स्मिता सोताङ, सुधा छेत्री र आशिष लिम्बुलाई विशाल नाल्बोको सात प्रश्न

संवाद : तीन कवि: सात प्रश्न

विशाल नाल्बो


भर्खरै 20 अक्टोबरको दिन साङ्ग्रिला रिडर्स क्लबले जिटिएको सूचना एवं सांस्कृतिक विभागको सौजन्यतामा ‘आहा! कस्तो राम्रो कविता’ प्रतियोगिता गऱ्यो। 15 कविले निक्कै उम्दा कविताहरू सुनाए। यस्तो लाग्यो, नयाँ हाँचका कविताहरूको प्रतिनिधि स्वर त्यही प्रतियोगितामा झल्कन्थ्यो। स्मिता सोताङ पहिलो, सुधा छेत्री दोस्रो र आशिष लिम्बु तेस्रो बने। उनीहरूले त्यसै पुरस्कार जितेका होइनन्। आजको पुस्ताको कविता शक्ति कति हो, त्यो खुलेर प्रकट गरेन नै जितेका हुन्।

खबरम्यागजिनले तीन कविका कवितासमेत प्रकाशित गरिसकेको छ। कवितामार्फत विजेता कविहरूको कविता शक्ति थाहा पायौं। उनीहरूको वैचारिकीसमेत केलाउँनुपर्ने हो कि जस्तो लागेर मैले तीन कविलाई सातसातवटा प्रश्न गरें। उनीहरूको उत्तर पढेर तपाईँहरूलाई पनि थाहा होला, यी कविहरूको वैचारिकी कति उम्दा छन्। त्यही कुराकानी क्रमैले यहाँ राखेको छु-विशाल नाल्बो।


कवि भनेको समाजले भर गरेको मान्छे हो-स्मिता सोताङ


-खासमा रगतको गर्भ भनेको के हो?

नारी,  जसले समाज, राष्ट्र र विश्व निर्माणमा धेरै योगदान पुऱ्याउँदै आइरहेका छन्, त्यही समाजले नारीलाई हरेक महिना रजस्वालाको दिन, भान्सा कोठाबाट, विछ्याउनाबाट भनौं घरैबाट लखेट्ने जुन प्रथा छ,  यो त्यसकै विरुद्धको आवाज हो। मैले कविताको शीर्षक ‘रगतको गर्व’ राख्नुको उद्देश्य नै  यस कविताले महिलाको अधिकारको,  अभिमानको आवाज उठाउनु हो।

-कविता आममान्छेको लागि लेखिनु पर्छ भन्ने धारणा सही कि गलत?

कविता आममान्छेकै निम्ति लेखिनु पर्छ । यो सही हो सोझा, कमजोर र लखेटिएकाहरूका लागि नै कविता लेखियोस्।

तिम्रो पुस्ताले कविता मार्फत समाजको कुरा बोलिरहेको छ जस्तो लाग्छ?

पक्कै पनि मैले जति पनि कविहरूलाई पढेकी छु, अहिलेसम्म उनीहरूले कविता मार्फत समाजको कुरा नै लेखिरहेका छन्। सायदै त्यस कुरालाई दर्साउने ढङ्ग कमजोर हुनुसक्छ।

-तिमी त युवा कवि हौ, कुनै बेला प्रेमको कविता पनि लेख्नु मन लाग्छ होला?

युवा होस् चाहे पाको, हरेक मान्छेसँग मुटु हुन्छ। मान्छे हुँ म पनि। त्यसैले प्रेम कविता लेख्न मन पर्छ।

-एकजना कविले कवितालाई लिएर इमानदार हुनुपर्ने एउटा कारण बताउ त?

सायद, कारण थुप्रै हुनसक्छन्। त्यसमध्ये, मलाई लागेको एउटा-कविले समाजको अवस्था, व्यवस्था, समस्याहरुलाई अरु मानिसले भन्दा छर्लङ्ग देख्न र बुझ्न सकेको हुन्छ।  त्यसको विरोध गर्ने क्षमता पनि कविसँग नै हुन्छ। र अहिलेको समयमा,  समाजले भर गर्न सकेको मान्छे अर्थात् कवि आफ्नो विचारसँग, इमान्दर हुनपर्छ जस्तो लाग्छ।

-एक हिसाबले भन्नु हो भने अघिल्लो पुस्ताको कविहरूले नयाँ पुस्ताको कविहरूलाई दोष लगाइरहेको समय हो यो। उनीहरूको बुझाइ छ, नयाँ पुस्ताको कविहरूमा समयचेत छैन अथवा प्रश्न गर्नु डराउँछन्। तिम्रो विचारमा तिम्रो पुस्ताका कविहरू साँच्ची नै कविता मार्फत प्रश्न गर्नु डराइरहेका छन्? के उनीहरूको कवितामा साँच्ची नै समयचेत छैन?

प्रश्न गर्न डराइरहेछ  भनिहाल्न चाँहि नमिल्ला। अहिलेको कविहरुका कवितामा समयचेत निक्कै छ। किनकी, मैले लेखेको ‘रगतको गर्व’ कविताले पनि, अहिले समयको कुरा गरेको छ र प्रश्न पनि बोकेको छ। जबकि, अहिलेको समयमा धेरै नारीहरू डराउँछन् र  थोरै  मात्र रजस्वालाको बारेमा खुलेर बोल्ने गरेका छन्। सायद, यस्तै कारणहरुले पनि नारीलाई कमजोरको ‘ट्याग’ दिइएको पो हो कि? । रगतको गर्व, नारीलाई कमजोर ठान्नेहरुलाई, स्वय आफूलाई कमजोर बनाइरहेका नारीहरुलाई  पनि प्रश्न हो।

नयाँ पुस्ताका धेरै कविहरुले प्रश्न गरिरहेका छन्। मैले जाने, पढे अनुसार विशाल नाल्बोजस्ता ससक्त कवि छन् हामीसँग, जसले सरकारको व्यवस्थामाथि, राजनीतिले गाउँलाई गरिरहेको अन्यायमाथि, कविता मार्फत बारम्बार प्रश्न उठाउने गरेका छन्। विशाल नाल्बो जस्ता धेरै कविहरु छन् अहिलेको पुस्तामा, जो  कविता मार्फत प्रश्न गर्न डराउँदैनन्। सायद, अघिल्लो पुस्ताले, नयाँ पुस्तालाई पढिरहेका पो छैनन् कि ?

-भर्खर भएको(आहा! कस्तो राम्रो कविता)प्रतियोगिताको पहिलो पुरस्कार विजेता हौ। कविता प्रतियोगितालाई लिएर आफ्नो धारणा चाहिँ के छ?

सबभन्दा पहिला त, म आफूलाई हार-जितको प्रेसरमा राख्दिन। हार्नु, जित्नु अलग कुरा हो । आहा! कस्तो राम्रो कविता प्रतियोगितामा, साहित्यका महान् व्यक्तित्वहरु अघि, स्थापित कविहरुसँग हाराहारी उभिएर आफ्नो कविता वाचन गर्न पाउँनु नै मेरो निमित्त जित हो। हुन त, प्रतियोगितामा पहिलो स्थान ओगट्नको निमित्त मैले कविता लेखेको होइन। मेरो कविताले, आफूलाई कमजोर ठानेर, आफ्नै घरबाट लखेटिइरहेका नारीहरुलाई हौसला, र ऊर्जा दिन्छ भने,  उनीहरुलाई आफ्नो हक, अधिकारको लागि प्रश्न उठाउने आँट दिन्छ भने, र मेरो कविताले,  एउटै पनि जीवन परिवर्तन गर्छ भने त्यस दिन मेरो कविताको जित हुनेछ।

र साङ्ग्रिला रिडर्स क्लबले जुन मञ्च हामी युवा कविहरुलाई प्रदान गऱ्यो त्यसको निम्ति म सधैँ आभारी रहनेछु, किनकी यस मञ्चले, लुकेर  लेखिरहेका कविहरुलाई निकाल्ने काम पनि गरेको छ।

राम्रा, राम्रा कविहरु जो बाहिर आइरहेका छैनन्, उनीहरुको निम्ति पनि यस्ता मञ्च एउटा अवसर नै हो जस्तो लाग्छ ।साथै अहिलेका समयमा, अनगन्ति कविहरु भएपनि यस्ता कविता प्रतियोगिताहरु मार्फत अहिलेका समयले मागिरहेका कविता जन्माउन सक्ने कवि भेट्न सकिन्छन् कि भन्ने लाग्छ।


कविता बजार र मान्छे दुवैको निम्ति लेखिनुपर्छ-सुधा छेत्री


तपाईंले कविताको शीर्षक भुँइचालो नै किन चुन्नु भएको?

हाम्रो काल र परिस्थितिलाई जहिले पनि एउटा डरले घच्घच्याइरहन्छ, त्यो हो जातीय अस्मिताको डर। केन्द्र र राज्यको कारक तत्वहरूले हामीमा घरिघरि विदेशीको लाञ्छना लगाइरहन्छ। हामीमा सधैँ पहिचान सङ्कटको समस्याले सताइरहन्छ। यो कुरोले हाम्रो मन मष्तिस्कलाई सधैँ हल्लाइरहन्छ। हाम्रो घडेरी, हाम्रो समय, हाम्रो वर्तमानलाई पनि दिनरात हल्लाइरहने हुनाले मैले मेरो कविताको शीर्षक भुँइचालो राखेको हुँ ।

-कविताले जीवनसँग कतिको सरोकार राख्छ?

म त भन्छु कविता भनेको जीवनको एक प्रमुख पाटो हो। कविताले जीवनका विभिन्न दर्शनहरूलाई उजागर गर्छ। कविताले जीवन लेख्छ,जीवनले कविता।

-कविताको नजरबाट समाजलाई हेर्ने दृष्टि एकजना कविको कस्तो हुनु पर्छ?

भनिन्छ साहित्य समाजको दर्पण हो। समाजमा भइरहेका समस्या, घटनालाई कवितामा उतार्नु कविको धर्म हो। कवि सधैँ सचेत हुनपर्छ। समाजलाई चेतनाको खाँचो पर्छ। यसलाई कविले कवितामार्फत परिपूर्ण गर्न सक्नुपर्छ ।

खासमा कविता बजारको निम्ति लेखिनु पर्छ कि पाठकको निम्ति?

खासमा कविता पाठकको निम्ति लेखिनु पर्छ तर आजको रङ्गिन  समयले पाठक र बजार दुवैको निम्ति नलेखिए कवि ओझेलमा पर्न सक्छ। यसोस्ले आजको समयमा कविता बजार र मान्छे दुवैको निम्ति लेखिनुपर्छ भन्ने लाग्छ।

 

-अहिले त कविहरू पनि सेलिब्रेटी भएका छन्। कवितालाई कलात्मक ढङ्गले मञ्चमा लगेर पर्फम् गर्छन् कविहरू। यसमा चाहिँ तपाईको धारणा के छ ठिक कि बेठिक यो?

कवितालाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु आजको समयको माग हो। यस कुरोलाई म स्वीकार्छु।

एक हिसाबले भन्नु हो भने अघिल्लो पुस्ताको कविहरूले नयाँ पुस्ताको कविहरूलाई दोष लगाइरहेको समय हो यो। उनीहरूको बुझाइ छ, नयाँ पुस्ताको कविहरूमा समयचेत छैन अथवा प्रश्न गर्नु डराउँछन्। तपाईँको विचारमा समकालीन कविहरू साँच्ची नै कविता मार्फत प्रश्न गर्नु डराइरहेका छन्? के उनीहरूको कवितामा साँच्ची नै समयचेत छैन?

यो दोष लगाउने समय होइन। अहिलेका कविहरूमा पनि समयचेत छ। तर समयचेतलाई अहिलेका  कविले सोझै नभनेर अलिक अर्कै पारा प्रस्तुति गरेका होलान्। यो कुरो पुराना पुस्ताका कविहरूलाई नपचेको हुनसक्ला ।

-भर्खर भएको (आहा ! कस्तो राम्रो कविता) प्रतियोगिताको दोस्रो पुरस्कार विजेता हुनुहुन्छ। कविता प्रतियोगितालाई लिएर तपाईँको आफ्नो धारणा चाहिँ के छ?

म एक साधारण कविता लेख्ने मान्छे। उक्त प्रतियोगितामा आफ्नो  कविता उत्कृष्ट 15 मा पर्दा एकदमै खुशी लागेको थियो। यस प्रतियोगिताको विज्ञापन फेसबुकमा देखेपछि आफूलाई पनि पठाउने रहर लागेर आयो। तर मेरो कविताले यति धेरै माया पाउछ भनेर मलाई एकदमै लागेको थिएन। कविता पठाएको दुईचार दिन पछि मनोज बोगटी सरले मलाई मेरो कविता छनौट भएको जानकारी दिनुभयो। अत्यन्तै खुशी लाग्यो र त्यसपछि उत्सुकताका साथ 20 अक्टोबरको दिन कार्यक्रममा पुगें। कविता पाठन गरें तर पनि मलाई लागेको थिएन कि मैले कुनै  स्थान प्राप्त गर्छुहोला भनेर। अन्तमा निर्णायक मण्डलीको घोषणा पश्चात म दोस्रो स्थान ओगट्न सफल बनेंछु। एकदमै हर्षित भएर घर आएँ। मेरो लेखनलाई यो पुरस्कारले औधी हौसला प्रदान गरेको छ।

विशेष यति ठूलो कार्यक्रम र नयाँ सोच र विचारले भरिएको कार्यक्रम गर्नुहुने एंव भारतेली नेपाली साहित्यका धरोहर मनोज बोगटीलाई विशेष धन्यवाद टक्र्याउन चहान्छु । साथै साङ्ग्रिला रिडर्स क्लब, कालेबुङ र जीटीएलाई पनि मुरीमुरी धन्यवाद दिँदछु। भविष्यमा पनि यस्ता कार्यक्रमहरू भइरहोस्। जसले गर्दा साहित्यिक प्रतिभाहरूले एउटा दह्रो प्लेटफर्म पाइरहुन्।


एतिकै सेलाएर बस्नु चैं भएन। नत्र साह्रै लुइतामे पो भइन्छ- आशिष लिम्बु


फेरि पनि तेरो काँचो सम्झना कविताको नाम राख्नुको मुख्य कारण?

यो कविता कसैको सम्झनामा नै लेखेको हुँ मैले। जब कि एकजना साथी सपनाको भारी बोकेर खाडी पसे, जो कहिले घर फर्केन। विदेश पस्ने र सपना बोकेर हिँड्नेहरूको पीडाको कथा कवितामा छ। युवा पुस्ताको दुःख कवितामा छ। देश र सत्ताको असली अनुहार पनि कवितामा छ। जे देखियो, त्यो कवितामा पो पस्यो कि कसो हो।

-तिम्रो कविता कुनै वादको सेरोफेरोमा बस्न रुचाउँछ कि वा स्वतन्त्र बाँच्न?

आबो कविले नै स्वतन्त्र बाँच्नु रूचाए पछि त कवितालाई कसरी पो बाँध्नु होला र। कवितालाई त स्वतन्त्र नै चाहिन्छ होला हौ।

-कविता लेख्दा कल्पना शक्ति कति अवश्यक पर्छ?

कविले कवितामा लेखेको सप्पै कुराहरू कविले नै आफ्नो जिन्दगीमा भोगेको त हुँदैन। अरूको ठाउँमा आफुलाई राखेर पनि लेखेको हुन्छ। अनि मलाई त एस्तो पो लाग्छ, यो कल्पना शक्ति र भोगाई बराबर पो हुनुपर्छ  होला हौ।

-अहिले कविहरूले लेखिरहेको समाज अहिलेकै हो तिम्रो बुझाइमा?

हामी बाँचेको समाज त अहिलेकै हो। र हामीले बुझेको समाज पहिलेको पनि हो। अहिलेको पनि हो। उहिले र अहिलेको मिस्सिएको। तर आबो कविताको हिसाबमा गर्दा चैं आजभोली एकदम स्टाइलिस् कविहरू जन्मेका छन्। कविता पढेर नै पाठकले बुझ्नु पऱ्यो त्यो त।

-कविताको टाइम सकियो भन्छ नि बजारले, है?

अहिलेका कविहरूले समाजलाई नयाँ पाराले बुझ्न थालेका छन् है। आजभोली त झन् तगडा कविहरू जन्मिसकेका छन्। बाट्ठो छन् कविहरू। हामी कविता लेख्नेहरूलाई त ‘कविताको टाइम्’ कहिले पनि सकिँदैन जस्तो लाग्छ। यदि यो कुरा बजारले नै भनेको हो भने त मलाई एस्तो लाग्यो सारै बेकारको कुरा पो गऱ्यो हौ बजारले।

-एक हिसाबले भन्नु हो भने अघिल्लो पुस्ताको कविहरूले नयाँ पुस्ताको कविहरूलाई दोष लगाइरहेको समय हो यो। उनीहरूको बुझाइ छ, नयाँ पुस्ताको कविहरूमा समयचेत छैन अथवा प्रश्न गर्नु डराउँछन्। तिम्रो विचारमा तिम्रो पुस्ताका कविहरू साँच्ची नै कविता मार्फत प्रश्न गर्नु डराइरहेका छन्? के उनीहरूको कवितामा साँच्ची नै समयचेत छैन?

मलाई त तेस्तो लाग्दैन। ज्यादै समयचेत छ नयाँ पुस्तामा पनि। जति पुरानो पुस्तामा छ। तर म चैं के बुझ्छु भने, आबो पुरानो पुस्ताले नयाँ पुस्तालाई पढाउनु नसकेका हुन् कि यात नयाँ पुस्तालाई पढ्न् नै नचाहेका हुन्, पुरानो पुस्ताले। त्यो पुरानो पुस्ताले नै जानुन्।

तर नयाँ पुस्ता डराइरहेको समय चैं हुँदै होइन हौ। मलाई लाग्छ, पुरानो पुस्ताको यो विचार अलि गलत छ। यो अलिक अहमी बुझाइ पनि पो हो। कविता लेख्न जान्ने के डराइबस्थ्यो होला त। कविता लेखाइको हिसाबमा नै हेर्नु हो भने त पुरानो कविहरूको भन्दा अहिलेको नयाँ कविहरूको लेख्ने ‘स्टाइल’ नै पो धेरै फरक छ। पुरानो पुस्ताले भेउ नपाएको पो होला कि कसो। अब नयाँ पुस्ता नै डरायो भने त सक्किगोनी।

-भर्खर भएको (आहा! कस्तो राम्रो कविता)प्रतियोगिताको तेस्रो पुरस्कार विजेता हौ तिमी। कविता प्रतियोगितालाई लिएर तिम्रो आफ्नो धारणा चाहिँ के छ?

पहिला-पहिला चैं लाग्थ्यो प्रतियोगिता भनेको एउटा हारजितको मैदान हो। तर अहिले बुझ्दा चैं लाग्छ, प्रतियोगिता भनेको चैं चुनौति हो। हामी पहिलो, दोस्रो, तेस्रोलाई मात्र नभएर जति पनि पन्ध्र जना कविहरू जो छानिएका थिए, अब के बुझ्नुपर्छ भने हामीमाथि एउटा भयानक जिम्मेवारीको आइपरेको छ। धान्ने हिम्मत पो बढाउनु पऱ्यो। अनि हामी सबैले त्यो जिम्मेवारी निभाउनु पर्छ। एतिकै सेलाएर बस्नु चैं भएन। नत्र साह्रै लुइतामे पो भइन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया