जीटीएको सहयोगमा कालेबुङमा नेपाली भाषा मान्यता दिवस: भाषाले मात्र जातिलाई एकतामा बाँध्छ–अनीत थापा

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अनीत थापाले नेपाली भाषाले संवैधानिक मान्यता पाउनु भनेको भारतीय गोर्खाहरूका लागी सबैभन्दा ठूलो उपलब्धी रहेको बताउँदै भाषा मान्यता दिवसलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउनुपर्ने अनिवार्यता व्यक्त गरे। 


कालेबुङ, 30 अगस्त: ‘जातिको एकता भनेको भाषा हो। भाषाले मात्र जातिलाई एकतामा बाँध्छ। नत्र हामी हिजो जाति थियौँ, आज जात भएर बाँच्न परिरहेको अवस्थामा छौँ। यसैले भाषालाई बचाउनका निम्ति एकमुष्ठ साहित्यकारहरूको मात्र जिम्मेवारी नरहेर प्रत्येकको जिम्मेवारी हो।’

उपरोक्त कुरा जीटीए अध्यक्ष अनीत थापाले भनेका हुन्। जीटीएको सहयोगमा साथै साहित्य प्रकाशन परिषद कालेबुङ एवं नेपाली भाषा मान्यता दिवास समारोह समितिको आयोजनामा आज यहाँको वर्सिप सेन्टरमा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको थियो। यसै समारोहमा थापा मुख्य अतिथिका रूपमा उपस्थित थिए।

कथाकार देव भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका मुख्य अतिथि जीटीए अध्यक्ष अनित थापा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जीटीए सदस्य सञ्चबीर सुब्बा, नगराध्यक्ष रवि प्रधान, एसयुएमआईका पूर्व प्राचार्य नभरत्न प्रधान, गर्ल्स हाइस्कुलका प्राचार्य एसएस प्रधान, रकभेल एकाडेमीका प्राचार्य कप्तान प्रकाशमणि प्रधान आदिको उपस्थिति रहेको थियो। यसै कार्यक्रमबीच भाषा सङ्ग्रामी अधिवक्ता डीएन पाण्डे साथै नेपाली साहित्य अध्ययन समितिलाई आयोजकद्वारा भाषा सम्मानले सम्मान जनाइएको थियो। यसै कार्यक्रममाझ भानु पुरस्कार प्रापक कप्तान प्रकाशमणि प्रधान, समालोचक मुन्नु गौतम, कथाकार सञ्जय विष्ट अनि नाटककार ललित गोलेलाई पनि सम्बर्द्धना जनाइएको थियो।

कार्यक्रमबारे जानकारी गराउँदै कालेबुङ आयोजक समितिका मूल संयोजक भुवन पी. खनालले भने, नेपाली भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न जीटीएले कोशिश गरिरहेको छ। यसैले दार्जीलिङ अनि खरसाङमा जीटीएले कार्यक्रम गरिसकेको छ भने कालेबुङमा पनि जीटीएको सहयोगमा कार्यक्रम आयोजना गरेका हौँ।’

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अनीत थापाले नेपाली भाषाले संवैधानिक मान्यता पाउनु भनेको भारतीय गोर्खाहरूका लागी सबैभन्दा ठूलो उपलब्धी रहेको बताउँदै भाषा मान्यता दिवसलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउनुपर्ने अनिवार्यता व्यक्त गरे। उनले विभिन्न सङ्गोठी, कार्यक्रम आदिको माध्मयबाट नेपाली भाषा मान्यताको इतिहास अनि यसका उपलब्धीहरूबारे आजका विद्यार्थीहरूलाई बुझाउन जरूरी रहेको बताउँदै आगामी वर्ष भाषा मान्यता दिवस कार्यक्रम वृहत रूपमा सम्पन्न गर्न आग्रह गरे। उनले मातृभाषाप्रति मानिसहरूको रूचि हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै भाषाको उत्थानको निम्ति जीटीएबाट जेजस्तो सहयोग गर्नसकिन्छ सो सहयोग गरिने आश्वस्त गराए। विभिन्न स्कूलका विद्यार्थीहरू, साहित्यकारहरू, सङ्घ-संस्थाका प्रतिनिधिहरू आदिको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कविता वाचन, वक्तव्य एवं विद्यार्थीहरूद्वारा गीत प्रस्तुत गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन