कालेबुङमा युवा कविता उत्सव: जलढकाकी स्मिता प्रथम, सुधा दोस्रो अनि आशिष बने तेस्रो

कालेबुङ, 21 नोभेम्बर: कालेबुङमा सम्पन्न भएको युवा कविता उत्सव ‘आहा कस्तो राम्रो कविता’-जलढकाकी स्मिता सोताङले जितिन्। प्रतियोगितामा सहभागी बनेका 96 जना कविहरूलाई पछि पार्दै स्मिता सोताङको कविता ‘रगतको गर्व’-ले प्रथम स्थान ओगट्न सफल बनेको हो।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सौजन्य अनि साङ्ग्रिला रिडर्स क्लबको आयोजनामामा युवा कविता उत्सव ‘आहा कस्तो राम्रो कविता’-सम्पन्न भएको थियो। यस प्रतियोगिताका निम्ति आएका 96 वटा कविताहरूबाट ज्यूरीले 15 वटा उत्कृष्ट कविताहरू चयन गरेका थिए। यिनै 15 जना कविहरूमाझ  आईतबार रकभेल एकोडेमीको हलमा प्रतियोगिता सम्पन्न भएको थियो।

चलचित्र निर्माता रुदेन लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि मोहन ठकुरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने निर्णायकहरूमा कवि जय क्याक्टस, उदय थुलुङ अनि सुरेन्द्र थिङ रहेका थिए। प्रतियोगितामा कविताका कन्टेन्ट अनि वाचन दुवैका हिसाबमा उत्कृष्ट कविताका रूपमा जलढका परेङ निवासी स्मिता सोताङ प्रथम, कालेबुङ गैरीगाउँ बोङ्बस्ती निवासी सुधा छेत्री दोस्रो अनि चारखोल कालेबुङ निवासी आशिष लिम्बु तेस्रो बनेका छन्।

स्मिताले फेमिनिज्ममाथि आधारित रगतको गर्व, सुधा छेत्रीले समयसमायिक समस्यामाथि आधारित ‘भुइँचालो’ अनि आशिष लिम्बुले ग्रामीण बिम्बहरूसहितका ग्रामीण समस्याहरू बोकेको कविता  ‘तेरो काँचो सम्झनाले’ सुनाएका थिए।

विजय प्रतियोगीमध्ये प्रथमलाई नगद 30 हजार रुपियाँ, दोस्रोलाई 20 हजार अनि तेस्रोलाई 10 हजार रुपियाँ, स्मृति चिह्न एवं पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा छानिएका 15 जना कविहरूका कविता सङग्रह पनि यसैदिन विमोचन गरियो। कार्यक्रमका मुख्य अतिथि मोहन ठकुरीले यस प्रतियोगिता मार्फत नै आफूले आजका युवा कविहरूलाई सुन्ने अवसर पाएको भन्दै आजका कविहरूमा धेरै सम्भावना रहेको बताए।

आयोजकबाट कवि मनोज बोगटीले कार्यक्रम सञ्चालन गर्दै साहित्यको निम्ति जीटीएले यसरी सहयोग गरेकोमा आभार प्रकट गरे। यसप्रकारको कार्यक्रमहरू आयोजना गर्दा युवा कविहरूहरूले लेखनको क्षेत्रमा अवसर पाउने विश्वास बोकेका कवि बोगटीले आजका युवा पुस्तालाई लेखनतिर अग्रसर गराउन सबैपक्षबाट अवसर प्रदान गरिनपर्ने आवश्यकता रहेको बताए।

सूचना एवं सांस्कृतिक विभागका कलाकारहरूको सांस्कृतिक प्रस्तुती पनि रहेको कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यनुरागीहरू एवं विद्यार्थीहरूको सहभागिता थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया