सांसदलाई जातिको होइन, पार्टीको चिन्ता-विनय

कालेबुङ, 3 अगस्त: दार्जीलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बालाई जातिको भन्दा धेर भाजपा पार्टीको चिन्ता रहेको गोजममुमो अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्।

सासंद विष्टले आसाममा 1 लाख गोर्खाहरू एनआरसीबाट छुटेको कुरा अफवाह मात्र रहेको बताएका थिए भने विधायक निरज जिम्बाले पनि गोर्खालाई असर नपर्न बयान दिइरहेको अवस्थामाझ विमल गुरुङले भने सासंद अनि विधायक अनि सासंदहरूलाई वास्तविकता बुझ्न आसाम पठाउने वयान दिएपछि विनय तामाङले कटाक्ष गरेका हुन्।

‘विमल गुरुङको बयानले सासंद राजु विष्ट अनि निरज जिम्बाले दिएको बयानहरू झूटो रहेको प्रमाणित भएको छ’-तामाङले भने, ‘सासंद अनि विधायकलाई गोर्खाहरूको राष्ट्रिय सुरक्षा र चिह्नारीको भन्दा धेर भाजपा पार्टीको चिन्ता रहेको उनीहरूले दिनहुँ दिइरहेको झूटो बयानहरूले प्रमाणित गरिदिएको छ।’

सांसद विष्टले आसामका 1 लाख गोर्खाहरू एनआरसीबाट बाहिर भएको सत्य खबरलाई समेत अफवाह बताएर भाजपा सरकारको कर्तूत ढाकछोप गरिरहेको तामाङले आरोप लगाएका छन्।

‘हामी एनआरसीको विरोधमा कदापि छैनौँ तथापि एनआरसीको नाम गरेर आसामको भूमिबाट त्यहाँका 1 लाखभन्दा अधिक भूमिपुत्र गोर्खाहरूलाई शरणार्थी बनाउने जुन षड़यन्त्र भइरहेको छ हामी त्यसको खुलेर विरोध गर्दछौँ’-तामाङले भनेका छन्, ‘एनआरसीको दायराबाट ती गोर्खाहरूलाई उपेक्षित गरेर शरणार्थी बनाउनु पाउने छैन। आसामका सबै गोर्खालीहरू खाट्टी भारतीय नागरिक हुन् र आसाम राज्य निर्माणमा उनीहरूले आफ्नो रगत- पसीना खर्चिएका छन्। ती गोर्खाहरूलाई भाजपाले एनआरसीबाट बाहिर गरेर विदेशी बनाउछन् भने सारा गोर्खाहरू सड़कमा ओर्लेर यसको विरोध गर्नेछन्।’

उनले आसामका 1 लाख गोर्खाहरूलाई न्याय दिलाउन दार्जीलिङ पहाड़बाट आन्दोलन शुरू गर्ने अनि भारतका हरेक प्रान्तका गोर्खाहरूलाई लिएर सड़कमा ओर्लने चेताउनी पनि दिएका छन्। भाजपाले गोर्खाहरूलाई विदेशी ठहराउने गरिरहेका प्रयासको विरूद्धमा आफूहरू रहेको तामाङले बताएका छन्।

‘गोर्खाहरूले आफ्नो राष्ट्रिय सुरक्षा र चिह्नारीको निम्ति उनहरूलाई सासंद र विधायक  बनाएका हुन् र उनीहरू आफैले पनि गोर्खाहरूको सुरक्षा र चिह्नारीको निम्ति कार्य गर्छु भनेर भोट मागेका हुन्’-तामाङले अझ भनेका छन्, ‘आज गोर्खाहरूको सासंद र विधायक  बनेपछि गोर्खाहरूको पक्षमा नबोलेर भाजपा पार्टीको कार्यकर्ताजस्तो भएर बोल्नु दुर्भाग्यको कुरो हो।’

आसाममा झैं दार्जीलिङ पहाड़लगायत अन्य राज्यहरूमा पनि एनआरसीको नाम गरेर गोर्खाहरूलाई उच्छेद गर्ने भाजपाको उद्धेश्य रहेको भन्दा तामाङले सतर्क रहन आह्वान गरेका छन्।

‘आज आसामबाट 1 लाख गोर्खाहरूलाई शरणार्थी बनाउने भाजपाले भोलिको दिनमा दार्जीलिङ पहाड़ अनि देशका हरेक प्रान्तबाट गोर्खाहरूलाई विदेशी भन्दै खेदुवा लगाउन पछि हट्ने छैन’-तामाङले भनेका छन्, ‘यसैले समयमा नै भाजपाको उक्त नियत बुझेर आसामका 1 लाख गोर्खाहरूलाई सम्मानसहित उनीहरूको आफ्नो मातृभूमि आसामको माटोमा भारतीय नागरिक भएर बसोबासो गर्न पाउनुपर्छ भन्ने अभियानमा हामी सबै आजैदेखि एकजुट बनौं। आसामका ती 1 लाख गोर्खाहरू सुरक्षित रहेमात्र हाम्रो भविष्य पनि सुरक्षित रहनेछ। यो कुरा बुझेर सबै एकजुट बनौं।’

यसै एनआरसी विषयलाई लिएर पार्टीको उच्च स्तरीय वैठक भोलि 4 सेप्टेम्बरमा दार्जीलिङमा हुने अनि यस विषयमा विस्तृत चर्चा परिचर्चा गरिनेछ भएको छ।

एनआरसीलाई लिएर छलफल गर्न गोर्खा जनमुक्ति मोर्चाको एक प्रतिनिधि टोली पश्चिम बंगालका मुख्यमन्त्री ममता व्यानर्जीसित वातचित गर्न कोलकत्ता प्रस्थान गर्ने भएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया