कालेबुङ पोलिटेक्निक कलेजमा स्थानीयले पाएन अवसर: माकपाले गऱ्यो खुलासा(भिडियोसितै)

कालेबुङ, 21 अगस्त: पहाडको नर्सिङ कलेजहरूमा स्थानीय विद्यार्थीहरूले अवसर नपाएको घटना सेलाउन नपाउँदै पुन: कालेबुङ सरकारी पोलिटेक्निक कलेजमा पनि स्थानीयले अवसर नपाएको घटना सार्वजनिक भएको छ। यसै वर्षदेखि शुरू भएको पोलिटेक्निक कलेजमा भर्ना पाएका जम्मा 82 जना विद्यार्थीहरूमध्ये बाहिरका 79 जना विद्यार्थीहरूले अवसर पाएको अनि स्थानीय भने केवल 3 जनाले मात्र अवसर पाएको मार्क्सवादी कम्यूनिष्ट पार्टीले खुलासा गरेको छ।

‘सरकारी अधिसूचनामा कालेबुङ अनि दार्जीलिङ जिल्लाका 70 प्रतिशत विद्यार्थीले अवसर पाएको हुनुपर्छ भनेर लेखिएको छ’-माकपा नेता तारा सुन्दासले भने, ‘तर कलेजमा 82 जना भर्ना भएका छन् जसमा स्थानीय 3 जनाले मात्र अवसर पाएको छ, अरू जम्मै बाहिरका छन्। अब कसले बोल्ने?’

सुन्दास अनुसार कलेजको उद्घाटन समेत नभइ कक्षा शुरू भइसकेको छ। कलेज शुरू भएको कुरा कसैलाई जानकारी समेत गराइएन। एकास्सी कक्षा शुरू भयो तर पहाडका विद्यार्थीहरूले अवसर् पाएनन्। सुन्दासले अझ भने अनुसार कलेजको आधिकारिक वेबसाइटमा कलेजमा सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नमा 60 जना, कम्प्यूटर साइन्स एण्ड टेक्नोलोजिमा 60 जना अनि इलेक्ट्रोनिक इन्जिनियरिङमा 60 जना गी 180 जनाको स्थान रहेको छ। जसमा प्रत्येक विभागमा 70 प्रतिशत पहाडका विद्यार्थीहरूले अवसर पाउनेकुरा सरकारी अधिसूचनामा उल्लेख हँदाहुँदै पनि यहाँका विद्यार्थीहरूलाई वञ्चित गराइएको सुन्दासको आरोप छ।

‘एक वर्षमा मात्र 15 सय रुपियाँ तिरेर जुनियर इन्जियर बन्नसक्ने अवसर कालेबुङ सरकारी पोलिटेक्निक कलेजले दिएको भएपनि यहाँका विद्यार्थीहरूले त्यो अवसर पाएनन्’-सुन्दासले भने, ‘यहाँका विद्यार्थीहरूले आफ्नै ठाउँमा नर्सिङ गर्न पाएका छैनन्, पोलटेक्निकमा अवसर पाएका छैनन्। यो शासक दलको जिम्मेवारी हो, विधायकहरूको जिम्मेवारी हो, भारी मतले जित्ने सांसदको जिम्मेवारी हो।’

कालेबुङ पोलिटेक्निक कलेजमा  खरसाङबाट 3 जना शिक्षक अनि सिलगडीबाट दुईजना शिक्षक ल्याएर कक्षा शुरू गरिसकेको जानकारी गराउँदै उनले पार्टी पक्षबाट पहाडका विद्यार्थीहरूले भर्ना नपाएकोमा प्रतिवाद जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया