
कालेबुङ, 21 सितम्बर: मन्त्री गौतम देवको बयान विरूद्ध गोजमुमो विमल गुरुङपक्षले टालेको पोष्टर केही घण्टाभित्र नै च्यातियो। दिउँसो 11.30 बजीतिर गोजमुमो युवा मोर्चा अनि नारी मोर्चाले कालेबुङको डम्बरचोकमा टालेको पोष्टर एक घण्टा नबित्दै च्यातिएको अवस्थामा थियो।
पोष्टरमा लेखिएको थियो, ‘ हाम्रो छातिको किपटमा टेकेर हामीलाई विदेशी भनी औँला उठाउने बङ्गालका मन्त्री गौतम देवको बयानलाई बहिष्कार गरौँ।’
डम्बरचोक परिसरमा टालिएका पोष्टरहरूमा अझ भनिएको थियो, ‘पिठ्यूँभरि काँडेतारको छाप बोकेर बङ्गलादेशबाट रातारात हाम्रो भूमिमा घुसपैठ गरेका मन्त्री गौतम देव तिम्रो आफ्नो किपट देखाउ।’
पोष्टर टालपेछि नारी मोर्चा नेतृ ननिता गौतमले एकजना मन्त्री जस्तो गरीमाममय पदमा बसेर गौतम देवले ‘एनआरसी लागु भए पहाडमा बस्ने मानिस कोही नहुने’-भन्दै दिएको वक्तव्यले दुःखित तुल्याएको बताइन्।
‘गौतम देवले यस्तो वक्तव्य दिन सुहाउँदैन’-उनले भनिन्, ‘हामीलाई होच्याउने अनि आगो लगाउने काम गर्दैछ, जसको हामी घोर विरोध गर्छौँ।’
बङ्गालको ‘फुटाउ अनि राज गर’-नीतिको विरोध गरेर जबसम्म एकता आउँदैन तबसम्म गोर्खाहरूलाई बारम्बार यस्तो लाञ्छनाले पीडित तुल्याइरहने उनले बताइन्।
यसै प्रसङ्गमा उनले एनआरसीलाई लिएर मोर्चाको विरोध नरहेको तर्क दिँदै एनआरसीको कारण कोही बाहिरिन नपर्न दावी गरेपनि आफूले आफ्नो कागजपत्र भने ठिक गरेर राख्न अह्राइन्।