सेभोक रम्फू रेलवे परियोजना: पहिलो ब्लास्टिङपछि लोहापुलबासीमा असुरक्षाको माह्वोल: रोकियो टनल-5 को काम

‘जीटीए र राज्यलाई हामी असुरक्षित छौँ भनेर तीन वर्षदेखि भन्दै आएका छौँ’-स्थानीय हरिप्रसाद नेउपानेले भने, ‘विनय तामाङ जीटीए अध्यक्ष हुँदा रेलवेको एनओसी दिन्छौँ तर ब्लास्टिङ दिँदैनौँ भनेका थिए तर आज पुलिस लगाएर व्लास्टिङ पड्काउँदैछ, हामी अन्याय अत्याचार सहनेछैनौँ।’

कालेबुङ,22 अगस्त: सभोक-रम्फू रेलवे परियोजनाको कारण राष्ट्रिय राजमार्ग-10 अन्तर्गत लोहापुलबासीमा असुरक्षाको माह्वोल बढेको छ। लोहापुलको नजिकैमा बन्दैगरेको रेलवेको टनलमा बुधबार दिउँसो लगभग 12.30 बजीतिर ठूलो ब्लास्टिङ पड्काएपछि लोहापुल क्षेत्रमा बस्ने 1 सय भन्दा अधिक परिवारले असुरक्षित अनुभव गरेका हुन्।

‘गाउँलेहरूलाई कुनै सूचना नदिइ हिजो मध्य दिउँसो अचानक ब्लास्टिङ पड्काउने काम भयो’-स्थानीय हरिप्रसाद नेउपानेले भने, ‘जम्मै गाउँ नै जोडले थर्कियो, गाउँलेहरू जम्मै आतङ्कित भएका छन्।’

पीडित लोहापुलबासी


सेभोक रम्फू रेलवे लाइन पश्चिम बङ्गालको राष्ट्रिय राजमार्ग-10 को धेरजसो भाग भएर जानेछ। जहाँ 14 वटा सुरुङ बनाइन्छ भने 28 वटा पुलहरूको निर्माण हुनेछ। जसमा अहिले रम्फूमा टनल-14 को काम हुँदैछ अनि रुङचुङदेखि लोहापुल हुँदै रम्बीसम्म 2.1 किलोमिटरको टनल-5 को काम भइरहेको छ। 88 मिटर लामो खनिसकेको सुरुङमा हिजो एउटा ब्लास्टिङ पड्काएपछि लोहापुलबासीले विरोध जनाएका हुन्।

लोहापुलनजिक रुङचुङदेखि रम्फूसम्मको निम्ति बनिँदै गरेको टनल-5


‘जीटीए र राज्यलाई हामी असुरक्षित छौँ भनेर तीन वर्षदेखि भन्दै आएका छौँ’-स्थानीय हरिप्रसाद नेउपानेले भने, ‘विनय तामाङ जीटीए अध्यक्ष हुँदा रेलवेको एनओसी दिन्छौँ तर ब्लास्टिङ दिँदैनौँ भनेका थिए तर आज पुलिस लगाएर व्लास्टिङ पड्काउँदैछ, हामी अन्याय अत्याचार सहनेछैनौँ।’

राष्ट्रिय राजमार्ग त्यसै पनि पैह्रोजन्य क्षेत्र हो। राजमार्गको 70 भिट भित्र अनि 6 मिटर उचाइमा सुरङ खन्ने काम भइरहेको छ। जसले गर्दा स्थानीयहरूले क्षेत्रमा अझ असुरक्षाको स्थिति हुनसक्ने भन्दै सम्बन्धित निकायहरूसमक्ष गाउँलेहरूको सुरक्षाको माग गरेका छन्। स्थानीय निर्मल छेत्री, दलबहादुर गुरुङ, अजीत छेत्री, डिक्छेन भोटिया आदिले विभागले क्षेत्रबासीको सुरक्षाको ग्यारेन्टी नदिएसम्म टनल-5 को काम बन्द राख्नुपर्ने माग गरेका छन्।

‘हामीलाई पैसा दिनुपर्छ भनेर मागेका छैनौँ’-स्थानीयहरूले भनिरहेका छन्, ‘क्षेत्रमा आएको विकासको हामी स्वागत गर्छौँ तर हाम्रो सुरक्षा सुनिश्चित हुनुपर्छ।’

नर्थइस्ट फ्रन्टियर रेलवे अन्तर्गत इक्रोन इन्टरनेसनले मुख्य रूपमा रेलवे लाइनको काम हेर्छ जस अन्तर्गत एबीसीआई इन्फास्ट्रकर्चस प्राइवेट लिमिटेडले टनलको काम गरिरहेको छ। एबीसीआईका एजीएम सञ्जीव सिंहले ब्लास्टिङ नगरी सुरुङ खन्न सम्भव नरहेको बताउँदै अत्याधुनिक पद्धतिद्वारा ब्लास्टिङ भइरहेकोले यसबाट धेरै खतरा नरहने दावी गरेका छन्।

‘चारवटा एजेन्सीहरू बसेर हामीले सुरक्षित ब्लास्ट गरेका थियौँ’-एजीएम सञ्जीव सिंहले भने, ‘अहिलेको यो आधुनिक पद्धतिमा क्षयक्षतिको भय कम्ती हुन्छ अनि देशका विभिन्न ठाउँहरूमा यसै पद्धतिद्वारा काम भइरहेको छ।’

रेलवे परियोजनाको निम्ति सरकारले क्षेत्रको सर्वेक्षण पूरा गरिसकेको अनि विभागसित ब्लास्टिङ पड्काउने अनमति रहेको बताए।

क्षेत्रबासीको विरोधपछि टनल-5 को काम रोकिएको छ। नर्थइस्ट फ्रन्टियर रेलवे, इक्रोन अनि प्रशासनलाई घटनाबारे सूचित गरिएको छ। जबसम्म यी निकायहरूबाट निर्णय आउँदैन तबसम्मको निम्ति काम रोकेको एजीएम सञ्जीव सिंहले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया