एसकेएमले शुरु गऱ्यो उप चुनाउको प्रचार अभियान रूम्तेक-मार्तमबाट

गान्तोक, 22 सितम्बर। भारतको चुनाउ आयोगले हिजमात्र  सिक्किमको तीनवटा विधानसभा समष्टिमा उप-चुनाउको मिति घोषणा गर्नसाथै आजदेखि राज्यको सत्तारूढ़ पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले रूम्तेक-मार्तम विधानसभा समष्टिको साङ बजारदेखि चुनाउ प्रचार अभियान शुरु गर्‍यो।

एसकेएम चुनाउ प्रचार प्रसार समितिका प्रभारी एवं मन्त्री सोनाम लामा, मुख्यमन्त्रीका राजनैतिक सचिव एवं एसकेएम प्रवक्ता ज्याकब खालिङको नेतृत्वमा चुनाउ प्रचार अभियान शुरु गरियो। 22 सेप्टेम्बर धार्मिक रूपले राम्रो मिति रहेको अगावै रिम्पोछेबाट जानकारी प्राप्त गरेपछि एसकेएमले यसै मितिदेखि चुनाउ प्रचार प्रसार अभियान शुरु गर्ने सोंच बनाएको जानकारी चुनाउ प्रचार प्रसार प्रभारी एवं मन्त्री सोनाम लामाले जानकारी गराए। यसमा अझै चुनाउ आयोगले हिजो मात्र उप-चुनाउको मिति घोषणा गर्दा झनै राम्रो भएको तिनले मन्तव्य व्यक्त गरे।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभारी लामाले अन्यायविरुद्ध कठोरतापूर्वक संघर्ष गर्ने अनि अन्याय गर्नेहरूलाई नछोड्ने दृढ़ता प्रकट गरे। 2014-को स्मरण गर्दै तिनले थपे, 10-देखि 3 अनि तीनबाट 2 जनामात्र विधायक बनाउँदा पनि हामी आफ्नो सिद्धान्तबाट पछि हटेनौं। एसकेएमका कार्यकर्ताहरूमाथि पनि सिक्किमे देवी-देउताको आशीर्वाद रहेको हुँदा आज एसकेएमले अन्यायमाथि जीत हासिल गरेको छ। जनतालाई तर्साउने पूर्व सरकारका नेतृत्वहरू आज आफै तर्सिरहेको प्रभारी लामाले जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम प्रवक्ता ज्याकब खालिङले वर्तमान एसकेएम सरकारलाई अझ दह्रिलो बनाउन यी तीनवटा समष्टिका जनताले अवसर पाएको बताए। हाल 18 विधायक सरकारको पक्षमा रहेको उल्लेख गर्दै प्रवक्ता खालिङले जनहितमा कतिपय कठोर पहल गर्न सरकार अझ दह्रिलो बनाउन आवश्यक रहेको स्पष्ट पारे। गत चुनाउमा पनि यस समष्टिबाट एसकेएमले ईभीएममा जीत हासिल गरेको स्मरण गर्दै प्रवक्ता खालिङले भने, ईभीएममा जीत हासिल गरेपनि ब्यालेट पेपर खोल्दा हामी हार्‍यौं। पूर्व सरकारले ब्यालेट पेपरमा कसलाई भोट हालेको छ त्यो स्पष्ट थाहा हुन्छ भनेर मानिसहरूलाई त्रसित बनाएको थियो। सिरियल नम्बरबाट थाहा हुन्छ र सरकारमा आएपछि हामी ती कर्मचारीहरूलाई प्रशासनिक रूपमा यातना दिन्छौं भन्ने त्रास फैलाएको कारण कर्मचारीहरूले पूर्व सरकारको पार्टीलाई भोट दिए। तर ती कर्मचारीहरूको परिवारले पनि एसकेएमलाई नै भोट दिएको थियो। त्यो हामीलाई पूर्ण थाहा छ। यसर्थ अब पुनः एकपल्ट मार्तम रूम्तेकका जनताले अवसर पाएको छ।

पूर्व सरकारले काम गर्नु नसक्दा केन्द्रले पैसा दिएको छैन यसर्थ हामी केही गर्न सकेका छैनौं भन्ने बयानलाई उल्लेख गर्दै प्रवक्ता खालिङले एसकेएम सरकारले यसो नभन्ने प्रतिबद्धता व्यक्त गरे। वर्तमान सरकार सत्तामा आउँदा सिक्किमलाई 16 हजार करोड़भन्दा अधिक ऋण लागेको श्वेत पत्रले स्पष्ट गरिसकेको उल्लेख गर्दै तिनले यस्तो अवस्थाबाट पनि सिक्किमलाई कसरी विकसित बनाउनपर्छ भन्ने पहल शुरु गरिसकेको जानकारी गराए। यी सबै कार्य गर्नको निम्ति पूर्व सरकारले भीआईपीमाथि असीमित गर्ने खर्च कटौती गरेर जनहितमा लगाउन थालेका छौं भने।

आज यसै कार्यक्रमबाट विभिन्न पार्टीका 6 जना कार्यकर्ताहरू पार्टी त्याग्दै एसकेएममा सामेल भए। पार्टीमा सामेल हुनेहरू एसडीएफका पूर्व जिल्ला पञ्चायत श्रीमती छुमसाङ लासुम्पा, एसएसपीका पूर्व संस्थापक सदस्य एवं महासचिव एटी भोटिया, सिहिरापका पूर्व प्रचार-प्रसार सचिव भुपाल सुब्बा, ग्याल्छेन भोटिया, पासङ नर्बु अनि पेमा वाङ्चुक रहेका छन्।

पार्टीमा सामेल नयाँ कार्यकर्ताहरूलाई एक कार्यक्रममाझ स्वागत जनाइयो। कार्यक्रममा मन्त्री सोनाम लामा, मुख्यमन्त्रीका राजनैतिक सचिव ज्याकब खालिङ, विधायक एम प्रसाद शर्मा, मुख्यमन्त्रीका प्रशासनिक सल्लाहकार एमपी सुब्बा, एसकेएम नेतृत्ववर्ग डुपपिञ्छो भोटिया, काडो छिरिङ भोटिया, विक्रम गुरुङ अनि सोनाम भेञ्जोङपा उपस्थित रहेको महासचिव प्रचार प्रसार बीपी भण्डारीले प्रेस बयान जारी गरेर बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया