सिक्किममा कमल फस्टाउदै, अध्यक्ष चौहानले भने छह महिनामा हामी एक्सनमा उत्रनेछौं

“आगामी 6 महिनापछि भने भाजपा आफ्नो एक्सनमा उत्रिनेछ र जनताको विकास तथा समग्र न्यायको निम्ति लागी पर्नेछ जनताले 6 महिना समय दिनुहोस हामी एक्सनमा उत्रने छौं।



गान्तोक, 03 सेप्टेम्बर। सिक्किमको वर्तमान राज्य सरकारलाई राष्ट्रिय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य एकाईका अध्यक्ष डीबी चौहानले केही सुझाउ सँगसँगै चेताउनी दिएका छन्।  पश्चिम सिक्किमको गेजिङ सामुदायिक भवनमा आयोजित भाजपाको  एक सांगठनीक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, सिक्किममा आहिले सत्ता मात्र परिवर्तन भएको छ,व्यवस्था परिवर्तन भएको छैन्, जुन व्यवस्था परिवर्तनको नारा लिएर वर्तमान सत्तारूढ दल एसकेएम सत्तामा आएको थियो त्यसको ठीक विपरित काम गरिरहेको छ। जुन काम गर्दिनँ भनेका थिए त्यही काम एसकेएम सरकारले गरिरहेको छ। कर्मचारीहरूलाई स्थान्तरण नगर्ने, भिक्टिमाइज नगर्ने एसकेएमको प्रचार थियो तर अहिले उनीहरूले कर्मचारीहरूलाई स्थान्तरण र भिक्टिमाइज गर्दैछ चाँडै बन्द हुनुपर्ने उनले माग गरे। यसैगरि पूर्वको एसडीएफ सरकारले एक परिवार एक नोकरी नीति मार्फत जतिलाई रोजगार दिएका  थिए उनीहरूलाई नोकरीबाट निकाल्नु हुँदैन एसकेएमले बाचा गरे अनुसार उनीहरूको नोकरी अब स्थायी गर्नुपर्छ। एसकेएमले एक सय दिनमा नोकरी स्थायी गर्ने बाचा गरेर सत्तामा आएको हो त्यो बाचा पुरा गरेको हुनुपर्छ। यसैगरि उनले पञ्चायती राज व्यवस्थामा पनि वर्तमान सरकारले दखल नदिने पनि चेताउनी दिए भने विपक्षीका विधायकहरूलाई देशको अन्य प्रान्तजस्तै समष्टि विकास कोष उपलब्ध गराउनु पर्ने तथा विधायकहरूको अनुमोदन र रेकोमेन्डेशनलाई नचल्ने भन्दै वर्तमान सत्तारूढ एसकेएम पार्टीले जनादेश प्राप्त विधायकहरूको साटो प्रभारी मनोनित गर्ने प्रथा तुरन्तै बन्द गर्नु पर्ने तथा यसबारेमा केन्द्र सरकार र भाजपा केन्द्रीय समितिलाई समेत अवगत गराउने  अध्यक्ष चौहानले बताए। यसैगरि उनले आउँदो 11 सितम्बरसम्म 1 लाख भाजपा सदस्य पुऱ्याउने तथा अहिलेसम्म 60 हजारले सदस्यता ग्रहण गरिसकेको बताए। यसैगरि आगामी 6 महिनापछि भने भाजपा आफ्नो एक्सनमा उत्रिने र जनताको विकास तथा समग्र न्यायको निम्ति लागी पर्ने बताउँदै उपस्थित जनतालाई 6 महिना समय दिनुहोस हामी एक्सनमा उत्रने छौं भनि बचन दिए।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौहानले भारतीय जनता पार्टीमा नयाँ सदस्यहरूलाई स्वागत जनाउँदै अब उसो सबैको साथ, सबैको विकास, सबैको विश्वासको नारा लिएर सिक्किमको विकासमा अघि बढ्नुपर्ने आह्वान गरे। सिक्किममा भारतीय जनता पार्टीको सांगठनिक विस्तार तीव्र रूपमा भइरहेको अवगत गराउँदै सिक्किमवासीले सबै भारतीय एक हौं भन्ने भावनाका साथ भाजपालाई समर्थन गरिरहेको बताए। यद्यपि कतिपयले भाजपालाई बाहिरको पार्टी भन्दै आरोप लगाउने गरेको कुरा उल्लेख गर्दै उनले सिक्किम भारतको 22औं राज्य हो अनि सबै सिक्किमवासी भारतीय हुन् भने भारतीय जनता पार्टी चैं कसरी बाहिरको भयो? भनी प्रश्न तेर्साएका छन्।

आफ्नो सम्बोधनमा पार्टी अध्यक्षले हालै एसडीएफ पार्टी त्यागेर 10 जना विधायकहरू भारतीय जनता पार्टीमा सामेल भएको विषयमा विभिन्न पक्षबाट भइरहेको विरोधको जवाब दिँदै प्रजातन्त्रमा जनता अनि नेताले आफ्नो मनले चाहेको कुनै पनि राजनीतिक दललाई समर्थन जनाउने अथवा सामेल हुन पाउने प्रावधान रहेको र जिन्दगीभरि नै एउटै पार्टीलाई समर्थन गर्नुपर्ने बाध्यता र प्रथा चीन जस्तो एकतन्त्रे अनि कम्युनिष्ट शासनमा मात्र रहेको बताए। 10 जना विधायकले आफ्नो व्यक्तिगत स्वार्थको निम्ति नभएर सिक्किम र सिक्किमेको हितमा भाजपामा सामेल भएको अध्यक्ष चौहानले बताए।

अन्तर्गत आयोजित  समारोहमा मानेबुङ देन्ताम क्षेत्रका विधायक एनके सुब्बा, रिञ्चेबुङ क्षेत्रका विधायक केएस लेप्चा, पार्टी महासचिव एसबी कार्कीलगायतका पार्टी पदाधिकारीहरू तथा ठूलो संख्यामा पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पश्चिम सिक्किमका 7 वटा समष्टिबाट विभिन्न राजनैतिक दल त्यागेर 313 परिवार भारतीय जनता पार्टीमा सामेल भएर सदस्यता ग्रहण गरे। पार्टी अध्यक्ष तथा विधायकहरूले सबैलाई खदा लगाएर पार्टीमा स्वागत जनाए।

आफ्नो सम्बोधनमा अध्यक्ष डीबी चौहानले केन्द्र सरकारद्वारा 130 वटा विभिन्न योजनाहरू लागू गरेको जानकारी दिँदै भाजपाले आगामी दिनमा विधायक अनि पञ्चायतहरूसँग मिलेर सबै योजनाहरूको लाभ तृणमूल स्तरका जनतासमक्ष पुर्‍याउने  बताए। यसको निम्ति भाजपा सिक्किम पूर्ण रूपमा एक्सनमा आउने बताउँदै आगामी दिनमा राज्यका हरेक बुथदेखि लिएर देशको संसदसम्म सक्रिय रूपमा कार्य गर्ने उनले बताए। विशेष केन्द्रिय योजनाहरूसँग सिक्किमे जनतालाई सोझै जोड़ेर उनीहरूलाई लाभ पुर्‍याउने भाजपा सिक्किम प्रदेशले लक्ष्य लिएको उनले बताए।

केन्द्रिय योजनाहरूलाई जनतासमक्ष पुर्‍याउनुमा पञ्चायतहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै राज्यमा संवैधानिक मान्यताप्राप्त निर्वाचित पञ्चायतहरूले स्वतन्त्र ढंगमा काम गर्न पाउनुपर्ने अध्यक्ष चौहानले बताए। राज्यका कतिपय ठाउँमा पञ्चायतहरूको अधिकारमाथि राजनीतिक हस्तक्षेप भइरहेको घटनाहरू अघि आइरहेका छन्, यो यथाशीघ्र रोकिनुपर्छ, अध्यक्ष चौहानले भने।

समारोहलाई सम्बोधन गर्दै मानेबुङ-देन्तामका विधायक एनके सुब्बाले भने, व्यवस्था परिवर्तनको नारा लिएर सत्तामा पुगेको एसकेएम सरकारले 100 दिनमा पूरा गर्छु भनेर दिएको वचनहरू पूरा गर्न असफल बनेको छ। एसकेएम पार्टीले थुप्रै घोषणाहरू गरेर सरकारमा पुगेको र अहिले 100 दिनसम्म केवल कर्मचारीहरूलाई स्थानान्तरण गर्ने कार्य मात्र गरेको उनको भनाई थियो। यसपल्टको चुनाउमा आफूहरूलाई जनताले विपक्षमा राखेको बताउँदै जनताको काम सही ढंगमा गर्नको निम्ति भारतीय जनता पार्टीमा सामेल भएको विधायक एनके सुब्बाले जानकारी दिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया