जीवनको समग्रताको प्रतीक कृष्ण(लेखक-कबीर बस्नेत)

फ्रायडपछि सारा संसारमा नै एउटा नयाँ चेतनाको जन्म भएको हो। दमन, सम्प्रेषण गलत हो अनि यसले मनुष्यलाई आत्महीनताको स्थितिमा पुर्याउँछ। व्यक्ति आफैसित लड्न थाल्यो भने ऊ आफै नष्ट हुन्छ भन्ने बोध विश्वव्यापी हुनथाल्यो। दाहिने र देब्रे हात द्वन्द्वमा परे भने कसैको जीत हुँदैन, तर व्यक्ति आफै हार्छ अनि आत्मघाती बन्दै जान्छ।धर्मको इतिहासमा कृष्ण यस्ता पात्र हुन् जसले दमन स्वीकार गर्दैनन अपितु जीवनका समस्त आयामहरूलाई स्वीकार गर्छन्।

कबीर बस्नेत


कृष्णको व्यक्तित्व अनौठो छ। उनी अतीतमा जन्मेका थिए, तर भविष्यको निम्ति। आजसम्म पनि मानिस कृष्णलाई समसामयिक बनाउने योग्य भएका छैनन्।अझसम्म कृष्ण मानिसहरूका निम्ति रहस्यमय छन्। शायद भविष्यमा हामी कृष्णलाई बुझ्न सक्छौं। यसका धेरै कारणहरू छन्।

कृष्ण एक्लै यस्ता व्यक्ति हुन् जो धर्मको परम गहिराई अनि उच्चतामा पुगेर पनि गम्भीर छैनन्, उदास छैनन्। साधारणतः सन्तको लक्षण हुन्छ गम्भीर, उदास, हारेको , जीवनदेखि भागेको । तर कृष्ण छन्, नाच्दै गरेका, हाँस्दै गरेका, गीत गाउँदै गरेका। अतीतका सारा धर्मलाई हेर्दा दुःखवादी देखिन्छ। कृष्णलाई हटाए  अतीतका सारा धर्म उदास, आँशुले भरिएको देखिन्छ । जीवनलाई समग्र रूपमा स्वीकार गर्ने धर्म उत्पन्न हुन बाँकी नै छ। समस्त धर्महरूले जीवनलाई दुई भागमा विभाजित गरेका हुन्छन्- एक स्वीकारयोग्य अनि अर्को अस्वीकारयोग्य।

कृष्ण एक्लै समग्र जीवनलाई स्वीकार गर्छन्, जीवनको समग्रताको स्वीकृति उनको जीवनमा पनि प्रतिफलित भएको देखिन्छ। यसैकारण भारतमा सबै अवतारहरू आंशिक अवतारहरू मानिन्छन्, केवल कृष्णलाई मात्र पूर्ण अवतार मानिन्छ।

वर्षौंदेखि कुनै पनि धार्मिक व्यक्तिको मनमा एउटा द्वन्द्व चलिरहेको छ- शरीरलाई अस्वीकार गर्नपर्छ अनि आत्मालाई स्वीकार। परलोकलाई स्वीकार गर्नपर्छ अनि इहलोकलाई अस्वीकार। यदि मानिसले शरीरलाई अस्वीकार गर्यो भने जीवन स्वतः उदास बन्छ, किनभने जीवनको सारा रस, स्रोत, स्वास्थ्य अनि संवेदनाहरू शरीरबाट प्राप्त हुन्छन्। शरीरलाई अस्वीकार गर्ने धर्म पीतवर्ण हुनजान्छ, मानौं रक्तशून्य, असुन्दर। तर कृष्ण शरीरको सम्पूर्णता स्वीकार गर्दछन्, एक आयाममा मात्र होइन सबै आयाममा । पुरातनपन्थी धर्महरूले मानिसलाई दमन सिकाइरह्यो, सम्प्रेषण सिकाइरह्यो।काम,क्रोध,मोह यी सबैलाई केवल दमन गर्न भनी आग्रह गरिरह्यो। सबैलाई नष्ट गरेवापत् मात्र परमात्मा प्राप्त गर्न सकिन्छ भन्ने युद्ध शताब्दी शताब्दीसम्म चलिरह्यो।

यसरी हजारौं वर्षको यो शरीरकेन्द्रित युद्धमा पाँचदेखि दशजना व्यक्तिहरूले मात्र परमात्मारुपी परमसत्यको आभास अनि साक्षात्कार गर्नसके ।हजारौं व्यक्ति युद्धमा निस्केका त थिए तर विजय केही व्यक्तिहरूलाई मात्र प्राप्त भयो। यसले युद्धका बुनियादी भूलहरूप्रति अवश्यै इङ्गित गरेको हुनपर्छ। युद्ध मूलतः असफल नै भएको मानिलिन सकिन्छ। एउटा मालीले एउटै बघैंचामा, समान हेरचाहमा यदि पचास हजार फूल रोपेको छ अनि पाँच दश फूलहरूमात्र फक्रिएका छन् भने हामी मालीको फूल रोप्ने तरिकालाई गलत भन्नेछौँ । ती पाँच दश फूल अवश्य पनि मालीबाट बाँचेको थियो अनिमात्र फुल्न सके होलान भन्ने सोझो अनुमान पनि अवश्य लगाउन सकिन्छ। द्वन्द्वग्रस्त धर्मको इतिहासमा एक बुद्ध, एक क्राइस्ट, एक महावीरले यदि परमात्माको दर्शन गर्न सक्छन्, परमसत्यलाई ग्रहण गर्न सक्छन् भने त्यो मालीको होइन फूलको आफ्नै सफलता हुनजान्छ। यसरी यस परिस्थितिमा धर्मको सफलता भन्नु पचास हजारमा पचासै हजार फूल फुल्नु हो, यसमा एक दुईवटा फूल फुल्न नसके त्यो मालीको होइन, फूलको आफ्नै दोष मानिन्छ।

फ्रायडपछि सारा संसारमा नै एउटा नयाँ चेतनाको जन्म भएको हो। दमन, सम्प्रेषण गलत हो अनि यसले मनुष्यलाई आत्महीनताको स्थितिमा पुर्याउँछ। व्यक्ति आफैसित लड्न थाल्यो भने ऊ आफै नष्ट हुन्छ भन्ने बोध विश्वव्यापी हुनथाल्यो। दाहिने र देब्रे हात द्वन्द्वमा परे भने कसैको जीत हुँदैन, तर व्यक्ति आफै हार्छ अनि आत्मघाती बन्दै जान्छ।धर्मको इतिहासमा कृष्ण यस्ता पात्र हुन् जसले दमन स्वीकार गर्दैनन अपितु जीवनका समस्त आयामहरूलाई स्वीकार गर्छन्। जीवनका सम्पूर्ण रङ्गहरूलाई स्वीकार गर्ने कृष्ण प्रेमबाट भाग्दैनन्, पुरूष भएर स्त्रीबाट पलायन गर्दैनन्, परमात्माको अनुभव गर्दा गर्दै पनि युद्धमैदानबाट विमुख हुँदैनन्। उनी करूणाले भरिएका छन्, प्रेमले सराबोर छन् तर युद्धमा लड्ने सामर्थ्य राख्छन्, अहिंसक भए पनि न्यायोचित हिंसाको पथका यात्री देखिन्छन्। कृष्ण अमृतलाई स्वीकार गर्दछन् भने विषबाट भयातुर छैनन्। कृष्णको थ्योरीलाई उजागर गर्नु हो भने उनी अमृत र विष दुवैलाई सङ्गसङ्गै स्वीकार गर्छन्, शिवको शिवत्व र विष्णुको विष्णुत्व दुवै समाहित छन् कृष्णमा। जसलाई अहिंसाको सूत्र ज्ञात छ, उसलाई हिंसाको कुनै भय रहँदैन । द्वन्द्व र समागमलाई एकैसाथ सहर्ष स्वीकार गर्नसक्ने कृष्ण यसैले आद्वितीय छन्, अति आराध्य छन्।

कृष्ण भन्छन्-जबसम्म मनुष्य मर्छ भन्ने बोध हामीमा व्याप्त रहन्छ, तबसम्म हामी आत्मवादी हुनै सक्दैनौं अनि जबसम्म हामीमा रहेको आत्माको अमरत्वको अनुभव गर्न सक्तैनौं, तबसम्म हाम्रो अज्ञानताको कुनै सीमा हुँदैन। कसैले कसैलाई मार्दैन, कोही कहिले मर्दैन, मर्नु र मार्नु फगत एउटा लीला हो, एक नाटक हो भन्ने सत्यबोध गराउँछन् कृष्ण। यसरी अध्यात्मको यस पक्षले युद्धलाई एउटा खेल अनि जीवनका सारा दिशाहरू राग, प्रेम, भोग, काम, योगलाई समान महत्त्व प्रदान गर्दछ।

वास्तवमा समग्रताको दर्शन गराउनु नै धर्मको लक्ष्य हुनपर्छ। शरीर अनि आत्मा दुई अलग अलग सत्ता होइनन्- आत्माको जुन भाग प्रत्यक्ष छ त्यही शरीर हो अनि शरीरको जुन भाग आभासीय छ त्यही आत्माको सत्ता हो। परमज्ञानको गूढ रहस्य पनि यसैमा लुकेको पाइन्छ। यस्तै प्रकारले परमात्मा अनि संसार पनि दुई बेग्ला-बेग्लै वस्तु होइनन्। परमात्माको जुन भाग दृश्यरूपमा हामीअघि उपलब्ध छ त्यो प्रकृति हो अनि जुन अदृश्य छ त्यो परमात्मा स्वयं हो। प्रकृति अनि परमात्माबीच कुनै तीव्र विभाजन अथवा सीमा छैन-कारण कुनै यस्तो स्थान नै छैन जहाँ प्रकृति अन्त हुन्छ अनि परमात्मा शुरू हुन्छ।प्रकृतिमा लीन हुँदा नै परमात्मा बनिन्छ अनि परमात्मा प्रकट हुँदा नै प्रकृति बनिन्छ। अद्वैतको अर्थ पनि यही हो । यही अद्वैतलाई सही ढङ्गमा बुझ्न सक्नु नै कृष्णलाई जान्नु हो।

कुनै व्यक्ति यौनसित लड्न थाल्यो भने उसको जीवनमा कहिले पनि ब्रह्मचार्य घटित हुन सक्दैन। कामको ऊर्जालाई रूपान्तरित गरेर नै जीवनमा ब्रह्मचार्यलाई प्राप्त गर्न सकिन्छ। विज्ञानले ऊर्जाको अविनाशितालाई व्याख्या गर्दा ऊर्जाको रूपान्तरणलाई पनि व्याख्या गरेको हुन्छ। काम र क्रोधको ऊर्जालाई परिवर्तित गरेर यसबाट सहयोग प्राप्त गर्नु भनेको जीवनसित मित्रता स्थापित गर्नु हो कारण हामी जति जति दमनलाई प्राथमिकता दिँदै जान्छौं, आफूलाई नै आफ्नो शत्रु बनाउँदै जान्छौं। कालान्तरमा दमनले जुन विस्फोटको स्थितिमा पुर्याउँछ, त्यो अझ घातक अनि भयानक हुन्छ । यसर्थ जुन धर्म र संस्कृतिले दमन सिकाउँछ, त्यसले व्यक्तिलाई नकारात्मकतातर्फ अग्रसर गराइरहेको हुन्छ। जो समग्रतामा जीवन व्यतीत गर्दछ, वास्तवमा उसैले नै पूर्णता प्राप्त गरेको हुन्छ।

कृष्णको नृत्य मुक्त नृत्य हो। कृष्णको बाँसुरीमा आनन्ददेखि बाहेक केही छैन । उनको नृत्य अनि बाँसुरीको सुरमा कुनै अभिप्सा छैन, कुनै कारण छैन। अकारण, कर्मदेखि पनि मुक्त। युद्धभूमिमा उनले बजाउने शंख छ पान्चजन्य। पान्चजन्य अर्थात पाँच इन्द्रिय। कृष्ण पाँचै इन्द्रियले युद्धको घोषणा गर्छन्। पाँच इन्द्रिय जगतसितको हाम्रो सम्बन्धको पाँच द्वार हुन्। युद्ध भूमिमा सबै आ-आफ्नै शंख बजाउँछन्। आआफ्ना शंखका आ-आफ्नै स्वर छन्। आ-आफ्ना व्यक्तित्व लिएर उपस्थित छन्। कृष्ण छन् हतियारविहिन अनि अनकमिटेड। उनी युद्ध गर्न आइकै होइनन् तर उनी पान्चजन्यले आफू समग्रतामा उपस्थित रहेको घोषणा गर्छन्। आफ्ना सम्पूर्ण सेना कौरवलाई दिएर उनी आफूभने एक्लै पाण्डवको पक्षमा छन्।

कृष्ण वर्तमानमा जिउँछन्। आफ्नो बचन आफै तोडदै सुदर्शन लिएर भीष्मअघि उभिन्छन्। यो उनको सहज, स्पोन्टेनियस भएको प्रमाण हो। अतीतले बाँधेको छैन उनलाई। दुइ प्रकारको जीवन हुन्छ एउटा श्रृङ्खलाबद्ध टेलिभिजनको सिरियल जस्तो वा पिक्चरको सिक्वेन्सजस्तो अनि अर्को हून्छ आणविक ; शृङ्खलाविहिन, परम्पराविहिन, अतीतविहिन। यसकारण कृष्णमा संगति पाइँदैन। यसकारण परम्परावादी अनि अतीतोन्मुखी मनले उनलाई समग्रमा बुझ्न कठिन छ। कृष्णले जस्तो जीवनको समग्रतालाई स्वीकार्ने व्यक्तिको जीवन नै वास्तवमा कलात्मक जीवन हो। कृष्ण एउटा विशाल जङ्गल जस्ता हुन् जहाँ भयङ्कर जीवजन्तु छन्, कसैले कुनै गोरेटो बनाइदिएको छैन, चोर डाकु पनि हुनसक्छन् । खतरै खतराले परिपूर्ण एडभेन्चर्स। तर मान्छेको मन जहिलेपनि सुरक्षा खोज्छ। यही सुरक्षाबोधले मान्छेलाई यथास्थितिवादी बनाएको छ, लोभी बनाएको छ अनि बनाएको छ भयभीत। मान्छेले जीवनको आनन्द नै हराइपठाएको छ। जीवनलाई गमलामा केन्द्रित गराएको छ मान्छेले तर उसको आद्य स्वभाव जहिले पनि विशाल जङ्गललाई खोजिरहन्छ यसकारण मान्छे जहिले असन्तुष्ट अनि दुखी छ।

मान्छेले जङ्गलको मङ्गल हराएको छ। मान्छेले आफैलाई सीमित घेरामा बाँधेर राखेको छ। देशको घेरा, सम्प्रदायको घेरा, नस्लीय घेरा, धार्मिक घेरा, भाषायी घेरा, धारणागत घेरा, लैङ्गीक घेरा । हजारौं घेराहरूले मान्छेलाई समग्रतामा बाँच्नै दिएको छैन यसकारण उसले जीवनको नृत्यलाई हराइपठाएको छ। जीवनको बाँसुरीको स्वरलाई सुन्न सक्ने सामर्थ्य गुमाएको छ मान्छेले। कृष्ण अर्जुनसमक्ष आफूलाई, आफ्नो धर्मलाई पनि छोडने अनि आफ्नो शरणमा आउने आह्वान गर्छन्-मामेकं शरणं व्रज। आफूलाई, आफ्नो अहंकारलाई, आफ्नो सत्तालाई अनि कृष्णलाई पनि छोडेर जुन शेष रहन्छ त्यही धर्म हो । त्यसकारण कृष्ण मान्छेको साँचो स्वभावलाई धर्म भन्छन् अनि आफ्नो शरणमा जाने सल्लाह दिन्छन्। कृष्ण हजारौं विरोधहरूका बिच समागम हुन् । यही विरोधहरूबिच नै जीवनको उत्सव लुकेको छ। जसले यस सङ्गीतलाई प्राप्त गर्छ उसले नै जीवनको आनन्दलाई पनि प्राप्त गर्छ।

( ओशोको कृष्णसम्बन्धमा दिइएको व्याख्यानमा आधारित)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया