
फेरि पनि तेरो काँचो सम्झना
आशिष लिम्बु
Ο
यति ठूलो सपनाको पर्खाल
कसरी भत्किन्छ एकैछिनमा?
कसरी ओइलिन्छ हजार
रहरका फूलहरू?
तँ त गा’को थिस्
रुखको पातजस्तो विदाईको हात हल्लाउँदै
हजार सपनाको एउटा सानो पोको बोकेर
श्रीजङ्गाको सन्तान
लिम्बूको छोरा
कसरी पो हारिस् त्यो ठाउँमा
र किन पो फर्केनस् फेरि
पेरुङ्गोमा जिउँदा सपना बोकेर?
कसरी पो खायो तँलाई खाडीले
जसरी खायो
तेरो बाउलाई खेतबारीले।
पक्कै पनि सम्झिस् होला
फाटेको हापप्यान्ट लगाएर
खाली खुट्टा मानेको पात ओडेर स्कूल गएको दिन
सम्झिस् होला चार क्लास पढ्दै गर्दा
तैंले मन पराएको दिलुहाङमाको अनुहार
आँखै अघि आयो होला
खेतालापात गरिहिँड्ने तेरी आमा
चुहुने घर र भत्किसकेको गाईगोठ
याद गरिस् होला
पालम ख्याली र हाक्पारे गाउन सिकाउने
बाजे
अन्तिमपल्ट देखिस् होला
खोसेलामा सुर्ती बेह्रेर
कटुवा तान्न सिकाउने बोजुको चाउरी।
साँच्चै हौ
तेरो शिर पो ढलेको थियो कि
गर्नुपर्ने थिएछ माङ्गेना
तँलाई आँखी पो परेको थियो कि
गर्नुपर्ने थिएछ नाहेन
बगाउनु पर्ने थिएछ खोलामा सराप
घरको धुरी खम्बालाई पो मान पुगेको थिएन कि
या त मन्साउनु पर्ने थियो होला
दोबाटोमा अक्षेता र भेटी।
तँ त गा’को थिस्
देउरालीमा पाती चढाएर
युमा मन्दिरमा भाकल छाडेर
हजार सपनाको एउटा सानो पोका बोकेर
तँ त बोजु देउताको नाती
श्रीजङ्गाको सन्तान
लिम्बूको छोरा
कसरी पो हारिस् त्यो ठाउँमा
र किन पो फर्केनस् फेरि
पेरुङ्गोमा जिउँदा सपना बोकेर?