लोलेगाउँ क्षेत्रमा आकर्षक झरना: नयाँ पर्यटकीय स्थल बनाउने स्थानीयको प्रयास(भिडियोसितै)

कालेबुङ, 28 अगस्त: दार्जीलिङ पहाडको पर्यटकीय मानचित्रमा पहिलोबाट नै स्थापित कफेर-लोगेगाउँ क्षेत्रमा नयाँ पर्यटकीय स्थलको रूपमा छाँगेफल्स अस्तित्वमा आउन लागेको छ। कफेरदेखि 15 किलोमिटर टाडामा रहेको यस प्राकृतिक झरनालाई नयाँ पर्यकीय स्थलको रूपमा चिनाउनका निम्ति अहिले स्थानीय आफैले नै प्रयास गरिरहेका छन्।

कफेर अनि पेमलिङको बीचमा अवस्थित यो झरना आकर्षक र मनमोहक छ। बर्खामा मात्र होइन हिँउँदोमा पनि पहाडबाट निरन्तर खसिरहने यस झरनामा पर्यकीय दृषिकोणबाट व्यापक सम्भावना देखेपछि  लोलेगाउँ-पेमलिङ, चारखोल, पाबुङ, चुइखिम आदि क्षेत्रका पर्यटन व्यवसायसित आबद्ध होटल एसोसिएन, ड्राइभर एसोसिएसन साथै स्थानीयहरूले आफै पैसा उठाएर छाँगेफल्ससम्म पुग्ने सडक खन्न थालेका छन्।

अप्पर पेमलिङदेखि झरनासम्म पुग्ने 1 किलोमिटर सडक निर्मण कार्यको निम्ति स्थानीय 14 जना गाउँलेहरूले जमीनको एनओसी दिएपछि आइतबारदेखि जेसीबी लगाएर सडक खन्ने काम आरम्भ भएको छ। आगामी अक्टोबर देखि यो झरनालाई क्षेत्रको नयाँ पर्यकीय केन्द्रको रूपमा उद्घाटन गर्ने स्थानीहरूको सोच रहेको छ।

‘अहिले देश-विदेशमा पनि पर्यटन सबैभन्दा राम्रो व्यवसायको रूपमा फस्टाइरहेको छ’-पूर्व पार्षद् समेत रहिसकेका स्थानीय छिरिङ शेर्पाले भने, ‘यो छाँगेफल्स प्राकृतिक रूपमा यति धेरै सुन्दर छ कि दार्जीलिङ पहाडमा यस्तो कहीँ छैन।’

यदि झरना अस्तित्वमा आउनसके प्रकृतिको नजिक आउनचाहने पर्यटकहरूका निम्ति राम्रो गन्तव्यस्थल बन्नसक्ने शेर्पाले बताए।

अर्कोतिर पर्यटन व्यवसायसित आबद्ध स्थानीय लाक्पा शेर्पाले पनि यस झरनालाई नयाँ पर्यकीय क्षेत्रको रूपमा चिनाउन सकिए यो धेरै पर्यटकहरूका निम्ति रोजाइको गन्तव्यस्थल बन्नसक्ने बताए। यदि झरनासम्म पुग्ने सडक निर्माण गरेर केही पूर्वाधारहरूको निर्माण हुनसके यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने उनले बताए।

अर्कोतिर  स्थानीय इन्द्रबहादुर थापा, यवन छिरिङ आदिले पनि यदि उक्त फल्स पर्यकीय क्षेत्रको रूपमा स्थापित हुनसके स्थानीय धेरैलाई फाइदा हुनसक्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया