‘आहा ! कस्तो राम्रो कविता’ : पुरस्कृत कविता : प्रथम(भिडियोसितै)

 रगतको गर्व

स्मिता सोताङ

Ο

 

कट्कटी भुँडी खायो
ढाँड चुडिँएलाजस्तै दुख्यो
छात्ती निमोठेजस्तै चर्कियो

बिहान रगतको आहालमा थिएँ।

त्यही दिनदेखि नै हो
म आमाजस्तै मग्मगिन थालेकी।

दुखिरहन्थ्यो
सहिरहन्थे म।

होसियार हुनपर्छ,
छोरी मान्छे
आफै जोगिनु पर्छ।
-भनिरहन्थिन् आमा।

उम्रिँदै गरेको स्तन छोपेर
फैलिँदै गरेको कम्मर लुकाएर
रजस्वलाको दिन,
बेस्सरी आफूलाई ढाकेकी हुँ।

एक लश्कर आँखा
मेरो अनुहारमा बिसाउँछन्
छात्ती सुम्सुम्याउँछन्
त्यसपछि कम्मरमा अड्किन्छन्।

अर्को लश्कर आँखा
सबभन्दा पहिले उदाङ्गो पार्छन् मलाई
खित्का छोडेर हाँसिरहन्छन्-मेरो नाङ्गोपनमाथि।

आँखाहरू यति डरलाग्दा किन हुन्छन्?
किन हुन्छ त्यहाँ
ब्वाँसाहरूको घर?

किन भाग्नुपर्छ म
आँखासित डराएर?
किन बन्छन् तीर
कोमल आँखाहरू
किन लुक्नपर्छ मैले
आफैसित खुम्चिएर?

रगत गन्हाएको दिन
किन लखेटिनु पर्छ विछ्याउनाबाट मैले
किन टेक्नै हुन्न मैले भान्सा कोठाको सँघार।
किन
मन्दिरदेखि टाढा बस्नु पर्छ?
हरेक महिनाको पाँचदिन
किन अछुत हुनै पर्छ मैले?

प्रिय साथी
मलाई प्रश्नहरूबीच थुनिएको देखेर
तिमी कमजोरको उपाधी दिन्छौ
तिमी वीर
कमजोरलाई नै लखेटिरहन्छौ।

तिमीलाई सोध्नुछ
तिमी कमजोर कि म?

मलाई कज्याउँने तिम्रा हातहरू बलिया होलान्
शरीर देख्ने वित्तिकै
राल झार्दै हिँड्ने तिम्रो आदर्शमाथि मेरो प्रश्न छ
जाउ
मन्दिर र सोध
ढुङ्गाको ईश्वरलाई कुन रङ्गको रगत मन पर्छ?

एकबिहान
मैले चुहुँदै गरेको आफूलाई छामें।
रगतको फाल्सालाई निहालें।
मैले देखें
त्यसपछि मैले बुझें
साँच्चै
जिन्दगीका अन्तरङ्गहरु लपेटिएका हुँदारहेछन् रगतमा।

असीम स्वप्नका अनुभूतिहरू टाँसिएका हुँदारहेछन् रगतमा
रगतबाट नै
सपनाका पखेटाहरू उम्रँदा रहेछन्।

त्यसपछि रत्ति पनि डर लागेन मलाई।
तिम्रो नरपिशाच गिदीसँग
तिमीले जफत गरेको ब्राह्मण्ड,
मलाई कुज्याउँन सक्ने तिम्रो सामर्थ्य
ती सब मेरै उपज हुन्।
तिमी कमजोर नठान मलाई,
म पनि तिमीलाई कायर ठानी हाल्दिन।
बस्! रगताम्य हुन देऊ मलाई
र देख्न देउ जिन्दगीका रङ्गी-विरङ्गी सपना।

जिन्दगीका बञ्जर पाटाहरूमा –
मलाई तिमी चाहिन्छौ,
तिमीलाई म चाहिन्छु।

बस्! तिमी रगत बग्न देउ मलाई।

म बगिरहन चाहन्छु जीवनका गीतहरू सुसेल्दै
र उमारिरहन चाहन्छु प्रेमका बिजहरू।

प्रिय साथी
तिमीलाई थाहा छैन
मसँग रगत नहुनु भनेको त
तिमीसँग रङ नहुनु हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया