आलोचनाको माहौल- अन्डर कन्सट्रक्सन साङ्ग्रिलाले अब केही गर्ला!

एउटा कृति कोरेर दुनियाँको सम्मान पचाउन सक्ने साहित्यकारले स्वास्थ्य आलोचना पनि पचाउने क्षमता स्थापित गर्नुपर्छ। आलोचना पचेन भने तिम्रो अर्को कृति पाठकलाई नपच्ला। पाठकले ग्रहण नै नगर्ला पनि। आलोचना पचाउन सकेनौ भने जुन सुकै पुरस्कार थाप, तिमी जिरो।

रोशन दाहाल, कालेबुङ।

मलाई हुनहार भएको छ। म बर्बाद भएको छु। मेरो जीवनको बाटै मोडियो। आज म जे छु, त्यो भन्दा धेरै माथी हुन्थेँ होला। पक्कै पनि त्योभन्दा अझ बढी लायकको बन्थेँ होला। तर दुर्भाग्यवश त्यो सौभाग्य ममा रहेन। किनकी मलाई मेरो जीवनमा निर्देशकको कमि भयो। दिशा निर्देश गरिदिने कोही भएन। आमा-बुवामा निर्देशनको क्षमता थोरै मात्र थियो।

खासमा कुरा के भने, मलाई अभियन्ता बन्ने मन थियो। दार्जीलिङ पोलिटेक्निक, खरसाङसित जोडिएर मैले असैनिक अभियन्त्रण गर्नुपर्ने थियो। माध्यमिक परिक्षा उत्तिर्ण बनेपछि फारम भर्ने सिलसिलामा कालेबुङबाट खरसाङ दुईचोटी गएँ पनि। एकचोटी फारम लिन गएँ, एकचोटी बुझाउन। अब फारम बुझाइसकेपछि पालो थियो योग्यता सूचीमा नाम आउने, त्यसपछि काउन्सेलिङको। तर म भने लाटा परेँ। मलाई काउन्सेलिङ कुन चराको नाम हो भन्ने पत्तो थिएन। योग्य उम्मेद्वारको नाम सूचीमा आएपछि उम्मेद्वारले अन्तीम परामर्श लिनुपर्दो रहेछ। त्यै रहेछ काउन्सेलिङ अहिले बुझ्दा। त्यसबेला मेरो अङ्क पुग्थ्यो। म भर्नाको लायकको थिएँ पनि। तर मलाई दिशा निर्देश गर्ने र सुझाव दिने भने कोही थिएन। म मेरो अन्तिम परामर्श दिन पुगिन। मैले अभियन्ता बन्ने सपना तुहाएँ। मलाई पछुतो लाग्छ।

यती सुनाएर मैले भन्न खोजेको वास्तव के भने, जीवनमा सबैलाई निर्देशक चाहिन्छ, दह्रो अभिभावक चाहिन्छ। के गलत, के सही, के गर्नुपर्ने, के नगर्नुपर्ने, कसरी गर्नुपर्ने आदि कुरा सिकाइदिने, सुझाव राखिदिने अनि हकार्ने पनि। धेरैका आमा-बुवाले निर्देशक, अभिभावकको असल भुमिका निर्वाह गर्लान। धेरैका आफन्तले गरिदिएलान्। तर सबैलाई त्यो सौभाग्य नमिल्ला। धेरैलाई नमिल्दो पनि रहेछ। त्यस्तै भारतीय नेपाली साहित्य पनि अभिभावकविहिन पो छ कि जस्तो लाग्थ्यो। एउटा साहित्यकारले जे लेखे पनि वाह! वाह! हुने गर्छ। त्यसको गल्ती देखाइन्दैन। दुश्मन कमाइन्छ भन्ने डरले प्रशंसा धेरै र धेरै कम आलोचना हुन्छ। तर कालेबुङलाई अहिले त्यो सौभग्य मिलेको छ जसले आलोचना गर्न सक्ने माहौल स्थापित गर्दैछ। कालेबुङलाई मात्र होइन त्यो सौभाग्य। म भन्छु, भारतीय नेपाली साहित्यलाई त्यो सौभाग्य मिलेको छ। साङ्ग्रिला बुक्स इण्डियाको साङ्ग्रिला बुक क्याफेका रूपमा।

हुन चैँ मलाई पनि कसैको प्रशंसा गर्दै लेख लेख्न मन पर्दैन। प्रशंसा योग्यको छ त्यो भने कुनै लेखबिनै पनि उसको प्रशंसा हुने नै हो भन्छु म। तर साङ्ग्रिला बुक क्याफेमा हरेक आइतबार जे चर्चा हुँदैछ, जे बहस हुँदैछ, जे गफ हुँदैछ नी त्यसले भारतीय नेपाली सहित्यमा गहना थप्ने छ। गहनामा सुगन्ध थप्ने छ। साङ्ग्रिला बुक क्याफेले उम्रन्दो साहित्यकारहरूलाई अभिभावकको काम गर्दैछ। तर त्यो निरन्तरतामा भर पर्ने कुरा हो। निरन्तरता दिनसक्नु ठुलो कुरा हो। त्यो हेर्दै जाउँला।

एक आइतबार साङ्ग्रिला बुक क्याफेले युवा कविहरूलाई लिएर कविता सुनाउने अनि कवितामाथी चर्चा गर्ने कार्यक्रम राख्यो। म कार्यक्रममा सहभागी बन्न ढिलै भए नी रूद्र सरसित क्याफे पुगेको थिएँ। कार्यक्रम सञ्चालक तथा साङ्ग्रिला बुक्स इण्डियाका प्रकाशन प्रमुख कवि मनोज बोगटीले कवितालाई लिएर युवा कविहरूलाई सुझाव दिँदै रहेछन्।

बोगटीले भन्दै थिए, “अचेल कस्तो हुन थाल्यो भने, बेसी माया गर्न थाल्यौँ एक-अर्कालाई। हामीले मायाभन्दा पनि बढ्ता क्रुर बन्न जरूरी छ। एक-अर्कामा क्रुरसँगले आलोचना गर्न जरूरी छ। बढ्ता मायाले आफूसँग निहित कमजोरीहरू थाहा पाउदैनौँ। मैले 6 –वटा कविता सङ्ग्रह निकालेको छु। अहिले म पछिलो समयतिर फर्केर हेर्दाखेरी, किन चैँ तेत्रो सङ्ग्रह निकालेछु भनेर मलाई पश्चताप लाग्छ। त्यो किनभने, जे लेख्यो त्यै वाह वाह हुन्थ्यो। पसिनाको छाला लेखेँ, वाह वाह भयो। गीतको रिस लेखेँ त्यै वाह वाह गर्दिने। घाउका रङहरू लेखेँ, वाह के लेख्यो भन्दिनेहरू भए। तर अहिले म आफू कविता बुझ्ने भएपछि मेरो कति कमजोरी रहेछन् भन्ने मलाई थाहा भयो। त्यतीबेला पनि म जस्तो अरू कविहरू थिए। तर उनीहरूले मेरो कवितालाई क्रुरसित किन हेरीदिएनन् भनेर पछुतो लाग्छ। अहिले म जति क्षमतामा कविता लेख्न सक्छु, म अझै त्योभन्दा तिक्खर हुन सक्थे होला। नेपाली साहित्यलाई पावरफूल कविता सङ्ग्रह दिन सक्थे होला। मलाई रिग्रेट लाग्छ”।

बोगटीलाई पनि मलाई जस्तै पछुतो लागेछ। कसैले सल्लाह दिएनन्, गल्ती देखाइदिएनन्, गाली गर्दिएनन्, कसैले सिकाइदिएनन्, उनको कवितामाथी आलोचना नै भइदिएन भनेर। त्यस्तै मलाई पनि कसैले यस्तो गर्नुपर्छ केटा, तेरो यो कमी कमजोरी छ, तैँले यसो गर्, यसमा ध्यान दे भनिदिएको भए म आज अभियन्ता हुन्थेँ होला। अनि मलाई लाग्यो आलोचना त जरुरी रहेछ। आलोचनाले त सिकाउने रहेछ। आलोचनाले त आफुलाई तिक्खर बनाउने रहेछ।

बुक क्याफेमा भएको कवितामाथी चर्चा कै क्रममा, कसैले आलोचना नगरीदिँदा आफू वास्तवमा कवि बन्न नसकेको बताउँदै बोगटीले आफ्नो अनुभवको आधारमा अन्य कविहरूलाई एक अर्कामा दुश्मनी गर्ने सल्लाह पनि दिए। “दुश्मन नहुनु भनेको त, आफूतिर हरदम फर्कीरहने जीवनको एउटा रमाइलो पाटै नहुनु हो रहेछ”, भन्दै प्रख्यात कवि मनु मञ्जिलले पनि दुश्मनी जरुरी छ जसरी भनेका छन्, त्यस्तै बोगटीले भने, “म सबै साथीहरूलाई आग्रह गर्छु, तपाईहरू पनि कवितालाई लिएर एक अर्कामा प्रेम नगर्नुहोस्। तपाईहरूले कवितालाई लिएर असाध्यै दुश्मनी गर्नुहोस्। असाध्यै। एकदेखि अर्को कविको कवितामा दुश्मनी हुन जरूरी छ। आरिस गर्नु पर्यो अर्को कविदेखि”।

मज्जा लाग्यो मलाई त। हुन पनि आलोचनाको कमिले नै एउटा साहित्यकार तिक्खर बन्न देखि विमुख बन्दैछ। तर आलोचना गर्ने माहौल छ के त यहाँ? भन्ने सोच्दै मात्र थिएँ बोगटी बोली हाले, जवाब पाइ हालेँ, “भर्खर-भर्खर आलोचना गर्नुपर्छ की क्या ह, भनेर हात हालौँ भनेको तर साथीहरू रिसाएर उधुम भइराछ। तर आलोचना गर्ने ट्रेण्ड चैँ तपाईहरूले बोकेर अगाडी जानु होला। म पनि सक्दो कोशिस गर्छु”। बुझीयो आलोचना गर्ने माहौल छैन।

झन्डै दुई घण्टा लामो चर्चा भयो होला कविता माथी, अहिले भारतीय नेपाली कविताको स्तरमाथी। बोगटीले घरी घरी आलोचना कै कमीले हो कविताको स्तर बढ्न नसकेको भने जस्तो गर्न छोडेनन्। आलोचना कै कमीले हो भन्न उदाहरणहरू समेत दिए। बोगटी भन्छन्, “मनप्रसाद सुब्बाहरूको समयमा, 80 –को दशकतिर कत्तिजना कवि थिए। कत्तिजनाले कविता लेख्दै थिए। तर छानिन्दै-छानिन्दै-छनिन्दै… कति रहे? हामीले औँलामा गन्दा नोर्जाङ स्याङ्देन भन्छौँ, राजेन्द्र भण्डारी भन्छौँ, मोहन ठकुरी भन्छौँ, मोहनप्रसाद सुब्बा भन्छौँ, तर त्यसपछि? केवलचन्द्र लामा कै पालामा पनि कत्ति कवि थिए होलान्। हाम्रै पालीमा पनि कत्ति कवि थिए थिए। कविता छाप्न कम्पिटिसन चल्थ्यो। तर सबै कवि, कवि रहेनन्। नरहनुमा आत्मआलोचना र आलोचानाको कमि नै सबैभन्दा ठुलो फ्याक्टर लाग्छ मलाई। कसैले आलोचना गर्दिन्दैनन्। मैले पुकार पारदर्शीको ‘हल्लुँड’ भन्ने कविता सङ्ग्रह पढेँ, कर्ण विरहको धेरै कविता सङ्ग्रह पढेको छु, लेखनाथ छेत्रीको पनि मैले किताबहरू पढेको छु। अनेकौँ कमि कमजोरी छन्। तर मैले पनि त्यसरी भन्ने आँट गरिन। व्यक्तिगत रूपमा मैले भने, तर सार्वजनिक रूपमा मैले भन्ने आँट गरिन”।

आलोचना गर्नुपर्ने रहेछ भन्ने महसुस त भइरहेको थियो त्यसबेलासम्म। तर बोगटी जस्ता आँटिला आलोचकले नै “सार्वजनिक रूपमा त मैले भन्ने आँट नै गरिन” भनेपछि आलोचना गर्नै पर्ने रहेछ महसुस भयो। आलोचना गर्ने माहौल नभएकै कारण बोगटी डराउँदैछन्। स्वास्थ्य आलोचना गर्न पहिले माहौल स्थापित गर्नुपर्ने रहेछ। तब खुलेर आलोचना गर्ने हो। तब केही नयाँ आउला। केही नयाँको खोजी होला। केही फरक आउला पनि।

मलाई लाग्छ, एउटा कृति कोरेर दुनियाँको सम्मान पचाउन सक्ने साहित्यकारले स्वास्थ्य आलोचना पनि पचाउने क्षमता स्थापित गर्नुपर्छ। आलोचना पचेन भने तिम्रो अर्को कृति पाठकलाई नपच्ला। पाठकले ग्रहण नै नगर्ला पनि। आलोचना पचाउन सकेनौ भने जुन सुकै पुरस्कार थाप, तिमी जिरो।

त्यसैले बोगटीले भने झैँ, हरेक आलोचनालाई स्वस्थ रूपले हेरीदिनु होला। हाम्रोमा त्यो आचरणको विस्तार गर्नपर्छ। जसले तपाईको कविताको आलोचना गर्छ, उसैलाई असाध्यै प्रेम गर्नु होला।

साङ्ग्रिलाको त्यो कार्यक्रममा 12 जना युवा कविहरूले कविता सुनाए। झन्डै 12 अरूले पनि आलोचना गर्नपर्ने रहेछ भन्ने कुरा चै पक्कै सिकेर गए। अब चैँ घाम उदाउला की जस्तो लाग्यो। साङ्ग्रिलाले नै केही गर्ला की भन्ने आशा छ। तब आलोचना गरौँला। अहिले मलाई पनि दुश्मन कमाउने रहर पटक्कै छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया