के भाषा आन्दोलन भएकै हो र ?(लेखक-कमल भुजेल)

अहिलेको सन्दर्भमा नेपली भाषाले मात्र काम चल्दैन, भूमण्डलीकरणको युगमा, सञ्चार-माध्यमले चोटी छोएको बेला नेपाली भाषा मात्र बोल्नु पर्छ भन्नु पटक्कै मिल्दैन। तर संसारको कुनै पनि भाषा सिक्नु अघि आफ्नो मातृ-भाषाको ज्ञान हुनु आवश्यक हुन्छ।


कमल भुजेल

मिजोराम विश्वविद्यालय।

बङ्गालले बलजफ्ती बङ्गलाले बिजाउने बखत, बिमलको बनमा बनिबास, बिनय बङ्गालको बनियो, बाँचेको बुद्धिजिवीहरू बिरालो बनेर बसिदियो, बिचरा बास्थानको बाँचा बन्डलसितै बेचिखायो। २० अगस्त १९९२ नेपाली जातिले गर्व गर्नुपर्ने दिन, भाषाले मान्यता पाएको दिन। ९३ देखि सालै भाषा-मान्यता दिवस मनाउदै आइरहेछन् सबैले। लगभग ३६ वर्षको खटाईको प्राप्ति थियो भनि मान्न सकिन्छ। यो आन्दोलनलाई भाषा-आन्दोलन  भनेर चिन्ने गरिन्छ तर के यो साच्चै भाषा-आन्दोलन थियो र? कि भाषा-मान्यता को निम्ति आन्दोलन थियो? यो भाषाको मान्यताको  निम्ति आन्दोलन थियो न कि भाषा आन्दोलन। मान्यताको आन्दोलनलाई नै भाषा आन्दोलनको संज्ञा दिएर भाषाको विकासमा धेरै नै क्षति पुगेको छ।

भाषा मान्यताका संग्रामीहरूको योगदान अतुलनीय छ। तर मान्यतामा नै मक्ख परेर मन्चमा खदा-माला थापेर गजक्क हुने प्रवृतिकै कारण भाषा आज लुप्त हुने स्तिथिमा पुगेको छ। भाषा मान्यताको निम्ति धेरै सङ्घर्ष भए तर भाषाकै निम्ति भने केही हलचल सम्म पनि भएकै छैन, आन्दोलन त परको कुरा। भाषा-आन्दोलन भएकै छैन।

पृथ्वी नारायणले एकीकरण गरे बापत, भानुभक्तको रामायण प्रचलित हुँदा उता भाषाकै निम्ति त्यस्तो कुनै व्यापक आन्दोलन भएकै छैन नेपाली संसारमा। दार्जीलिङ्गेको सन्दर्भमा पादरी गङ्गाप्रसादको नेपाली बाइबलले पनि तेस्तो लोकप्रियता नपाए पनि राजनारायण प्रधानका व्याकरणले नयाँ मोड़ त दियो अनि त्यसपछि जनमानसले सुन्न पनि पाएनन् भाषा-आन्दोलन। बौद्धिकताको स्तरमा ड ढ -मा टीका हटाउने कि राख्ने जस्ता कता-कता बहस सुनियो तर भाषा बिमारी भएको देखेर पनि डाक्टर देखाउने जमर्को कतै भएन।

इबरा, काइला र वल्लभको आयामेली आन्दोलन, गिरीको जातिवाद, वाङ्गदेलको परदेशी गाँठो, पारिजातको शुन्यवाद भनौ प्रगतिवादी वा क्रान्तिकारी लेखन, हुँदा हुँदा यसरी मान्यता पाइसके पछि पनि मनप्रसाद सुब्बाले किनारीकृतको भाव पोख्नु होस् वा राजा पुनियानीहरूको हस्तक्षेप नै यस्ता कैयौं लेखकहरूले आफ्नै तरिकाले साहित्यमा नयाँपन ल्याउन कलम चलाइरहे। यथार्थवाद, कम्युनिस्ट साहित्य, भयवाद वा इबरा कै लीला-लेखन धेरै नै साहित्यमा हलचल हुने कदम हुन् जो चलिरहे। कहिले उग्र त कहिले नम्र। यिनै लेखहरूको आडमा नेपाली भाषाको स्तर तौलिने गर्छन् हाम्रा बुद्धिजीवीवर्ग। यी वादहरूले साहित्य जगतमा आन्दोलन गरेको हो। नेपाली साहित्य जगतमा नाकी नेपाली भाषा जगतमा। यी बौद्धिक आन्दोलन हुन् विचारको आन्दोलन जो नेपाली भाषी जनमानस देखि कोसौ टाढा छन्।

आजको दिनमा भाषाको स्तर कहाँ खस्केको छ त्यो लेख्दा आफैलाई पीडा हुन्छ। भाषाले मान्यता पायो। भाषा संग्रामीहरूले पनि ताज पाए, मान-सम्मान सबै थोक पाए तर भाषाले पाए त केवल अवहेलना, उपहास। अहिले प्रत्येक हुनेखाने नेपाली परिवारको छोराछोरीले नै नेपाली जान्दैनन्, नसिकेर होइन नेपाली भाषा गरिब हो भनेर। एउटा चाड पर्वमा दौरा सुरूवाल लगाउदैमा नेपाली टोपीले शिर त ढाक्ला तर भाषाको मर्यादा पुगेको हुँदैन। स्टेजमा भाषा दिवस मनाए पुगिहाल्छ नि। दैनिक जीवनमा, व्यवहारमा लेउने प्रवृति हो भाषा आन्दोलन। विश्व-साहित्य नेपालीमा कल्पना गर्नु हो भाषा आन्दोलन। संस्कारमा नै नेपालीपन झल्किनु हो भाषा आन्दोलन। नबोलिकन पनि भाषाको आभास भान हुनु हो भाषा आन्दोलन। कन्भेन्टको टाई-सुटमा पनि शुद्ध मिठास नेपाली बोल्न सक्नु हो भाषा आन्दोलन। जातीय पोशाकमा नेपालीको ढोंग गर्दा झन् भाषा मारिने काम भइरहेछ।

अहिलेको सन्दर्भमा नेपली भाषाले मात्र काम चल्दैन, भूमण्डलीकरणको युगमा, सञ्चार-माध्यमले चोटी छोएको बेला नेपाली भाषा मात्र बोल्नु पर्छ भन्नु पटक्कै मिल्दैन। तर संसारको कुनै पनि भाषा सिक्नु अघि आफ्नो मातृ-भाषाको ज्ञान हुनु आवश्यक हुन्छ। अनेपाली कुनै पनि भाषा बोल्दा आफ्नो निज भाषाको परिचय बोकेको नै हुनुपर्छ , भनौ आफ्नो नेपाली भषाको माया गर्नु जानेको हुनुपर्छ। मेरो छोरा-छोरीले नेपाली जान्दैन, नेपालीमा फेल भयो भनेर लाज पचाउने परम्परा हटाउनु पर्छ। यस्तै गर्नुपर्ने काम धेरै नै छ र सबैलाई थाहा नै भएको हो। तर भाषालाई बचाउनको निम्ति भने कुनै कदम नै नउठेको बेला साच्ची नै एउटा आन्दोलन जरूरी छ।

कसले गर्ने आन्दोलन?

दोष यता देखि उता सरी रहन्छ तर निर्मूल कसैले गर्दैन। बाटा त धेरै नै छन्। जिम्मेवारी प्रत्येक व्यक्तिको नै हो। तर पनि नेपाली भाषाकै खेती गर्ने यी साहित्यकार अनि नेपाली विषयका शिक्षकहरूले भने यो आन्दोलन सुरू गर्नु पऱ्यो। प्राथमिक तह मा ४ साल बाह्र-खरी मात्र राम्रो सिकाइदियोस न नेपाली कसले लेख्न–पढ्न सक्दैन र? शिक्षक आफैले पनि सिकेको हुनुपर्छ। यिनीहरू साहित्यिक कार्यक्रम र श्रेणी देखि बाहिर गएर गाउँ–गाउँमा नेपाली सिकाउनु सुरू गर्नु पर्छ। नत्र साहित्यकारको पाठक पनि साहित्यकार मात्र नै रहन्छ, अहिलेको विडम्बना। यदि गम्भिरता साथ नलिने हो भने भाषा निभेर खरानी भइसकेको छ। कता कता फिलिङ्गो छ, त्यसलाई खोजेर आगो नसल्काए भाषा सँधैको निम्ति निभेर जानेछ।

भोटको बेला, विष्ट बिजेपीबाट, बजगाईंको बहस भाषाको, बिनय बङ्गालको बन्धनमा बाधिएको बेला, बौरिएन, बिउँझिएन बिपनामा बाँझो बास्तविकताहरू बुझेर पनि। सामाजिक सञ्जालामा अझै पनि धेरै गनगनहरू देखिरह्न्छौँ। यो भाषा आन्दोलन दार्जीलिङ भित्रमात्र सिमित रहनु त भएन यद्यपी साहित्यकारहरू अहिले गुट बनाउने वादमा मस्त भएको बेला आन्दोलन भइहाल्ला भन्न सकिन्न, तरपनि यत्रो उपहासको सामना गरेर पनि जीटीए सम्हालेर बसेका प्रमुखले नेपाली भाषामा आवेदन वाध्य्तामुलक भनेर फर्मान जारी गरी दिए निकै आशालाग्दो कदम साथै ती उपहासको राम्रो जवाब पनि हुने थियो। हामीले हाम्रो जगहहरूको नाम बदल्नु दिनु भएन। बाटै भरि सरकारी बोर्डहरूमा गलत नामहरू सुधार्ने काम गरिहाल्नु पर्छ। र साँचो भाषाको सिपाही हो भने स्टेजमा भन्दा फिल्डमा गएर भाषा दिवस मनाउन सके भाषाप्रति सठीक आदर हुने थियो। विषय लामो अनि जटिल हो समालोचना गर्दै भएपनि सुरू बाट नै गरिहाल्नु पर्छ। दिनमा एक वाक्य भए पनि नयाँ अनि शुद्ध नेपाली भाषा, मेरो भाषा बोलेर।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया