‘आहा ! कस्तो राम्रो कविता’ : पुरस्कृत कविता : दोस्रो

भुइँचालो

सुधा छेत्री

Ο

घरिघरि
हाम्रै भुँईलाई मात्रै
चिरा चिरा पारेर आइरहने
यो कस्तो भुइँचालो!

जसले हल्लाईरहन्छ हरबखत्
हामीले टेक्ने एक पैताला धरातल
हाम्रो साहाराको एक हात वैशाखी
र शिर ओत्ने एक छानो आकाश।

हामीदेखि
हामीसम्मकै दुरत्वलाई
आधा बिचैमा एपिसेन्टर पारेर
कसरी घरिघरि हल्लाउन
सकिरहेको होला
उनीहरूको दिमागी दलदलबाट
निस्किरहने यो भुँईचालोको खेलले।

यतादेखि उता हल्लिनु
उतादेखि यता हल्लिनु त भयो, भयो
घँचेटिनु, ठेल्लिनु, चेप्टिनु नेप्टिनु पनि
हाम्रो त संस्कारै भइसक्यो।

जसको फलस्वरूप
मूलधारातिर प्रतिविम्बित हुने
मनको एक तलाउ खुशी
छचल्किन्छ घरिघरि
अधिकारको एक अञ्जुली विश्वास
पोखिन्छ घरिघरि।

यसको कम्पन भने
यति खतरनाक छ कि
बेलाबेला हुत्याएर हामीलाई
सिमानापारी पुऱ्याउँछ
फेरि कोहीबेला समतलसम्म हुऱ्याउँछ
बेलाबेला उठाएर सिमानामै
बग्ने नदीको बगरसम्म धकेल्छ
वा भनौं हाम्रै अस्मितामाथि
बेलाबेला प्रश्नचिन्हको बाँङ्गे लौरो लाएर लखेट्छ।

धरतीभित्र माछाले
कान हल्लायो भन्नेहरू
मेरो मेरो भन्दै अच्चानक
भकारीका अन्न छाम्नेहरू
परम्पराको सिस्मोग्राफले
आफ्नै बोधे दिमाग नापेर
ढुक्कै बस्छन् आजकल।

यति वर्णन गरिसकेपछि
अब आफै नापेर
अनुभव गर्नुहोस् पाठकज्यू!
भर्खरै मात्र उत्तर-पूर्वीय
एउटा ठूलो राज्यलाई
एपिसेन्टर बनाएर
यता हाम्रोतिर पसेको भुँईचालो
कति रेक्टर स्केलको हुनसक्ला ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया