धारा 371 एफ सिक्किमलाई भारतसँग जोड्ने सेतु हो, यसले भारतको अखण्डतालाई अझ बलियो बनाएको छ, यसलाई कुनै खतरा छैन –एसबी कार्की

नाम्ची, 23 सितम्बर। आज दक्षिण सिक्किमको मुख्यालय नाम्चीमा भारतीय जनता पार्टीको एउटा समन्वय सभा सम्पन्न भयो। भाजपा प्रदेश महामन्त्री एसबी कार्कीको अध्यक्षतामा सम्पन्न समन्वय सभामा विधायकद्वय श्रीमती राजकुमारी थापा अनि श्रीमती फरवन्ती तामाङ, नाम्चीका युवा नेता अर्जुन राईलगायत अन्य वरिष्ठ एवं सक्रिय कार्यकर्तागण अनि आम जनताको उपस्थिति रहेको थियो। यस अवसरमा एसडीएफ पार्टीलाई त्यागेर 125 परिवार भारतीय जनता पार्टीमा सामेल भएका छन्। पार्टी पदाधिकारी अनि विधायकगणले नयाँ कार्यकर्ताहरूलाई खदा लगाएर पार्टीमा सामेल गराएका छन्। सभामा आगामी 21 अक्टोबरमा हुनगइरहेको उपचुनाउलाई लिएर व्यापक चर्चा-परिचर्चा भएको छ।

सभालाई सम्बोधन गर्दै विधायिका श्रीमती राजकुमारी थापाले भारतीय जनता पार्टीविरूद्ध राज्यमा व्यापक दुष्प्रचार भइरहेको बताइन्। भाजपाको सरकार आएको खण्डमा अल्पसंख्यकहरूमाथि अत्याचार हुनेछ भनी व्यापक दुष्प्रचार गरिएको कुरालाई झिक्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा भाजपा सरकार सबैको साथ, सबैको विकासको नारालाई कार्यरूपमा उतारेर सबैको विश्वास जित्न सफल बनेको अवगत गराइन्। यसै गरी सिक्किममा भाजपा सरकार आएको खण्डमा सबै समुदायलाई समेटेर काम गर्ने पनि उनले बताइन्। यसै गरी सिक्किमको निम्ति विशेष प्रावधान 371 एफ बारे फैलाइएको अफवाहहरूको खण्डन गर्दै 371 एफलाई कुनै खतरा नरहेको स्पष्ट पारेकी छन्। यसबारे गृहमन्त्री अमित शाह अनि भाजपा राष्ट्रिय महामन्त्री राम माधवले पनि अगावै सिक्किमवासीलाई स्पष्ट रूपमा यसको सुरक्षा गर्ने वचन दिएको विधायिका थापाले बताइन्।

यसै गरी सभालाई सम्बोधन गर्दै भाजपा प्रदेश महामन्त्री एसबी कार्कीले सिक्किममा भाजपा सरकार बनेको खण्डमा विगत 25 वर्षमा जति विकास भएको छ त्यो भन्दा अधिक विकास आगामी 5 वर्षभित्रमा हुने उपस्थित जनतालाई भरोसा दिलाए। यसै गरी 371 एफको सुरक्षामाथि स्पष्ट बोल्दै यो सिक्किमलाई भारतसँग जोड्ने एउटा सेतुको रूपमा रहेको र यसले भारतको अखण्डतालाई अझै बलियो बनाएको जानकारी दिए।

सभालाई युवा नेता अर्जुन राईलगायत अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए। सभापछि भर्खरै भाजपामा सामेल हुनुभएका नाम्ची नगर निगगमका सदस्यगण, स्थानीय कार्यकर्ता तथा नेताहरूको घरमा भाजपाको झण्डा फहराउने कार्य सम्पन्न भयो भनि प्रवक्ता तथा विधायक श्रीमती फरवन्ती तामाङले जानकारी दिएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया