सिगोजासले रक्तदानसितै पालन गऱ्यो बलिदान दिवस भन्यो जातिको हितलाई राष्ट्रहित बनाउनुपर्छ

गान्तोक, 25 अगस्त। भारत स्वाधिनता संग्राममा इण्डियन नेशनल आर्मी (आइएनए) को नेतृत्वमा लड्दा लड्दै ब्रिटिस सेनाको हातमा परेर विदेशी शासकको अघि घुडा टेक्नुको साटो मृत्यु दण्ड स्वीकार गर्ने वीर गोर्खाली सपुत सहीद मेजर दुर्गा मल्लको सहादतको दिनलाई भारतीय गोर्खाहरूले पालन गर्ने बलिदान दिवस सिक्किम गोर्खा जागरण संघ (सिगोजास) ले दक्षिण सिक्किमको नाम्ची स्थित संघको कार्यालयमा पालन गऱ्यो। राज्यको चारै जिल्लाबाट आएका सिगोजासका प्रतिनिधि तथा जातिप्रेमीहरूको उपस्थितिमा आयोजित कार्यक्रमको मुख्य अतिथि संघ का प्रवक्ता मणिलराज राई रहेका थिए। संघ का अध्यक्ष बलबीर तामाङले अध्यक्षता गरेको कार्यक्रममा लक्ष्मी पौडेलले स्वागत सम्बोधन राखेपछि सहीद मेजर दुर्गा मल्लको प्रतिमा अघि दीप प्रज्वलन गरेर उपस्थिति गोर्खे सन्ततीहरूले खादा माला लगाएर श्रद्धाञ्जलि अर्पण गरिए पछि राष्ट्रगीत गाएर कार्यक्रमलाई विधिवत रूपमा पालन गरिएको थियो।

कार्यक्रममा सही मेजर दुर्गा मल्लको जीवनी र सिगोजासको कार्यक्रमहरूबारे प्रकाश पार्दै अध्यक्ष बलबीर तामाङले 1913 सालमा देहरादुनको डोहीवालामा जन्मिएका दुर्गा मल्लले 14 वर्षको उमेरदेखि नै गोर्खा जातिको अवस्थाबारे चिन्तित बन्दै कविता मार्फत आह्वान शुरु गरेको नि 18 वर्षको उमेरमा गोर्खा पल्टनमा भर्ना भएर 1944 सालमा गोर्खाको प्रथम सहीद स्वतन्त्रता सेनानी बन्ने उदाहरण पेश गरेर गोर्खाहरूको देश प्रेम र माटोको मायालाई इतिहासमा कायम गरेर गएको बताए। उनले सिक्किमे गोर्खाहरूको भविष्य सुरक्षा र समाज हक अधिकारसित बाच्न सक्ने अवस्था सिर्जना गर्नको निम्ति सिगोजास लागि परेको अनि यसको निम्ति सबै बहुसंख्यक गोर्खे सन्तान एकजुट हुनुपर्ने आह्वान गरे। उनले सिगाजासले सिक्किमे गोर्खालीहरू देशको अन्य प्रान्तको जस्तो बिल्लीबाँठ पर्ने स्थिति तथा छिमेकी राष्ट्र भोटाङको जस्तो अवस्थामा सिक्किममा पुग्न अघि नै सबै थातथलोको सही व्यवस्था र राजनैतिक अधिकारलाई सुनिश्चित गरेर सिक्किमे गोर्खाहरूको इतिहासले बताएको खाँटी रैथानेको प्रमाणलाई पुष्टि गर्ने कार्यमा निरन्तर खटिरहेको बताए। यसैगरि उनले सिगोजासले सिक्किमे बहुसंख्यक गोर्खाहरूको सही राजनैतिक हक अधिकारलाई सुनिश्चत गरेर सधै सधैको निम्ति सुरक्षित पार्नको निम्ति सिक्किम उच्च न्यायालयमा जनहित याचिका दर्ता गरेको अनि अहिलेसम्म सिक्किमे गोर्खाहरूलाई अप्रवासीको कलङ्कबाट मुक्त गरेर अहिलेसम्म कुनै पाठ्यपुस्तक र इतिहासमा नलेखिएको गोर्खाहरूको साँच र सही इतिहास लेख्ने कार्यमा जुटेको हुनाले सबैले यसबारेमा सहयोग गरेर जाति र राष्ट्रहीतलाई प्रमुखता दिनुपर्ने बताए। यसैगरि उनले संविधानको धारा 51 ले भनेको स्वाधिनता संग्राममा सहीद बनेको र खटेकाहरूलाई सम्मान गर्ने प्रत्येक भारतीय नगारिकको कर्तव्य भएकै कारण गोर्खा जातिको वीर सपुत मेजर दुर्गा मल्लको योगदानलाई सधैँ याद गर्नुपर्ने आह्वान गरे।
यसैगरि मुख्य अतिथि मणिलराज राईले आफ्नो सम्बोधनमा दुर्गा मल्ल भारतीय गोर्खाहरूको रोल मोडल रहेको बताउँदै उनले देश प्रेमको जुन उदाहरण प्रस्तुत गरेर गएका छन् त्यसैले भारतमातासित गोर्खाहरूको प्रेम कति छ प्रमाणित गरेको बताए। उनले गोर्खा जातिले आफ्नो चिन्हारी अस्मिता र राजनैतिक अधिकारहरूको निम्ति स्वयंले अदेखा गरेकै कारण भनेजस्तो न्याय नपाएको पनि बताए। उनले आफ्नो हक अधिकार कसै र कुनै अर्को समुदायले नभएर आफैहरूको सोझोपन र अज्ञानताले प्राप्त नभएको भन्दै अब सबैले जागेर सही कुराको निम्ति एकजुट हुनुपर्ने बताए। उनले सिक्किमको छुट्टै राजनैतिक कथा व्यथा रहेको कारण विशेष गरेर राजनैतिक परिपेक्ष्यमा यस्तो नहुने गरेको बताए। उनले सिक्किमको राजनैतिक स्थिति अर्कै भएको कारणहरूले गर्दा एउटा जातिले आफ्नो प्रेरणाका स्रोत र रोल मोडललाई सम्झनु पनि राजनैतिक आँखाले हेर्नुपर्ने स्थिति सिर्जना भएको अनुभव गरिने गरेको बताए। उनले भारतमा अन्य जातिहरूले आफ्नो जातिका स्वाधिनता संग्रामी होस या कुनै महान व्यक्तिको सम्झना गर्दा कुनै जातिवादको दृष्टि नराखिने कुरा बताउँदै यस्तो कुरा र राजनैतिक विचार अनि दृष्टिबाट माथि उठ्ने समय आएको बताए। यसैगरि उनले सिक्किमे गोर्खाहरू आफ्नो जातिको हीतलाई राष्ट्रीयहीतको माध्याम बनाउने र सिक्किममा आफ्नो अस्तित्व र चिन्हारीको इतिहासलाई पुनर्लेखन गरेर आफ्नो भावि सन्ततीको सुरक्षा गर्न कटिबद्ध हुनुपर्ने आह्वान गरे।
कार्यक्रममा गायिका दीपा राईले देशभक्ति गीत प्रस्तुत गरेका थिए भने, संघका युवा कार्यकर्ताहरूले स्वरचित कविताहरू सुनाएर देशभक्ति र सहीद मेजर दुर्गा मल्लप्रति सम्मान जनाएका थिए। अर्कोतिर देशलाई रगत दिने गोर्खा जातिले सीमानामा मात्र नभएर रक्तदान मार्फत पनि रगत देशको निम्ति बलिदान गर्न सक्छ भन्ने सन्देश दिँदै 14 जना युवाहरूले नाम्ची जिल्ला अस्पतालमा रक्तदान गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया