लाइभ कन्सर्टबिच यौवन मोथे एन्ड दी एस्टेरिक्सको दोस्रो एल्बम् “दुई दिने जीवन” सार्वजनिक

कालेबुङ, 23 सेप्टेम्बर : साङ्गीतिक ब्याण्ड यौवन मोथे एन्ड दी एस्टेरिक्सको दोस्त्रो गीति एल्बम् “दुई दिने जीवन” सार्वजनिक गरियो। आइतबार कालेबुङको रामकृष्ण रङ्गमञ्च (टाउन हल) –मा सम्पन्न लाइभ कन्सर्टबिच ब्याण्डको दोस्त्रो सफलता दुई दिने जीवन मुख्य अतिथि अनि अन्य अतिथिहरूका बाहुलीबाट सार्वजनिक गरियो। कार्यक्रममा नेपाली चलचित्र आप्पाका निर्माता तथा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य रुदेन लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए।

उनीसित कालेबुङ गोर्खा दुख निवारक सम्मेलनका अध्यक्ष उदय कुमार कुमाई, गोजमुमो कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनाल, साङ्गठनिक सचिव विनय घिसिङ, नारी मोर्चा अध्यक्ष कल्पना तामाङ, 33 नम्बर समष्टि सयोजक अनुप छेत्री, हिल तणमूल कालेबुङ जिल्ला युथ कोर्डिनेटर सुमन गुरुङ, चालक महासङ्घ अध्यक्ष महेन्द्र गुरुङ, टू वोल्हर्स एसोसिएसन अध्यक्ष निमा भोटिया, हिमालय दर्पण कालेबुङ ब्युरो चिफ अजय अग्रवाल, पत्रकार रूद्र कार्की आदि विशेष रूपले उपस्थित थिए।

यौवन मोथे एन्ड दी एस्टेरिक्सको पहिलो एल्बम् मायालु –को सफलतापछि ब्याण्डको प्रयासमा तयार पारिएको यस दोस्त्रो एल्बम् दुई दिने जीवनमा 7–वटा गीत समावेश गरिएको छ भने यस सफलतालाई लिएर ब्यान्डका गायक यौवन मोथेले हर्ष व्यक्त पनि गरे। शिक्षक सुमन गजमेरद्वारा सञ्चालित कार्यक्रमबिच ब्यान्ड र ब्यान्डको सङ्घर्षलाई लिएर तयार पारिएको भिडियो वृतचित्रमार्फत देखाइएको थियो। एल्बम् सार्वजनिकिकरणपछि ब्यान्डले आफ्नो लाइभ प्रस्तुती पनि दिएका थिए जहाँ मानिसहरूको व्यापक उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया