टिस्टा-रङ्गीतलाई बचाउन वर्णमाला परिवारले गर्दैछ, ‘त्रिवेणी कल्स’-कार्यक्रम

कालेबुङ, 2 अगस्त: टिस्टा रङ्गीतलाई बचाउनका निम्ति वर्णमाला परिवारले पाइला एडभेन्चर एण्ड वेल्फेयर सोसाइटीसित आबद्ध भएर ‘त्रिवेणी कल्स’-कार्यक्रम आयोजना गर्ने भएको छ। विशेष गरी शैक्षिक क्षेत्रमा काम गरिरहेको वर्णमाला परिवारले सङ्गीतको माध्मयबाट समाजको ताजा समस्याहरू पनि उठान गर्दै आएको छ। यसैले राष्ट्रिय राजमार्ग 10 क्षेत्रमा बढ्दो प्रदुषण एवं प्लास्टिक प्रयोगको कारण टिस्टा नदी प्रभावित भइरहेको बताउँदै टिस्टा-रङ्गीतलाई प्लास्टिक प्रदुशनदेखि बचाउने उद्देश्यले आगामी 14 अन 15 सितम्बरका दिन त्रिवेणीमा कार्यक्रम आयोजना गरिएको छ।

‘खोला-नालाहरूबाट जति प्लास्टिकहरू बगेर गइरहेको छ त्यो सबै टिस्टामा जाँदैछ अनि टिस्टाले बगाएर समुद्रमा पुऱ्याउँदैछ’-वर्णमाला परिवारका संस्थापक देवाशिष मोथेले भने, ‘प्लास्टिक प्रदुषणको कारण पानीमा बाँच्ने जीवहरूलाई जुनप्रकारको प्रभाव पारिरहेको छ त्यसको जिम्मेवार हामी पनि हौँ।’

कार्यक्रममा पहिलो दिन विभिन्न ठाउँबाट आएका सङ्घ-संस्थाहरूलाई लिएर त्रिवेणी परिसरको सर-सफाई, विमर्श एवं हाइवेका कलाकारहरूको प्रस्तुती रहनेछ। यसदिन चलचित्र भोइसेस अफ् टिस्टाको प्रदर्शनी अनि वर्णमाला परिवारले तयार पारेको टिस्टा सम्बन्धी गीतहरूको पनि प्रस्तुत गरिनेछ। यसरी नै दोस्रो दिन पर्यावरणसित आबद्ध सङ्घ-संस्थाहरूका प्रतिनिधिहरूले पर्यावरणको क्षेत्रमा गरेका कामहरू अनि यस अभियानलाई टेवा पुग्ने कुराहरूबारे चर्चा गर्नेछन्। यसदिन  पर्यावरण सम्बन्धी धेरैवटा व्याण्डहरूको प्रस्तुती, म्यूजिक भिडियो एवं फिल्म प्रदर्शनी लगायतका कार्यक्रम रहेको आयोजकबाट देवाशिष मोथेले जनाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया