पदोन्नतिको मागमा सिन्कोना सहायक श्रमिकहरूको पेन डाउन हड्ताल अनि धरणा प्रदर्शन: निर्देशक सामुएल राईले भने, ‘विभागले आफ्नो काम गरिसकेको छ’(भिडियो रिपोर्टसितै)

कालेबुङ, 31 अगस्त: पदोन्नतिको माग गर्दै अहिलघरि सिन्कोना बगानका सहायक श्रमिकहरूले पेन डाउन हड्ताल अनि धरणा प्रदर्शन गरिरहेका छन्। पदोन्नति प्रक्रिया बन्द भएको 6 वर्ष बितिसक्दा समेत कुनै पहल नभएपछि अन्तत: गत बिहिबारदेखि मङ्गपु, रोङ्गो, मन्सोङ अनि लाटपञ्चरका अन्तर्गतका जम्मै विभागीय कार्यालयहरूमा सहायक श्रमिकहरूले पेन डाउन हड्ताल शुरू गरेका हुन्।

वर्षौदेखि सहायकका रूपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आएपनि उनीहरूको पदोन्नति भने भएको छैन। जबकी ग्रुप डी. अन्तर्गत सैयौँ पद्हरू रिक्त छन्।

‘हामीले वर्षौदेखि जम्मेवारीपूर्वक सहायकको काम गरिरहेका छौँ तर हाम्रो प्रमोसन हुन सकेको छैन’-मन्सोङ व्यवस्थापक कार्यालयअघि धरणा प्रदर्शन गरिरहेका सहायक सङ्गठनका केन्द्रिय सदस्य नयन राईले भने, ‘प्रमोसनलाई लिएर जुनप्रकारको ढिलाइ भइरहेको छ त्यो चाँडोभन्दा चाँडो गरिपर्छ भन्ने माग लिएर हामीले पेन डाउन अनि धरणा शुरू गरेका हौँ।’

धरना प्रदर्शनको आज तेस्रो दिन मन्सोङ व्यवस्थापक कार्यालयअघि लगभग 30 जना अफिस सहायक अनि फिल्डका अन्य सहायक श्रमिकहरू सहभागी बनेका थिए। ‘सिन्कोना बगानमा खुन पसिना बगाउनेलाई न्याय देउ’, सिन्कोना बगान बचाउनतर्फ नियुक्ति प्रक्रिया झट्ट शुरू गर’, जस्ता प्लाकार्डहरू उनीहरूको हातमा थियो।

धरणामा बसेका श्रमिकहरूले विभागबाट पदोन्नतिको सम्बन्धमा लिखित आश्वासन नपाएसम्म धरना यथावत् राख्ने बताएका छन्। उनीहरूको धर्नालाई गोजमुमोको श्रमिक सङ्गठन सीपीडब्लुयूको मन्सोङ जोनको पनि समर्थन रहेको स्थानीय पुरण तामाङले बताए। अर्कोतिर चियाबगान सङ्ग्राम समितिले पनि व्यवहारिक अनि वैचारिक रूपमा नै श्रमिकहरूको आन्दोनलाई समर्थन रहेको समितिका सदस्य छेवाङ योञ्जनले बताए।

यसरी नै सिन्कोना श्रमिकहरूका निम्ति काम गर्दै आइरहेको पिपल्स फोरमका सचिव प्रवीण गुरुङले निर्देशकको इच्छाशक्ति नभएको कारण नै पदोन्तति हुन नसकेको आरोप लगाएका छन्। सिन्कोना बगानमा निर्देशकलाई नै नियुक्ति दिनसक्ने अधिकार रहेको अनि यसअघि निर्देशक जीसी सुब्बाको कार्याकालमा निर्देशकले नै नियुक्ति दिँदै आएको गुरुङले बताए।

अर्कोतिर बगानका निर्देशक सामुएल राईले भने पदोननत्तिको प्रक्रियाको निम्ति विभागले गर्नुपर्ने काम सबै गरिसकेको अनि छिनाफाना गर्ने निर्णय सरकारले लिन मात्र बाँकी रहेको बताए।

उनले भने अनुसार सिटोङबाट एउटा मुद्दा न्यायालयमा गएपछि पदोनन्तिको प्रक्रिया बन्द भएको थियो। उक्त मुद्दा 2011 मा छिनाफाना भइसकेको छ। कोर्टको निर्देशको आधारमा विभागले रिक्रुटमेन्ट रूल बनाएर 2019 को जनवरीमा जीटीएले पनि पारित गरेर हिल एफियर्समा पठाएको छ। यसैले जीटीए र निर्देशालयले गर्ने काम गरेको अनि अब सरकारले नै अन्तिम निर्णय लिन बाँकी रहेको राईले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया