मुम्बईमा 16-औँ बसिबियाँलो सम्पन्न: हाम्रो छहारी -मा भेला भए महानगरीका नेपाली-गोर्खाहरू

मुम्बई, 19 अगस्त: हिजो यहाँको कुर्ला पूर्वस्थित भर्खरै सुरू भएको हाम्रो छहारी -को निजी आश्रममा मासिक वैचारिक गोष्ठी बसिबियाँलो-को सोह्रौँ प्रकरण आयोजना भयो। इभेन्ट म्यानेजमेन्ट व्यवसायी तथा सामाजिक कार्यकर्ता सुजाता राईको घरपटित्वमा सम्पन्न यस प्रकरणमा मुम्बईवरिपरि लगायत बङ्गलोर, दार्जीलिङका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा घरपटीले स्वागत भाषण राखेपछि लेखक हीरा छेत्रीले आचार संहिता पाठ गराए। यसै दिन नेपाली साहित्यका मूर्धन्य साहित्यकारद्वय मदनमणि दीक्षित अनि लक्खीदेवी सुन्दासको निधनप्रति शोक प्रक गर्दै श्रद्धाञ्जली पनि चढ़ाइयो।
कार्यक्रममा युवाकवि केशव सापकोटाले आफ्नो व्यङ्ग्य कविता आरिसे प्रस्तुत गरेर सबैलाई मनोरञ्जन दिए भने लक्ष्मी थापाले हिन्दीमा कविता सुनाएर मन्त्रमुग्ध पारिन्। आफ्नो सम्बोधन राख्दै नयाँ सहयात्री एल. एन. रेग्मी, नेभी अधिकारीले मुम्बईजस्तो ठाउँमा महिनामा एकपल्ट नेपालीभाषीहरू भेला हुने सूचना पाएर आफु पनि यसपालिदेखि यस मञ्चमा उपस्थित हुन पाउँदा खुसी लागेको मन्तव्य पोख्दै बसिबियाँलो -सँग अबउसो लगातार सम्बन्ध कायम राखेर अघि आउने बताए। बङ्गलोरबाट आएकी युवा सामाजिक कार्यकर्ता मिना राईले पनि टाढ़ाबाट आएर यसरी मुम्बईका नेपालीभाषीहरूसँग एउटै मञ्चमा एक साथ भेट्न पाउँदा बसिबियाँलो -प्रति हार्दिक आभार प्रकट गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो छहारी-का मुख्य सल्लाहकार कमल सिँहले छ महिनाको अवधिभित्र हाम्रो छहारीको निजी घर सुरू हुनु ठुलो उपलब्धि रहेको बताए अनि यसका लागि यस अभियानलाई सघाउ पुऱ्याइरहेका भारतका विभिन्न स्थानका समाजसचेत व्यक्तिहरूलगायत विदेशका मनमिल्ने शुभचिन्तकहरूलाई हार्दिक धन्यबाद ज्ञापन गरे। उनले हाम्रो छहारीको सञ्चालन केही दिनभित्रै सुरू भइहाल्ने अनि मुम्बईमा कतिपय कामविशेषले आउने बाहिरका आम मानिसहरूले सुपथ मूल्य र पारिवारिक परिवेशमा यहाँ रहन पाउने जानकारी दिए। छहारीमा केवल अतिथिहरू रहने सुबिधा मात्रै नरहेर कतिपय समाजोपयोगी कार्यशालाहरूको पनि आयोजना नियमित रुपमा गरिइने जानकारी उनले दिए।
नेभी अधिकारी ठाकुर प्रसाद अधिकारीले आफुले हालैमा मोटर साइकल चढ़ेर मुम्बईदेखि लद्दाखसम्मको यात्रा गरेको रोमाञ्चकारी संस्मरण सुनाएर सबैलाई चकित तुल्याए। यसरी गरिएको साहसिक अभियान अथवा एडभेन्चरको कारण आफुमा आत्मविश्वास वृद्धि भएर गएको उनले बताएपछि सबैले उनलाई बधाई टक्र्याए।
कार्यक्रममा विशेष रुपमा उपस्थित दार्जीलिङवासी लोकप्रिय सङ्गीतकार जीवनप्रकाश प्रधानले मुम्बईको बसिबियाँलो -मा उपस्थित हुने आफ्नो दीर्घ दिनदेखिको सपना पुरा भएको अनि यसरी नेपाली भाषामा मनका कुराहरू राख्न पाउँदा आफुलाई बिरानो अनुभव नभएको बताए। उनले हाम्रो छहारी -ले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै यससँग आफु पनि जोड़िएर सहयोगको हात बढ़ाउने प्रतिश्रुति दिए।
यस दिनको कार्यक्रममा उपस्थित अन्य सहयात्रीहरूमा जुनु लेप्चा, विकास दूतराज, परेक विश्वकर्मा, शकुन सिँह राई, याचना छेत्री, स्वस्तिका छेत्री, विद्या प्रधान, रागिनी प्रधान आदि प्रमुख थिए।
बसिबियाँलो -को आगामी 17 औँ प्रकरणमा पनि यसरी नै भेटघाट गरेर जाति, समाज उपयोगी विषयहरूमाथि छलफल गर्ने निम्तो दिँदै घरपटि राम सिँह तिरुवाले सबैलाई सो कार्यक्रममा भेला भइदिने अनुरोध गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया