वार्षिक सम्बर्द्धना एवं कुमार चौहान पुरस्कार समारोह सम्पन्न: हामीले प्राथमिक शिक्षामा पुरानै गरिमा फर्काइल्याउन काम गर्नुपर्छ – अनित थापा

खरसाङ, 31 अगस्त: हिमालयन अवकाशप्राप्त प्राथमिक शिक्षक कल्याण समितिको आयोजनामा वार्षिक सम्वर्द्धना एवं कुमार चौहान पुरस्कार समारोह रंगबुलको बंगला डाँड़ा सार्वजनिक भवनमा सम्पन्न भयो। ओबी मुखियाको अध्यक्षतामा सम्पन्न यस समारोहमा प्रमुख अतिथिको रूपमा जीटीए अध्यक्ष अनित थापा उपस्थित थिए अनि विशेष अतिथिहरूमा सतिश रसाइली, एनबी खवास, एनबी छेत्री, सतिश पोखलेर, मिरेन लामा, सैलेन्द्र चन्द्र छेत्री, शान्ति तामाङ, महेन्द्र प्रधान, मिङ्‌मा लेप्चा, डावा डुक्पा, अशोक छेत्री उपस्थित थिए। माया लामाले स्वागत वक्तव्य राखेको यस कार्यक्रमलाई बीबी कार्की अनि देवकुमार प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरूवात स्व0 कुमार चौहानको स्मृतिमा एक मिनटको मौन धारण गरेपछि भएको थियो।

कार्यक्रममा 70 वर्षभन्दा माथिका अवकाश प्राप्त शिक्षक-शिक्षिकाहरू देव कुमार प्रधान, कर्णबहादुर राई, जयनारायण प्रधान अनि भीम बहादुर थापालाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट अंगवस्त्र, खदा लगाएर स्मृति चिन्ह्र अनि सम्वर्द्धना पत्र प्रदान गरी सम्वर्द्धना जनाइयो।  प्रमुख अतिथि अनित थापा, स्व0 कुमार चौहानका छोरा राजेश चौहान, विशिष्ट अतिथि एनबी खवास अनि सतिश रसाइलीको बाहुलीबाट स्मृति चिन्ह, अंगवस्त्र, सम्वर्धना पत्र प्रदान गरी 93 वर्ष पुगेको भूतपूर्व शिक्षक बीबी बम्जनलाई स्व0 कुमार चौहान स्मृति पुरस्कार प्रदान गरियो। कार्यक्रममा हिमाद्री कार्की अनि बिन्दु लकान्द्रीले नृत्य प्रस्तुत गरेका थिए। समारोहमा बोल्दै जीटीए अध्यक्ष अनित थापाले भूतपूर्व शिक्षकहरूलाई सम्वोधन गर्दै भने, तपाईहरूले हाम्रो समाजलाई योगदान दिएर अवकाश भइसक्नु भएको छ। तपाईहरूले धेरै वर्ष शिक्षाको क्षेत्रमा काम गरेर हाम्रो नानीहरूलाई शिक्षित बनाएर अवकाश भइसक्नु भएको छ। तपाईहरूको माझमा मलाई बोल्ने त्यति सुहाउँदैन। तपाईहरूले समाजप्रति, जातिप्रति योगदान दिएर पनि तपाईहरूको उर्जा, देखेर आज मलाई नयाँ शिक्षा हाँसिल गरे जस्तो लाग्दैछ। तपाईहरूको समयमा प्राथमिक शिक्षाको जस्तो व्यवस्था थियो, जुन गरिमा थियो आज धेरै अन्तर लाग्छ।

आज हामीले पाठशालाहरू भ्रमण गर्दा हामी आउँदैछ भनेर मात्रै नानीहरू थुपारिएको हुन्छ नत्र पाठशालाहरू खाली खाली पाइन्छ। यस्तो अवस्थामा आजको शिक्षालाई मात्र दोषाउँदिन तर हाम्रो सोचमाथि पनि यो प्रभाव परेको छ। आज जुन पाठशालामा पढ़ेर उ शिक्षक भएको छ त्यही पाठशालामा आफ्नो नानीलाई पढ़ाउन डराउँछन्‌। यो हामीले विचार गर्न पर्ने दिन अाएको छ। आफ्नै पाठशालामा शिक्षकहरूले आफ्नो नानीहरूलाई हाल्न रूचाउँदैन भने शिक्षा क्षेत्रमा कस्तो समस्या आएको छ। यो सोच्न पर्ने समय आएको छ। यसलाई सम्हाल्ने, संगाल्ने सबैको जिम्मेवारी हुन पर्छ। हाम्रोमा खोट देखाउन प्रवृति धेरै छ तर सम्झाउने, सच्याउने प्रवृति धेरै कम छ। यो जग्गा, क्षेत्र हाम्रो हो। शिक्षालाई बिगार्ने पनि हामीनै हो तर हामीले अरूलाई दोष दिदैगरेको हुन्छौँ।

हामीले हाम्रोमा भएको भूल पत्तो पाएनौँ र स्वीकार गरेनौँ भने हाम्रो जाति एक दिन भलखॉंड़ोमा पर्नेछ। पहिलाको शिक्षाको गरिमा कसरी फर्काइ ल्याउने यसमा तपाईहरू अनुभावी हुनु हुन्छ। तपाईहरूको सहयोग, सुझाउ र आर्शीर्वादको मलाई खाँचो छ। जुन जिम्मेवारी लिएर अघि बड़िरहेको छु। यसमा म फेल भए भने अनित थापालाई मात्र धक्का लाग्दैन। हाम्रो समाजलाई, जातिलाई धक्का लाग्नेछ। म जहिले पनि खुल्ला रूमा भन्छु। सबै जान्दछु भन्ने पनि होइन, म रहरले यस स्थानमा पुगेको होइन। म परिस्थितिले यस स्थानमा पुगेको हो। हाम्रो पहाड़, समाज राम्रो बनाउनलाई तपाईहरूको सहयोग र आर्शीर्वादको खाँचो छ। समारोहमा एनबी खवास, सतिश रसाइली अनि अन्यान्यले पनि वक्तव्य राखेका थिए। आफ्नो अध्यक्षीय वक्तव्य राख्दै ओपी मुखियाले धन्यवाद प्रकट गरेका थिए। कार्यक्रम सफल पार्न सहयोग प्रदान गरेकोमा जीटीए प्रमुख अतिथि जीटीए अध्यक्ष अनित थापा, विशेष अतिथि वर्ग, भूतपूर्व शिक्षक-शिक्षिका अनि हिमालयन अवकाश प्राप्त प्राथमिक कल्याण समिति सोनादाका सदस्यहरूलाई राजेश चौहानले धन्यवाद दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया