‘एक्टिभिष्ट अक्षर’को एक्टिभिजम्

किताब

सिक्किममा  डा. पवन चामलिङको २५ वर्षे शासन गर्ल्याम्म ढल्यो। सरकार ढाल्ने राजनैतिक चलखेल त उस्तै-उस्तै नै हो तर मैले कवि आदर्श मिलन र उनको ‘एक्टिभिष्ट अक्षर’लाई सम्झें।


जय क्याक्टस


पुस्तक हातलागेपछि पाठप्रतिक्रिया स्वरूप केही लेखिहालूँ भन्ने इच्छा हुन्छ। तर सुयोग र समय त्यस्तै हुन्छ; पुस्तकहरू थाक लाग्दै जान्छन्। कृतिले मूल्याङ्कनको अपेक्षा गरेर कुरिरहेको आफैलाई नमिठो लाग्छ। यद्दपि झिना-मसिना कुराले अल्झाइबस्छ आफूलाई।‘टालटुले काम नगरूँ, लेखिसकेपछि अलिक अध्ययन र मनन् गरेरै लेखूँ’ले पनि यस्तो गराउँछ। सिक्किमका झरिला युवा कवि आदर्श मिलन प्रधानसित पनि यस्तै भयो। २०१६ मै प्रकाशित उनको पहिलो कृति ‘एक्टिभिष्ट अक्षर’माथि आफ्नो मूल्याङ्कनपरक दृष्टिकोण राख्ने अवसर बल्ल आज जुर्दैछ। पटक-पटक कविताहरू हेरियो बीच-बीचमा तर लेखिनलाई भने के-केले अल्झाइबस्यो।

सिक्किममा यही बीच डा. पवन चामलिङको २५ वर्षे शासन गर्ल्याम्म ढल्यो। सरकार ढाल्ने राजनैतिक चलखेल त उस्तै-उस्तै नै हो तर मैले कवि आदर्श मिलन र उनको ‘एक्टिभिष्ट अक्षर’लाई सम्झें। विश्वमा ठूल्ठूला राजनैतिक परिवर्तनमा कवि साहित्यकारहरू जेल-नेल परेका उदाहरणहरू छन्। यतिसम्म कि शारीरिक यातनादेखि र मृत्युदण्डसम्म भोग्ने साहित्यकारहरू छन्। एक भेटमा सोधेँ पनि- “भाइ कृतिमाथि लेख्दा मैले तपाईंको सत्ता विरोधी कवितामाथि खुलेर लेख्नुपर्ने हुन्छ। तपाईंलाई असुविधा त हुँदैन?”

उनी मुसुक्क हाँसे अनि विस्तारै बोले- “हैन सर त्यस्तो केही असर पर्दैन।लेखिसकेपछि त्यसले दिने प्रशंसा, गाली वा शास्ती जे पनि मैले स्वीकार्नैपर्छ। तपाईंले जस्तो देख्नुहुन्छ त्यस्तै लेखिदिनुहोस्।” कृतिमा ‘विचार’ लेख्ने क्रममा उनले लेखेका “जे भएपनि सर्जक तर जिम्मेवार हुनुपर्छ” भन्ने सत्यलाई व्यवहारमा पनि जस्ताकोतस्तै उतारेको पाएँ। अलेक्जान्डर अघि राजा पुरूले झैं एउटा कविले एउटा समीक्षकअघि आफ्नो आत्मविश्वाससित यति निर्धक्क पोख्नु मामुली कुरो होइन। मन साँच्चै रमायो।

सिक्किममा तर सर्जकहरूलाई साह्रै सम्मान गरिन्छ। त्यस्ता सम्मान भण्डारीकै समयदेखिकै हो। चामलिङको पालामा यो कार्य चरममा थियो। उल्लेखनीय कुरो के छ भने समाजका सबैभन्दा सचेत र संवेदनशील जमातलाई सत्ताले आफ्नो खेमामा पारेपछि सत्ताका भूल र अपराधिक कर्महरू ओझलमा पर्ने कुरा निश्चित छ। सत्य र यथार्थ सत्ताशक्ति सापेक्ष बन्ने कुरामा दुइमत छैन। सर्जकपूजाको राजनीतिले निमुखा अनि किनारीकृतहरूका आवाज कहिल्यै सतहमा आउन पाउँदैन। यो पनि एक सत्ता शक्तिकै खेल हो। सचेतक मिचेल फुकोले आफ्नो प्रसिद्ध पुस्तक Discipline and Punish: The birth of the prison  मा भनेका छन्- Knowledge linked to power, not only assumes the authority of ‘the truth’ but has the power to make itself true. All knowledge, once applied in the real world, has effects, and in that sense at least, ‘becomes true.’ Knowledge, once used to regulate the conduct of others, entails constraint, regulation and the disciplining of practice. Thus, ‘there is no power relation without the correlative constitution of a field of knowledge, nor any knowledge that does not presuppose and constitute at the same time, power relations.”(P. 27)

यसरी सत्ता र शक्तिको गुणगानमा कवि-साहित्यकारहरू (उनका ज्ञानहरू) लागिपरिरहेका समयमा जोरथाङको एउटा कुनाबाट सत्ताको गोरो अनुहारका काला दागहरू कोट्याउँदै काव्यिक जोखिम उठाइरहेका कवि आदर्श मिलन प्रधानका कविताहरू तथाकथित र प्रायोजित सत्यहरूका विरूद्ध उभिएका पाउँछौं। सिक्किमका केही युवा कविहरूका यो विचलन मार्ग अत्यन्त साहसिक र सराहनीय मान्न सकिन्छ। वैचारिक हाँकसित उच्च वर्गीय, सत्तारूढ कार्यव्यवहार अनि सामाजिक हैकमसित भिड्न सर्जित ‘एक्टिभिष्ट अक्षर’का अधिकजसो कविता यही कित्ताका छन्। उनको ‘सत्ता’ शृङ्खलाका तीन कविता समाहित छन् कृतिमा। विश्लेषण यतैबाट शुरू गरूँ:

सत्ता-१

सत्ता पिडितलाई लाग्छ; ‘सत्ताले हेर्दा गिद्ध र हाइनाले हेरेजस्तो लाग्छ। सत्ता बोल्दा त्यसको सास रोगीको पाकेको कान र जँड्याहाको मुत जस्तो गनाउँछ। सत्ता हिँड्दा सिकारूले हाँकेको साइकल, जँड्याहाको गीत र आत्तिएको साँप जस्तै देखिन्छ। सत्ताको रङ् कालो र रातो हुँदाहुँदै पनि सबैले सेतो भनिँदा हेर्ने आम जनता रतन्धो वा रङ्गान्धो बनाइन्छ। सत्ता छेउबाट हिँड्दा युवतीको मासिकधर्मको काँचो फाल्चा रगतजस्तै ह्वास-ह्वास गनाउँछ। सत्ताको लिङ्ग सयमुखी छ जसले एकैपटकमा सयजनालाई बलात्कार गर्नसक्छ।’

अन्तमा सत्तालाई गर्विलो हाँक छ-

  • अब तयार बस ए सत्ता

बस एक खुड्किलो ओर्लिनलाई

तयार बस

बस एक खुड्किलो (झर्नलाई)।

कवितामा टिपिएका बिम्ब र प्रतिकले सत्ताको स्वरूपलाई स्पष्टै चिनाउँछ। सत्ताको कर्म र व्यवहारलाई नाङ्गोझार बनाएर उतारिएको छ यहाँ। कलात्मक कोरिएका यी शाब्दिक चित्रले कवि आदर्श मिलनको काव्यिक सिर्जन क्षमता र संवेगी उनको संवेदनको प्रवाह गतिलाई पनि प्रत्यक्ष दर्शाउँछ। यति मात्र होइन सत्तालाई आफ्नो विकृत अनुहार हेर्न र ओडिएको अडम्बरी मुखुण्डो उतार्न यतिको साहस देखाउने कवि सिक्किममा त के अन्यत्र पनि थोरै पाइन्छ।

सत्ता-२

आम जनताको दृष्टिमा सत्ताको स्वरूप कस्तो हुन्छ? यहाँ केही समकालीन बिम्बहरूमा उतारिएका छन्। भ्रष्टाचार र व्यभिचार सत्ताको धर्म जस्तै बनिसकेको यो वर्तमानको अनुहार हो यो कविता। सत्ताले शक्तिको बलमा जुन मनमानी गर्छ र आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक हरेक क्षेत्रमा आफ्नो प्रभाव र प्रभुत्व जमाउँदै अकुत सम्पत्ति सोहोर्ने कार्य गर्छ त्यसले समकालीन सत्ताको चरित्र स्पष्ट पार्छ।  जस्तोको कि ‘सत्ताको घैंटो चुहुने छ जसमा प्राकृतिक सम्पदा सर्लक्क पस्छ। बाहुला कुकुर होइन र पनि राल काडिबस्छ। दुई जिउकी स्त्री होइन र पनि  नअघाएको पेट असमान छ।’

अन्तमा केही लाखेस् सुझाव छ- ‘सत्ता मेनुका र उर्वसी हो जसले कस्तै तपस्वीको पनि ईञ्जार फुस्काउँछ, सत्ताको चौकिदार सत्ता होइन, सत्ता कसैको पेवा होइन, सत्ता होइन चौकिदार बद्लिरहन्छ’ आदि।

सत्ता-३

सत्ता-२ कै भाव निरन्त्तरता लिएको यो कविता कृतिका केही शक्तिशाली कवितामध्ये एक हो विचार, भाव र शिल्पगत हिसाबले। ‘ए सत्ताका चौकिदार भ्रममा नपरियोस्’बाट थालिएको यस कविताले सचेतनमा आउँदै गरेका आम मान्छेको समूहलाई सम्बोधन गरेको छ। जनताको आङमा चडेर देश-विदेश घुम्ने, मोज मज्जा गर्ने, जनतालाई अन्धो बनाउने, सिक्रीले कसेर राख्ने, जिब्रोमा काँटी ठोक्ने जस्ता कार्यमा लिप्त सत्ताको विरूद्धमा खुला चुनौती दिने यस कविताले कार्ल मार्क्सको कथनलाई स्मरण गराउँछ- “अनन्त आतङ्कभन्दा त आतङ्कपूर्ण अन्त्य नै वेस” (मार्क्स इंगेल्स सङ्कलित रचना भाग १ पृ.२२९)

‘ए सत्ताका चौकिदार

तिमी मेरो आङ्मा बस्यौ, घुम्यौ

अब छि: पनि मेरै आङमा गर्ने?

 

अफसोस, (अब) त्यो हुन दिन्नँ म।

प्रिय पाठकवृन्द! यति कविताको विश्लेषणबाट बुझिसक्नुभएको छ, मैले किन चामलिङको २५ वर्षे शासनको उल्लेख गरेको छु। आज त्यो सत्ता र सत्ताको चौकिदार झरिसकेको छ। तब के कवि आदर्श मिलनको कविताको सार्थकता सकियो त? तपाईँहरू भ्रममा नपर्नुहोला।

उनका अधिक जसो कविताहरूका चिन्ता, चिन्तन, विमर्श र भावभूमि सिक्किमकै वरिपरि छन्।सिक्किमकै माटोको सुवासना हरहर आउने यि कविताहरूले सिक्किमकै घाउ र यसका पीडालाई सम्बोधन गरको सत्य अकाट्य छ। ‘सुम्नी १ र २’, ‘महाशय १ र २’, ‘मालिक’, ‘सोम्फे’, ‘कुम्भकर्ण’, ‘आँखा र देश १ र २’ मा सिक्किमलाई पृष्ठभूमि पारी कविता सिर्जना गरिएका छन्। तब के कवि आदर्श मिलनका कविताले सिक्किमको काल र भौगोलिकता मात्र लेख्न चाहेका हुन् त? यसमा पनि तपाईँहरू भ्रममा नपर्नुहोला।

कविताको सार्वभौम र शाश्वतता यहीँबाट खुलिन्छ। कवितालाई भौगोलिक सीमित परिधिमा समेटेर राख्नसकिन्न। समयको निश्चित कोठरीमा थुनेर पनि राख्न सकिन्न जसरी कवितालाई सीमित वैचारिक वाद र सिद्धान्तको साङ्लोले बाँधेर राख्न सकिन्न। सिक्किमको सन्दर्भमा भोलिको दिनमा वर्तमान सत्ताले पनि विगतका सत्ताले झैं आफ्नो विकृत, भ्रष्ट र निकृष्ट आचरण शुरू गर्छ भने यी कविताहरूले फेरि यसरी नै आवाज उठाउनेछ। सङ्घर्षको नाद फुक्नेछ। आम जनताको यथार्थलाई यसरी नै सम्बोधन गर्नेछ।

यति मात्र होइन विश्वको हरेक राष्ट्र वा स्थानीय निकाय जसले सत्ताको शक्ति र सामर्थ्यलाई सर्वजनहितायको साटो अन्याय र अत्याचारमुखी व्यवहार अप्नाउन लाउँछ, त्यँहा-त्यँहा आदर्श मिलनका कविताहरू विरोध र प्रतिपक्षको हुँकार लिएर उभिएकै हुन्छ। कविताको राजनीति भनेकै यही हो कि यसले व्यक्ति, समाज, राष्ट्र, विचार, युग या कुनै पनि सापेक्षित सत्ताशक्तिको दुरूपयोगको खुलेआम विरोध गर्छ र त्यसको विस्थापनको निम्ति चुनौतिहरू स्वीकार गर्छ। ‘ एक्टिभिष्ट अक्षर’का ५५ वटा कवितामध्ये धेरै जसो  कविताहरूले कमाधिक यो चैतन्य बोकेकै पाउँछौं।

कृतिमा आर्थिक तथा वर्गीय शोषणमा परेका ‘हर्के’हरुका यथार्थ खुलाउने तीता र झरिला व्यङ्ग र परिहास (Irony)को अभिव्यक्ति यत्र-तत्र पाइन्छन्। उनी कवितामा एउटै र अजीर सत्य देखाएर ढुक्कले बस्न सक्दैनन्। यसैले उनी कवितीय शृङ्खला दोहोर्याउँछन्। फरक दृष्टि र अनुभूति मिसाएर निम्न वर्गीय वा किनारीकृत जनसमुदायका आहत अनुभूतिलाई कवितीय आकृति दिने काम कवितामा दिहोरिएका छन्। समाजमा व्याप्त यी असमानताको खाडल पुर्न कविको आक्रोस, गुणासो वा लाखेसहरू कुनै निक्कै चरम र उग्र देखिन्छ:

कोहीबेला मलाई

भकभकी उम्लेको समाजको

सुप खान मन लाग्छ

घरि पुटुस्स पकाइएको समाजको विचारको

चटनी साँध्न मनलाग्छ।

 

मादल बरू तालमा बज्छ

यो समाज बज्दैन।

-समाज।

‘एक्टिभिष्ट अक्षर’ देखाएको अर्को एक्टिभिजम् छ ‘जात विभेद’को मानसिकतामाथिको विरोध। सामाजिक वर्ण-विभेदलाई आधार मानी हिन्दु धर्मानुसार निम्न वर्गमा पर्ने ‘दलित’माथि गरिने पक्षपाती कर्म-व्यवहारमाथि उनले सोझो प्रहार गरेकाछन्। यो विरोधको एक्टिभिजम् आजको शिक्षित समुदायले केही हदसम्म स्वीकार गरे पनि हाम्रो भारतीय नेपाली समाजमा यसमाथि खुलेर सामाजिक सङ्कथन र व्यवहारिक चलन सहज बन्न सकिरहेको छैन। ईश्वर सिर्जित मानव सबै समान हुन् भन्ने मनोभावनाको आदर्श फलाक्न जति सजिलो छ त्यसलाई व्यवहारमा उतार्न सबैलाई सजिलो छैन्। तर कथा, उपन्यास, कवितामा त्यो सौन्दर्यसाधन छ।

  • मैले पसिना भिजाएर पिटेपछि बनिएको त्रिशुल

मन्दिरमा चढाउँछौ

मलाई तिम्रो मन्दिरमा छिर्न दिँदैनौ।

 

ओ ठूलो मान्छे

………………..

हाम्रो त  आगो र पानीले पनि उप्कँदैन

लाश जल्छ तर जात जल्दैन

तिम्रो त छुँदै जाने

छि: कस्तो जात।

  • दलित- १

यस्ता समाजिक विसङ्गतिका स्वरूप केलाउँदै जाँदा समकालीन संसारका साइबर र इलेक्ट्रोनिक सञ्चार माध्यमका दुरूपयोग अनि यसबाट सिर्जित सांस्कृतिक विघटन, मानवीय जैविकतामा आएका अवमूल्यन र मर्यादाको अधोगमन, ईश्वर, धर्म र यसका आस्थाहरूमा धर्मर आदि कृति ‘एक्टिभिष्ट अक्षर’का थप वैचारिक विस्तृति छन्। यथेष्ट रूपमा उत्तरआधुनिक वैचारिकतालाई पृष्ठपोषण गरेपनि अलिकति नोस्टालजिया वा अतीत मोह, शास्त्रीयता, रोमान्टिकता, सुललिता (हारमोनिक) आदि हुनुले यी कविताहरू भूमिकामा कवि मनोज बोगटीले तोकेजत्ति हस्तक्षेपी वा प्रतिहस्तक्षेपी पाउन सकिन्न। तर हाम्रो समाजको वैचारिक धरातलमा कवि आदर्श मिलनका कविताले केही न केही फरक स्वर र स्वाद दिने कुरामा दुई मत छैन।

कविको अर्को अवतार कस्तो हुन्छ र कविताहरूले कस्ता विचार र विमर्श दिने हुन् त्यसैमा निर्भर गर्छ कविको उठान, उडान वा विनिर्माण।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया