फरक शिविरमा नेपाली भाषा, वर्ण अनि व्याकरणको चर्चा: भाषामा एकरूपता आवोस् अनि त्यो एकरूपता वैज्ञानिक होस्-प्रा. सञ्जय विष्ट

कालेबुङ, 1 सितम्बर: फरक शिविरको नवौँ प्रकरणमा नेपाली भाषा, वर्ण अनि व्याकरणको चर्चा एवं कार्याशाला सम्पन्न भयो। फरक शिविर आयोजक समितिले आयोजना गरेको कार्यक्रममा कालेबुङ कलेजका प्राध्यापक सञ्जय विष्ट स्रोत व्यक्तिका रूपमा उपस्थित थिए। विद्यार्थीहरूलाई लक्षित गरेर यहाँको जिल्ला पुस्तकालयमा आयोजित शिविरमा नेपाली भाषा साहित्यसित आबद्ध लेखकहरू, सरोकारवालाहरू एवं विभिन्न कलेजका नेपालीभाषी विद्यार्थी एवं शिक्षकहरू सहभागी बनेका थिए।

शिविरमा प्राध्यापक सञ्जय विष्टले ‘कालेबुङ प्रस्तावना’-का आधारहरूबारे चर्चा गरे। विष्ट लगायत 28 जना भाषासित आबद्ध सरोकारवालाहरूले 2017 मा नेपाली भाषा सम्बन्धी ‘कालेबुङ प्रस्तावना’-पुस्तिका प्रकाशित गरेका थिए। यसै पुस्तिकामा भाषा सम्बन्धी उठान गरिएका प्रस्तावनाहरूबारे बुझाउँदै विष्टले नेपाली भाषामा एकरुपता आवोस् अनि त्यो एकरूपता बैज्ञानिक होस् भन्ने आफूहरूको उद्देश्य रहेको खुलाए।

विष्टले तत्समबाहेक अन्य शब्दहरूको वर्णविन्याश नेपाली नियमले हुनपर्ने कुरामा जोड दिएका थिए। भाषामा एकरूपता नभएका कारण विभिन्न क्षेत्रमा परिरहेको प्रभाव अनि नेपाली भाषालाई एकरूपतामा ल्याउनुपर्ने अनिवार्यताबारे पनि चर्चा-परिचर्चा भएको थियो।

आयोजकबाट कवि टिका भाइले भाषा एकरूपतामाथि बारम्बार उठ्ने गरेको विवादलाई स्वस्थ्य बहसको रूपमा समाजमा अघि ल्याउन शिविर आयोजना गरेको बताए। आउने दिनमा पनि भाषा, व्याकरण, एवं सृजनात्मक लेखनमा युवा एवं विद्यार्थीहरूलाई लिएर शिविर एवं कार्याशालालाई निरन्तरता दिने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया