलालाई तत्कालै सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारको लागि लगिएपछि दार्जीलिङको एक निजी नर्सिङ होममा लगिएको थियो। हालमा महिला सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा रहेको पनि जानकारी प्राप्त भएको छ।

घटना विषयमा घाइते महिलाकी छोरी प्रिती लामाले घरको कुकुर टाईगर हाम्रो लागि भगवान नै भएर आएको बताउँदै कुकुर नभएको भए चितुवाको हमलामा आमाको ज्यान जाने थियो भनी बताएका छन् । उनले यो कुकुर कतैबाट सन् 2017 मा घरमा आएकोले आमाले ने खाना दिएर राखेको अनि कुकुरले मालिकको राम्रो ख्याल गरेर ज्यान पनि जोगाएको बताए। घटनाको जानकारी पाउने साथ लन विभागका पदाधिकारीवर्ग घटना स्थलको निरीक्षणमा आएका थिए। आज पनि वन विभागका पदाधिकारीवर्ग सोनादाको नयाँ गाउँमा आएर चितुवाको लागि केज लगाएका छन् भने चितुवा विषयमा जानकारी राख्नलाई दुईवटा क्यामेरा पनि लगाएका छन्।  यस अवसरमा वन विभागका पदाधिकारीवर्गमा रेञ्ज अफिसर उत्तमचन्द्र प्रधान, रेञ्ज अफिसर ललित प्रधान, चटकपुरको बिट अफिसर लगायत अन्यहरू पनि उपस्थित थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया