धारा371 एफ-बारे मन्त्री रिजिजुले दिएको भरोसाले भ्रम र अफवाहको राजनीति गर्नेहरूको मुखमा बुचो लागेको छः भाजपा

गान्तोक, 19 अक्टोबर। सिक्किमका तीनवटा निर्वाचन क्षेत्रको उपचुनाउलाई लिएर अहिले प्रचार अभियान अन्तिम चरणमा आइपुगेको छ। भारतीय जनता पार्टीले यस उपचुनाउमा दुईवटा निर्वाचन क्षेत्र 24 मार्ताम-रूम्तेक अनि 27 गान्तोक निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेद्वारहरू खड़ा गरेको छ जसलाई राज्यको सत्तारूढ़ पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले समर्थन गरिरहेको छ। अहिले दुवै क्षेत्रमा एसकेएम समर्थित भाजपा उम्मेद्वारहरू सोनाम छिरिङ भेन्चुङ्पा अनि वाईटी लेप्चा आफ्नो जीत सुनिश्चित गर्न जनताको घर-दैलोमा प्रचार अभियान चलाइरहेका छन्। यसै गरी दक्षिण सिक्किमको पोकलोक कामराङबाट राज्यका मुख्यमन्त्री पीएस तामाङ स्वयं उपचुनाउमा भाजपा समर्थित एसकेएम उम्मेद्वारको रूपमा मैदानमा छन्।

सिक्किमको सर्वाङ्गीण विकास, केन्द्रसमक्ष थाँतीमा रहेका राज्यका राजनैतिक मुद्दाहरूको छिनोफानो, पुराना कानूनहरूको पूर्ण सुरक्षाको वचन लिएर जनतासमक्ष गइरहेको भारतीय जनता पार्टीलाई अहिले अपार जनसमर्थन प्राप्त भइरहेको छ। चुनाउ प्रचार अवधिमा विपक्षी दल तथा स्वतन्त्र उम्मेद्वारहरूले भारतीय जनता पार्टीलाई होचो बनाउने धेरै प्रयासहरू भए तापनि भाजपाले जनतासमक्ष सधैं सत्य तथ्य पस्कँदै आएको छ। हिजो मात्र केन्द्रिय अल्पसंख्यक मामिलाका राज्यमन्त्री श्री किरेन रिजिजुले भाजपा-एसकेएम गठबन्धनको पक्षमा प्रचार गर्दै जनतामाझ फैलाइएका अफवाह अनि भ्रमहरूलाई धेरै हदसम्म निर्मूल पार्ने कार्य गरेका छन्। हिजोको ऐतिहासिक जनसभाबाट सिक्किमको निम्ति केन्द्रिय राज्यमन्त्रीले जति आश्वासन र भरोसा दिलाउनु भएको छ भविष्यमा समृद्ध अनि विकसित सिक्किम निर्माणको निम्ति एउटा माइलखुट्टी साबित हुनेछ।

यसै गरी धारा 371 एफ बारे विपक्षी तथा स्वतन्त्र उम्मेद्वारहरूले जनतामाझ जति पनि भ्रम र अफवाहहरू फैलाएका छन्, त्यसलाई पनि केन्द्रिय मन्त्री रिजिजु स्पष्ट पारेका छन्छ। उनले भाजपा-एसकेएम गठबन्धनले धारा 371 एफ लाई अझ बलियो हुने जुन भरोसा दिलाउनु भएको छ त्यसले सिक्किमे जनतामाझ नयाँ विश्वास कायम गरेको छ भने भ्रम र अफवाहको भरमा राजनीति गर्नेहरूको मुखमा बुचो लागेको छ।

भारतीय जनता पार्टी अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गठबन्धनलाई अहिले जनताले सहर्ष स्वीकार गरेका छन् भने आगामी 21 अक्टोबरमा यसलाई जनताले आफ्नो मोहर लगाउनेछन् अनि सिक्किमको विकास र सुनौलो सिक्किम निर्माणको निम्ति नयाँ अध्याय लेख्नेछन्। यसका साथै भ्रम र अफवाहको भरमा चुनाउको समय टाइमपास राजनीति गर्नेहरूको राजनीति पनि पूर्ण रूपले समाप्त हुनेछ भन्ने मन्तव्य महासचिव एसबी कार्कीले जारी गरेको प्रेस बयानमा उल्लेख छ।  

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया