विमर्श : आहा ! कस्तो राम्रो कविता

१५ वटा सशक्त कविता अध्ययनपछि लाग्छ यी सबै कविताहरू उत्तम श्रेणीका छन्। प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो भन्ने कुरो मञ्चीय प्रस्तुति र तात्क्षणिक प्रभावको प्रतिफल मात्र हो। यी युवा कविहरूले आफ्नो सिर्जन-नैरन्तर्य र पठनकला बँचाइराखे राखे भारतीय नेपाली कविताले अर्को सीमा तयार गर्ने कुरामा भरोसा गर्न सकिन्छ।


जय क्याक्टस


 

कविता राम्रो के ले बन्छ?

कविता लेख्ने हरेक सर्जकले सोँच्ने पहिलो प्रश्न हो यो। कुनै कविता प्रतियोगिताका निर्णायक वा समालोचकले खोज्ने पहिलो आवश्यकता पनि हो यो।

सङ्ज्ञानात्मक काव्य सिद्धान्तले भन्छ- कविता सिर्जन-प्रक्रिया अत्यन्त जटिल हुन्छ र मनोवैज्ञानिक संरचनाको विभिन्न तह र घुम्ति पार गरेपछि मात्र एउटा कविताले मूर्तता पाउँछ। अभिव्यक्तिको स्तरसम्म आइपुग्दा कविताले आफूभित्र अनेकन् अवयवहरू समाहित गरिसकेको हुन्छ। प्रकृति, समय र स्थिति सापेक्ष आर्जित नयाँ ज्ञान र अनुभव अनि आफूसित अन्तर्निहित पूर्वज्ञान र अनुभूतिको यौगिक सम्मिश्रणले कुनै नयाँ विचार र अवधारणा प्रादुर्भाव हुने हो। त्यसमा सौन्दर्य जडानको निम्ति सचेततापूर्वक शिल्प-शैली र काव्यिक प्रतीक विधान, मिथक चयन, बिम्ब निर्मिति आदि सुनिश्चित गरिसकेपछि सम्भवत: राम्रो कविता बन्दो हो।

कविताले जब शाब्दिक वा भाषिक संरचनामा अभिव्यक्तिको अन्तिम रूप लिन्छ त्यसबेला सजाइने हरफ तथा परिच्छेदमा व्याप्त गति र स्थिरता, आरोह र अवरोह, ध्वनि र शून्यता र लय र कर्कशता आदिले कविता आस्वादनमा (पठन, श्रव्य र दृश्य) ठूलो भुमिका खेल्छ। पाठकीय सम्प्रेषणीयताको निम्ति यसैले ‘अभिसङ्गी कविता’ जो ‘स्ल्याम’ वा ‘स्पोकन वर्ड’कै समकक्ष हाम्रो आफ्नै मौलिकतासित अभिप्रेरित हुँदै काव्यिक अभिव्यक्तिको नयाँ स्वरूपसम्म आइपुगेको हो भारतीय नेपाली कविता।

यतिले मात्र कविता राम्रो बनेको हो र?

सीमा, किनार र पर्खाल तर सदैव स्थिर अवश्य छैन। स्थिर त केही पनि त छैन। यो जानिसकेपछि पनि कविताको निम्ति सैद्धान्तिक सीमा, किनार र पर्खाल उभ्याउनु मूर्खता र भ्रमबाहेक केही होइन भन्ने तथ्य आयाम, सङ्क्रमण, लीला, विचलन, किनारीकरण, हस्तक्षेप र समावेशी तरङ्गको थोपो संस्करण हेर्दा थाहा लाग्छ। आजको पाठकमैत्री काव्यलेखन पाठको केन्द्रीयताबाट हटेर पाठककेन्द्री बनिसकेको समयमा कविताको सार्वभौम सत्ता र सत्त्व खोज्नुनै पनि औचित्यहीन हो कि लाग्छ। यसैले समालोचकीय ठोकुवा र निर्णयात्मक अन्तिमत्वको अर्थहीनतामा कविताको ‘राम्रो-नराम्रो’को निर्णय कतिसम्म जायज-नाजायज छ अब  सोँच्ने समय पनि आएको हो कि?

‘समालोचनाको मृत्यु’को घोषणा भएको पनि वर्षौँ भइसकेको छ। मजाको कुरा छ, हामी तर समालोचना नै लेखिरहेकै छौँ। लेखिएको देख्दै आएका छौं विश्व साहित्यमै पनि।

जब ९६ वटा कविताबाट छाँटिएर चुनिएका १५ वटा ‘आहा! कस्तो राम्रो कविता’का फाइनल प्रतियोगी कविहरूका कविता पढेपछि लाग्यो भारतीय नेपाली कविता लेखनपरम्पराले फेरि अर्को थुम्को उक्लने तयारीमा छ। अघिल्ला काव्यिक आन्दोलनका छिट्टाहरूले यी कविताहरू छोइए जस्ता देखिए पनि यी कविताहरू नितान्त फ्रेस, ताजा र अर्ग्यानिक छन्। कविताको विषय र विचार, कलात्मक सौन्दर्य र अभिव्यक्तिको नवीनतालाई एउटै तराजुमा हालेर कविताको मूल्याङ्कन गर्ने जोखिम हामीले उठायौं। मेरो काव्यिक विमर्श यो सर्वस्वीकृत छैन जान्दै पनि यी १५ वटा उत्कृष्ट कवितामाथि केही लेख्ने धृष्टता गरेको छु।

आशिष लिम्बू र ‘फेरि पनि तेरो काँचो सम्झना’

आधाकल्चे राजनीति र त्यसले जन्माउने खोरण्डो व्यवस्थाले पिल्सिएका शिक्षित वेरोजगार युवा-युवतीले आफ्नो जीविकार्जन र महत्त्वाकाँक्षाको निम्ति पलायन बनी विदेशिनु स्थानिकदेखि वैश्विक स्तरमै फैलिएको सङ्क्रमण र गाढे घाउ छ आज। खाडीमा पैसा कमाउन गएका तर उतै ज्यान फाल्ने एउटा हरदर पात्रलाई लिम्बू मिथक अनि स्थानीय ग्रामीण बिम्ब समायोजनले सुन्दर ढङ्गमा सम्बोधन गर्ने कवि आशिष लिम्बूको कविताले पाठक अवश्य हुरूक्क बन्नेछन्। कति ठूलो सपना र पीडाको आभास छ यो प्रश्नमा अन्दाज गर्नसकिन्छ-

तँ त बोजू देउताको नाति

श्रीजङ्गाको सन्तान

लिम्बूको छोरा

कसरी पो हारिस् त्यो ठाउँमा

र किन पो फर्केनस फेरि

पेरूङ्गोमा जिउँदा सपना बोकेर?

विचार र शिल्पमा सुन्दर ढङ्गले तालमेल मिलाउने कवि आशिष लिम्बूले भारतीय नेपाली कवितालाई नयाँ उचाइ दिनेछ भन्ने विश्वास हो यो कविता।

स्मिता सोताङ र ‘रगतको गर्व’

मैले पढेका नेपालका केही सशक्त कविहरूमा प्रेमा शाह, इन्दिरा प्रसाईँ, ज्योति जङ्गल, मोमिला, सरीता तिवारी आदिका कविताले पारिजातलाई पछ्याउँदै नारी विशेष अनुभूति र यौनप्रसङ्गलाई काव्यिक बिम्बमा जुन साहसले उठाउने गरेका छन् त्यो उजाला महर्जनसम्म आइपुग्दा त्यसले नारीवादको पराकाष्ठ टेकेको महसुस हुन्छ। यता नारी विमर्श र नारीवादको मध्यममार्गी चेतमा भारतीय नेपाली कविताले त्यत्ति अग्लो फड्को मार्न नसकिरहेको बेलामा पवित्रा लामा, कृतिका दाहाल र स्मिता सोताङ जस्ता युवा नारी सर्जकको उपस्थितिले एउटा उज्यालो सम्भावना भने दिएको सुखद् बेला छ। कवितालाई राम्रो बनाउन आवश्यक बिम्ब र प्रतीक टिपेर कवि स्मिताले जुन विचारको आगो दिएकीछन् त्यसले आङ सिरिङ्ग पार्छ।

एक बिहान

मैले चुहुँदै गरेको आफूलाई छामेँ।

रगतको फाल्सालाई निहालेँ।

मैले देखेँ

त्यसपछि मैले बुझेँ

साँच्चै

जिन्दगीका अन्तरङ्गहरू लपेटिएका हुँदारहेछन्

असीम स्वप्नका अनुभूतिहरू टाँसिएका हुँदारहेछन्

रगतमा

रगतबाट नै

सपनाका पखेटाहरू उम्रँदा रहेछन्।

रजस्वला जस्ता नितान्त नारी विशेष प्रकृतिलाई केन्द्रमा राखी कवि स्मिताले पोखेका साहसिक अभिव्यक्तिले अरू कवितालेभन्दा पृथक चेतना र सौन्दर्य दिन सक्षम बनेकीछन् कविता ‘रगतको गर्व’को माध्यमले।

शैलीका छेत्री र ‘साइँला बाजे’

साइँला बाजेको पीडागीत केवल कथा होइन

चियाबगानको यस्तो सङ्गीत हो

जो चिया गाछले गाउँछ मुट्ठी उठाएर

जब यो पीडागीत गाउँछन् हरेक गाछले

तब व्युझिन्छन् सुतेका मानिसहरू।

श्रम र उत्पादनसित बाझिरहने कम्पनी वा मालिकको मुनाफा-नोक्सानको नमिल्ने हर-हिसाबको तीतो अभिव्यक्ति हरेक चियाबारीको साझा पीडागीत हो भन्ने कवि शैलीकाको यो कविता दार्जिलिङ्गे कविताको अर्को प्रतिनिधि स्वर हो। अङ्ग्रेजको उपनिवेशबाट मुक्त बनेर पनि चियाबारीका श्रमिक क्षेत्रीय उपनिवेशबाट मुक्त छैनन्। शोषण र दोहनको परम्परा यथावत छ। वर्गसङ्घर्ष र उन्मुक्तिको युद्ध यथावत छ। समय र प्रक्रिया मात्र फरक छ। तर औपनिवेशिक साङ्लो यथावत छ। छोटो तर बलियो कवितामा शैलीकाको चिन्तन विस्तृति र वैचारिक धरातलको सुदृढतालाई सहजै चिन्न सकिन्छ।

निर्दोषिका तामाङ र ‘आप्पा’

पारिवारिक सम्बन्ध र साइनोमध्ये आमा र बुबाको स्थान सबैभन्दा माथि र महत्वपूर्ण मानिन्छ।भगवानकै स्थानमा विराजित आमा-बुबामाथि अनेकन् प्रभावशाली कथा, कविता, निबन्ध आदि लेखिएका पाइन्छन्। काव्यिक स्वरमा संवेदनशीलताको चरम अनुभूति दिने यस्तै एक कविता छ यो ‘आप्पा’ पनि। ससाना तर सुन्दर बिम्ब र प्रतीकले सुसज्जित कविताले मीठो अनुभूति दिन्छ।

आप्पाको टाउकोमा नाम्लोको डाम बसेपछि नै हो

मैले घाँटीमा शिक्षाको टाइ बाँधेकी

आप्पाको पट्पटी फुटेका पैतालालाई

ढुङ्गा-रोडाले नबिझाउने भएदेखि नै हो

मेरा कलिला खुट्टाहरूले

सा-साना जुत्ता पाएका।

विशाल नाल्बो र ‘फाली’

राजनीति, विकास, राष्ट्रीयता अनि जातीयताको चिसा पाटाहरू एकैसाथ सम्बोधनमा राख्न सफल कविता छ ‘फाली’। किसान र उसको श्रमको मूल्यमाथिको अवहेलना र सभ्याताको द्रुतगामी विकासे यात्राले जन्माएका अनेकन अँध्यारा पाटाहरूमध्येको एक चहकिलो चित्र छ यो कवितामा।

कोदालोले जीवनको अर्थ

खोस्रिँदाखोस्रिदै खोस्रिँदाखोस्रिदै खोस्रिँदाखोस्रिदै

चुँडियो डल्लै जीवन हाँक्ने हल्लुँड

हेर्नु त अहिले कसरी उन्निएर मर्यो

हलोको फालीमा किसानहरूको अनेकन् इच्छा।

कवितामा प्रयुक्त ग्रामीण बिम्ब र प्रतीकहरूले कविताको अभिव्यक्तिमा जुन प्रखरता र तीक्ष्णता थपेको छ यसबाट कवि नाल्बोले कवितालाई जीवन्तता दिने काव्यिक अवयव स्पष्ट चिनिसकेको बुझाउँछ। ‘एक डालो सपना’, ‘सपना बोक्ने सुटकेश र थुन्सेको रङ्’, ‘जीवन हाँक्ने हल्लुँड’, ‘पोलिटिक्स पेनकिलर’, जीवन थाम्ने सोहिला’, ‘राजनीतिक गोदाम’ जस्ता बिम्बांशले कविता कति सशक्त छ भन्ने स्पष्ट पार्छ।

सन्ध्या आचार्य र ‘मनको मनसुन’

 मूलत: कथाकार चिनिएका एक सचेत र सशक्त नारी हस्ताक्षर हुन् सन्ध्या आचार्य। कविता लेखनमा पनि बलियो र भरपर्दो उपस्थिति दिन सक्षम कवि सन्ध्याले यो कविता मार्फत सङ्क्रमणकालीन युवा बेलाका मुहर्तहरूलाई प्राकृतिक छटाहरूसित तादात्म्य राख्दै मनका केही संवेगहरूलाई सबलताकासाथ प्रस्तुत गरेकीछन्। ‘मनको मनसुन’ले प्रेमिल मनका परिवर्तनशील चञ्चलतामाथि चिन्तन गरेको छ।अहर्निस र यथार्थिक प्रणयलाई शाब्दिक बिम्बमा मीठो प्रकारले उनेकीछन्। विचारका हिसाबले निक्कै बलियो कविता तर भावसम्प्रेषणमा अलिक तीक्ष्णताको अपेक्षा रहेको देखिन्छ।

सुधा छेत्री र ‘भुइँचालो’

राजनैतिक हिसाबले घरि-घरि विदेशीको लाञ्छना खप्नुपर्ने जातीय पीडालाई भर्खरै आसाममा लागू गरिएको एनआरसीको माध्यमले आधिकारिक रूपमा हाम्रा धेरै सन्तान विदेशी प्रमाणित हुनुले झन विकराल स्थिति सिर्जना गरिएको अवस्थाबोधलाई ‘भुँइचालो’को अर्थमा परिभाषित गर्ने कवि सुधा छेत्रीको कविता स्थिति र सामयिक चेतलाई झ्वाम्म हिर्काउने प्रकारको छ। कविता सरल तर संवेगी बनेको छ-

उतादेखि यता हल्लिनु त भयो भयो

घचेटिनु, ठेलिनु, चेप्टिनु, नेप्टिनु, पनि

हाम्रो त संस्कारै भइसक्यो।

जानुका दाहाल र ‘पार्दैन फरक नक्षत्रले’

आर्थिक रूपले वर्गीय समाजको निर्मितिमा भाग्य, नक्षत्र, देहिक पार्थक्य जस्ता कुरा वाहियात हुन्।विभेदको निम्ति मूल कुरा कुल पनि हो भन्ने दर्शाउन ‘पार्दैन फरक नक्षत्रले” कविताले मालिक र श्रमिकका छोरीले बाँच्ने पृथक जीवन शैलीलाई कविले जुन दृश्यावलीमा सजाएका छन् कविताको मर्म त्यसैमा छ। यो कविताले समानता र अधिकारको सङ्घर्षमाथि थप अभिव्यक्तिको अपेक्षा राखेको मान्नसकिन्छ।

विलोक शर्मा र ‘डुवर्स’

डुवर्समै जन्मेर, हुर्केर र यसैलाई माया गरेर कविता लेख्ने सर्जकहरू डुवर्समा धेरै जन्मिएका छन्। मणिकुमार थापा र कमल थापादेखि लिएर अशोक विश्व,  वेगवसन्त थापा, गणेश गजमेर, हुँदै निर्मल आग्रह र राजीव विश्व जस्ता युवा कविहरूबाट पनि ‘डुवर्स’माथि संवेगात्मक कविताहरू सिर्जित छन्। यसै क्रममा कवि विलोक शर्माको कविता ‘डुवर्स’ केही नयाँ संरचनासित आएको छ। तीनवटा दृश्यमा डुवर्सको राजनैतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता समकालीन विडम्बना र पीडालाई प्रस्तुत गरिएको छ। अधिकत्तर भूभाग चियाबारीले परिवेष्ठित यस भूभागको समकालीन बिम्ब कविताको पहिलो अनि अन्तिम परिच्छेदमा पाउनसकिन्छ।

“बा लकआउट भनेको के हो?

आमाले भनेकी

आज भात पाक्दैन रे!!!”

सूत्रात्मकता, नाटकीयता, सांवादिक जस्ता शिल्प-मिश्रणमा कवि विलोक शर्माले कवितालाई अझै प्रभावकारी र सम्प्रेषक बनाएकाछन्।

प्रणय दाहाल र ‘उत्सव’

मोटो सरकारी कोष खर्च गरी पालन गरिने विभिन्न उत्सवहरू भलै रमाइला र रमझमपूर्ण होलान् तर त्यो कति सर्वोपयोगी र लाभप्रद होलान् सोँच्नुपर्ने विषय छ। यद्धपि यस्ता उत्सवहरू आयोजन भइरहन्छन् गरीबी र विपन्नताको खिल्ली उडाउँदै। ‘उत्सव’ के हो? र यसलाई मनाइनु र नमनाइनुको कारण र कार्यभिन्नताको वास्तविक चित्र खिँच्न कवि प्रणय दाहाल यस कवितामा सक्षम बनेकाछन्। काव्यिक संरचनामा देखिएका सचेतताले सामाजिक, आर्थिक र राजनैतिक असमानताबारे निक्कै निर्धक्क अभिव्यक्ति दिने साहस गरेको छ। कवि प्रणयको कवितालेखनको भविष्य उज्यालो रहेको मान्नसकिन्छ।

कृतिका दाहाल र ‘मारीवना’

कविता लेखन र वाचनको दुवै विधामा निक्कै ख्याति आर्जन गरिसकेकी कवि कृतिका दाहालको वैचारिकताको फाँट केही फराकिला र कतै अराजक जस्ता पनि छन्। कवितामा उनी युवा समय र अनुभूतिलाई इमान्दारीसित पस्कने कुरामा धेरै सचेत देखिन्छिन्।भारतेली नेपाली कवितालाई कृतिका दाहाल जस्ता सचेत सर्जकले कुनै न कुनै अर्थमा नवीनताबोध र गतिशीलता दिने कार्य गरिरहेकै छन्। जस्तो कि ‘मारीवाना’ कविताले उन्मुक्त बाँच्न चाहने युवा मानसिकतालाई ‘पन्छी’रूप दिई मारीवाना वा मारीजुवानासित लिप्त समकालीन युवा जीवनबिम्बलाई उतार्ने प्रयास गरेकीछन्। ड्रप्स अफ डाइमको सिर्जनासित अभिप्रेरित लाग्ने यो कविताले तर आफ्नै शैलीमा अत्यन्त प्रतिकात्मक रूपमा मारीवानाका प्रभाव र परिणतिबारे अभिव्यञ्जित गरको छ।

काव्यिक शिल्पमा अझ ध्यान दिनसकिएको भए यो कविताको भाव र विचारले अझ प्रभाव दिन सक्ने थियो। तर सिर्जनात्मक हिसाबले कवि कृतिका निकै अग्लो काव्यिक सोपान उक्लिसकेकी छ भन्न हिच्किचाउनु पर्दैन।

श्याम सुब्बा र ‘आगो’   

पारम्परिक बिम्बमा देखिने ‘आगो’भन्दा फरक अनुभूति र चेतनासित कवि श्याम सुब्बा अघि आएका छन् विचलनगामी कविता ‘आगो’मा। छोटो कवितामा धेरै विचार खाँदेर गहकिलो कविता लेख्ने श्याम सुब्बा जीवनको गतिशीलतामा अलिकति विद्रोह, उग्रता र सीमाभञ्जनको अपेक्षा गर्छन। हेरौं-

पाखुरामा आगो बलेपछि

हर्कमानले खेत जोतेका हुन्।

यौवनमा आगो बलेपछि

धनमतिले पेट बोकेकी हुन्।

छातीमा आगो बलेपछि

मनबहादुरले ऋण तिरेका हुन्।

…………………..

आगोलाई वैराग्य आउनु हुँदैन।

सूर्य राखाली र ‘सुनमाया र आगो’

सुनमायाको जीवनसापेक्ष ‘भोको देशले गाउने गीत’ जन्माउने अन्धविश्वास, सरकारी योजना तथा सङ्घर्षको आगोले जल्ने भुइँमान्छेको अवस्था दर्शाउने यो छोटो कविता तर निकै मर्मस्पर्शी देखिन्छ। कविताको शृङ्खला जति भाँचिएझैं लागे पनि कविताले ‘आगो’को उपस्थितिमा माटोको स्वाभिमान डढेको प्रसङ्गले कवितालाई समकालीन चेतनासमक्ष उभ्याइको छ।

विपल घले र ‘देश र संवेदना’

समकालीन आडम्बरी जीवनको नाङ्गो तस्वीर देखाउन सक्षम कविता ‘देश र संवेदना’ मीठो व्यङ्गको प्रहार गर्ने वैचारिक शक्तिसम्पन्न कविता पनि हो। पुलिस र चोरको मित्रता, अपराधी र वकीलको साँठगाँठ, सत्ता र पत्रकारको मेल, लास र सेल्फी, भक्ति र धर्मको एजेन्टको मिलीभगतमा चल्ने देशमा संवेदनाको उपस्थिति असम्भव छ भन्ने दर्शाउन कवि विपल घलेले जुन काव्यिक अभिव्यक्ति चुनेकाछन् त्यसले उनको काव्यिक सिर्जनक्षमता सुदृड छ भन्ने प्रमाणित गर्छ।

राजकुमार तिम्सिना र ‘बाउसे’

प्राकृतिक चित्रले कवितामा वैयक्तिकदेखि सामाजिक निर्माण र इमानको अभीष्टमा मान्छे सङ्घर्षशील बन्नुपर्छ भन्ने सकारात्मकताको सन्देश र सौन्दर्य दिने कविता बाउसेले कवि राजकुमार तिम्सिनाको सिर्जना प्रतिभामा परिपक्वता रहेको दर्शाउँछ। सुकिला बिम्बनिर्माण गर्दै ‘उठ र लेख समयका गालाहरूमा इतिहास’ भन्ने युवा जोस र आह्वान पनि कवितामा सुहाउँदिलो र प्रभावकारी छ कवितामा।

यसरी १५ वटा सशक्त कविता अध्ययनपछि लाग्छ यी सबै कविताहरू उत्तम श्रेणीका छन्। प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो भन्ने कुरो मञ्चीय प्रस्तुति र तात्क्षणिक प्रभावको प्रतिफल मात्र हो। यी युवा कविहरूले आफ्नो सिर्जन-नैरन्तर्य र पठनकला बँचाइराखे राखे भारतीय नेपाली कविताले अर्को सीमा तयार गर्ने कुरामा भरोसा गर्न सकिन्छ।

अन्तमा-

मनोज बोगटी र साङ्ग्रिला बुक्स भारत

के-के के-के छुकछुक गरिरहने मनोज बोगटीबारे दुनियाँलाई थाह छ। उनी जत्ति मुख(कलम,औंला) चलाउँछन् त्यो भन्दा बढी सिर्जनात्मक काम गरेर देखाउँछन् र आह्रिसे, वैरी, दुश्मन, साथी-सङ्गी सबैको मुखमा कामैले बुचो लाउँछन्। इमान्दार कविता-कथा लेखन र निडर पत्रकारीतादेखि पर अहिले भरासिला प्रकाशक र व्यापारी बन्न पुगेका मनोज बोगटीको साहित्यिक गाली मैले पनि धेरै खाएको छु। तर उनको वेजोड सिर्जनशीलता र अथक साहित्यिक कर्मदेखि कायल छु। सबैभन्दा धेर उनी मेरो भेकका एक गौरव र अमूल्य सम्पदा हुन् यसैले मलाई उनका बदमासी पनि प्रिय र आफन्ते छ।उनका सिर्जनाहरूका सँधै लोभी छु।

यसपटक उनले जीटीएको सहकार्यमा ‘आहा! कस्तो राम्रो कविता’ प्रतियोगिता आयोजन गरेर जत्तिजना धारिला यवा कविहरूलाई मञ्च र अवसर दिएकाछन् त्यो अति नै प्रशंसनीय र धापखाने खालको छ। साङ्ग्रिला बुक्सले छोटो समयमा गर्दै आइरहेको प्रगतिमा हामी सर्जक र पाठक रमाइरहेका छौं। कालेबुङमा पनि यसमाथि नजर नलागोस्। सबैको शुभेच्छाको निम्बु-खोर्सानीले काम गरोस्। सलाम मनोज!!

 

    

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया