प्रशासनलाई शिखण्डी बनाएर एसकेएमले भयानक हिंसा गर्दैछः एसडीएफ

गान्तोक, 15 अक्टोबर। सिक्किमको प्रमुख विपक्षी दल एसडीएफले अहिले राज्यमा भइरहेको तीनवटा निर्वाचन क्षेत्रको उप चुनाउमा सत्तारूढ एसकेएम पार्टीले प्रशासनलाई शिखण्डीको रूपमा प्रयोग गर्दै भयानक हिंसा र आतङ्क मच्चाइरहेको बताउँदै भारतीय चुनाउ आयोग, प्रधानमन्त्री, गृहमन्त्रीलाई सिक्किमको उपचुना शान्तिपूर्ण गर्ने गुहार लगाएको छ। मुख्यतः दक्षिण सिक्किमको पोकलोक कामराङको विभिन्न ठाउँहरूमा विपक्षी दल एसडीएफका अध्यक्ष लगायत कार्यकर्ताहरूमाथि एसकेएम समर्थकहरूले हिंसात्मक आक्रमण गरेर चुनाउ प्रचारमा रोक लगाइरहेको आरोप लगाएको छ। यस बारेमा पत्रकार सम्मेलन आयोजन गरेर एसडीएफका प्रवक्ता अम्बर राई, कृष्ण खरेल र अशीत राईले उपचुनाउलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन केन्द्र सरकार,चुनाउ आयोगले सुरक्षा र व्यवस्था सुनिश्चित गर्नुपर्ने माग गरे। यसैगरि प्रवक्ता अम्बर राईले आइतबार राति दक्षिण सिक्किमको फालिडाँडामा एस़डीएफका पश्चिम जिल्ला प्रभारी तथा उपाध्यक्ष शेरहाङ सुब्बालाई पुलिसको आडमा लागेर एसकेएम समर्थकहरूले रातभरि सास्ति दिएको तथा एसडीएफका अधिवक्ताहरूको वाहनमा पनि आक्रमण गरेको बताउँदै अहिले एसकेएम पार्टी पूर्ण रूपमा प्रशासनलाई शिखण्डी बनाएर पुलिसबलको पछि लागेर आतङ्क मच्चाइरहेको बताए। यसैगरि पार्टीका अध्यक्ष पवन चामलिङको वाहनमा आक्रमण र अन्य धेरै कार्यकर्ताहरूलाई सोझो रूपमा आतङ्कित गर्ने आक्रमण भइरहेको अनि त्यसबारे प्रशासनले पनि सत्तारूढ पार्टीकै काम गरिरहेको आरोप लगाउँदै यसको जवाफ पुलिस अधिकारीहरूले दिनु पर्ने माग गरे।
य़सैगरि अर्का प्रवक्ता कृष्ण खरेलले सिक्किममा अहिले भइरहेको हिंसाले देश र विश्वमा शान्तिपूर्ण सिक्किमको नामलाई खराब गर्ने तथा प्रजातन्त्रको नाममा दाग लगाउने काम गरिरहेको बताए। उनले सोझै भने यदी यस्तै तानाशाह नीति र अप्रजातान्त्रिक अवैध क्रियाकलाप गरेर प्रजातन्त्रको धुलो उडाउने हो भने एसकेएम पार्टीले चुनाउलाई नै समाप्त गरेर आफैलाई एकतन्त्री घोषणा गर्नुपर्छ। उनले सिक्किममा भइरहेको उपचुनाउबारे एसडीएफ दौडमा नै नरहेको भाजपा अध्यक्ष डीबी चौहानको मन्तव्य प्रति प्रतिकार गर्दै भने एसडीएफले दौडमा छ भने हाँक दिँदैन किन भने यो प्रजातान्त्रीक पद्धतिमा जनताले जनमत दिएर दौड जित्ने नजित्ने तय गर्छ त्यसैले आउँदो दिनमा एसडीएफ कहाँ हुन्छ जनताले तय गर्छ घोषणा गरेर हुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया