कबड्डी कबड्डी कबड्डीको प्रिमियर भोलि : दार्जिलिङ छिर्दै कलाकारहरू

थाहा लागेअनुसार कबड्डी कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरुङलगयत कलाकार बुद्धि तामाङ दार्जिलिङ छिरिसकेका छन्। दयाहाङ राई नेपालको पूर्वमा सुटिङमा छन्। उनी पनि भोलि प्रिमियरमा उपस्थित हुनेछन्।


कालेबुङ, 7 नोभेम्बर


चर्चित निर्देशक रामबाबु गुरुङको कबड्डी कबड्डी कबड्डी भारतका नेपाली बाहुल क्षेत्रमा भव्य प्रदर्शन हुने भएको छ। दार्जिलिङको आइनोक्समा आज हुने भनिएको प्रिमियर शो केही कारणले भोलि सारिएको छ। भोलि आइनोक्समा चलचित्रका कलाकारहरूको उपस्थितिमा प्रिमियर शो हुनेछ।

सिक्किमका मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा प्रिमियर शो हुनेभएको छ। शोमा दार्जिलिङ क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई निम्तो गरिएको छ।

आप्पा चलचित्रबाट चलचित्र निर्माताको रूपमा ख्याति पाएका कालेबुङका रुदेन सादा लेप्चा कबड्डी कबड्डी कबड्डीका सहनिर्माता रहेका छन्।

‘नेपाली चलचित्रको बजार हिजोसम्म नेपाल र अरू ठाउँ थियो, तर भारतजस्तो एक करोडभन्दा धेर नेपाली भाषी बसोबासो गरेको देश नेपाली चलचित्रको बजार बन्न सकेको थिएन,’ यसै सन्दर्भमा रुदेन लेप्चाले भने, ‘अब नेपाली चलचित्रको बजार भारत पनि बन्दैछ।’

लेप्चाको अनुभव छ, आप्पालाई लाखौं दर्शकले रुचाएका छन्। नेपाल र भारत दुवैतिर बनेका नेपाली चलचित्रको बजार त बनिरहेकै छ, भारतीय नेपाली मूलका कलाकारहरूको लागि पनि राम्रो स्पेस बनिरहेको छ।

‘यताका लेखकहरूको लागि पनि उस्तै स्पेस बनिरहेको छ,’ उनले भने, ‘यतैको विषयमा राम्रो स्क्रिप्ट लेख्न सकिए नेपाली चलचित्रले अझ उचाईँ पाउने छ।’

थाहा लागेअनुसार कबड्डी कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरुङलगायत कलाकार बुद्धि तामाङ दार्जिलिङ छिरिसकेका छन्। दयाहाङ राई नेपालको पूर्वमा सुटिङमा छन्। उनी पनि भोलि प्रिमियरमा उपस्थित हुनेछन्।

‘मलाई विश्वास छ कबड्डी कबड्डी कबड्डीलाई हाम्रा दर्शकले रुचाउनेछन्,’ लेप्चाले भने, ‘यो चलचित्रका अघिल्ला सिक्वेलले यताका दर्शकको मन यसै पनि जितिसकेको छ।’

लेप्चाअनुसार शनिबारदेखि सबै हलहरूमा चलचित्र प्रदर्शनमा आइसक्नेछ। कोलकाता र दिल्लीमा मात्र अर्को हप्तादेखि चलचित्र प्रदर्शन हुनेछ। सिक्किम, उत्तरबङ्गालका सबै आइनोक्स र हलमा चलचित्र लाग्ने छ।

‘आप्पालाई एक शो मात्र दिने हलहरूले कबड्डी कबड्डी कबड्डीलाई तीन शोसमेत दिएको छ,’ लेप्चाले हर्षित बन्दै भने, ‘नेपाली चलचित्रको बजार कस्तो बन्दैछ भन्ने कुरा यसैले पनि सङ्केत गर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया