लहडबाजीमा वर्णविन्यासको शिष्ट परम्परा भत्काएकाले नेपाली भाषा अराजकताको सिकार हुनपुग्यो : शरच्चन्द्र वस्ती

रातोपाटी-बाट साभार


शरच्चन्द्र वस्ती सञ्चार माध्यममा स्थापित नाम हो । प्राध्यापन, पत्रकारिता र सम्पादन क्षेत्रलाई मुख्य पेसा बनाउँदै आएका वस्तीको ‘हाम्रो भाषा’ पुस्तक निकै चर्चित छ । नेपाली पत्रकारिताका क्षेत्रमा भाषा प्रयोगमा देखिएका कठिनाइ, हिज्जेका समस्या र लेखनको स्तरीयताका बारेमा निरन्तर अध्ययन, अनुसन्धानका साथै प्रशिक्षण दिँदै आएका उनी भाषाले स्वाभाविक गतिमा अङ्गीकार गरेको परिवर्तनलाई हामीले सहर्ष आत्मसात गर्नुपर्छ भन्छन् । जबर्जस्ती लादिएको कुरा चाहिँ पूरै गलत हो, त्यसले भाषालाई कमजोर बनाउने, अक्षम बनाउने उनको तर्क छ । भाषालाई त्यसबाट जोगाउनुपर्छ भन्छन् । प्रस्तुत छ, नेपाली वर्णविन्यासका उतारचढाव,  समस्या र समाधानका सम्बन्धमा शरच्चन्द्र वस्तीसँग मोहन दाहालले गरेको  कुराकानी :


आजकल के कार्यमा व्यस्त हुनुहुन्छ ?
–खासै उल्लेखनीय केही छैन । बिहान पद्मकन्या क्याम्पसमा पढाउँछु । भर्खरै जस्तो कान्तिपुर दैनिकमा सम्पादकीय सल्लाहकारका रूपमा जोडिएको छु । कहिलेकाहीँ भाषा र सञ्चारसम्बन्धी तालिम, सरसल्लाह दिने गरेको छु । साथीहरूले स्वतन्त्र सम्पादक (फ्रिलान्स एडिटर) भन्ने गरेका छन्; यदाकदा स्वतन्त्र रूपमा पुस्तक र अन्य सामग्री सम्पादन गर्छु । मन लाग्दा अनुवाद पनि गरिटोपल्छु । व्यस्तता कम गर्ने प्रयासमा छु ।

नेपाली भाषाका मै हुँ भन्ने विद्वानहरूले पनि शुद्ध र एकै रूपको वर्णविन्यास लेख्न अझै सकेनन्, यसो हुनुको मुख्य कारण के कारण होला ? 
–मेरो दृष्टिमा, यो जिम्मेवार ठाउँमा बसेका मान्छेको मति बिग्रनुको परिणाम हो । नियम बसिसकेको, स्थापित भइसकेको, लोकव्यवहारमा स्वीकृत भइसकेको, शिष्ट परम्पराले अनुमोदन गरिसकेको वर्णविन्यासलाई लहडबाजीका भरमा भत्काउने काम भयो । जसले नेपाली वाङ्मयलाई आजको उचाइमा पुर्‍याए त्यस्ता लेखक, साहित्यकारहरूले प्रयोग गरेको वर्णविन्यास (हिज्जे) लाई हुँडलेर भद्रगोल बनाउने अभियान चलाइयो । स्थापित र स्वीकृत भइसकेको वर्णविन्यासलाई भत्काउँदा भाषाले कस्तो अराजकताको सिकार हुनुपर्छ भन्ने भानसम्म उनीहरूलाई भएन । यसो गर्नु भाषाविरुद्धको अपराध हो भन्ने बोध हुने त झन् कुरै भएन । अनि कहिले नेपालीमा मोटो श, पेट चिरेको ष लेख्नुपर्दैन, पातलो स मात्र लेखे हुन्छ भनियो । कहिले सुरु र बीचमा दीर्घ ईकार, ऊकार चाहिँदैन, अन्त्यमा मात्र दीर्घ गरे हुन्छ भनियो । अघिल्लो दिनसम्म एक किसिमले लेखिँदै आएका हजारौँ शब्दहरूको हिज्जे रातारात फेर्न उर्दी जारी गरियो । यस्ता कुरालाई नयाँ नियम भन्दै राज्यको शक्ति र ढुकुटीको प्रयोग गरेर बलपूर्वक लाद्न खोजियो । नेपाली भाषामा, खास गरी हिज्जेमा आज देखिएको अन्योल र अराजकता यसैको परिणाम हो ।

शुद्ध, स्वाभाविक हिज्जे सहज हुन्छ र लेख्दा सरर्र जान्छ । तपाईंले सङ्केत गरेका विद्वानहरू त्यसरी लेखिसकेपछि पुनः हेर्छन् र ए यस्तो नियम पो बनाइएको छ, त्यसमा मैले पनि सही गरेको थिएँ, त्यस अनुसार त मिलेनछ भनेर आफै झस्किन्छन् । यसरी, जान्ने भनिने मान्छे पनि आफूले लेखेको स्वाभाविक हिज्जेलाई आफै सच्याएर अस्वाभाविक बनाउन अभिशप्त भइरहेको हुन्छ । त्यही हिज्जे पनि फेरि उसकै अर्को विद्वान साथीले गलत घोषित गर्छ ।  क्याम्पसमा पढाउने नेपालीका शिक्षकहरू सेतोपाटीमा अनायास आफूले पढेको सही हिज्जे लेख्छन् र लौ बित्यास पर्‍यो, यस वर्ष आएको नियम त बेग्लै छ भनेर हतारहतार अर्को हिज्जे लेखेर पढाउँछन् । यसो गर्नुपर्दा, आफैले गलत मानेको कुरा पढाउनुपर्‍यो भनेर कैयौँ त ग्लानिमा पनि परिरहेका हुन्छन् । एउटा कक्षामा एक खालको हिज्जे, अर्को कक्षामा अर्को खालको हिज्जे पढाउनुपर्ने गाईजात्रा त छँदैछ । भाषासाहित्यमै लागेका, भाषाकै जागिर खाने मान्छेको त यो हालत छ भने करोडौँ नेपाली, जसले नेपाली भाषाको प्रयोग गरिरहेका छन्, तिनीहरूलाई कस्तो समस्या परेको होला ?

नेपालीहरू संसारभर छरिएर रहेका छन् । उनीहरूले एक किसिमले चलाइरहेको भाषालाई हुँडल्दिने, चलाइदिने, वर्ष दुई वर्षमा परिवर्तन गरिदिने कार्य भएको छ । त्यो अराजकताले, जसले अराजकता ल्याउँछ त्यसलाई पनि सिकार बनाउँछ । त्यसकै सिकार उहाँहरू हुनुभएको हो ।

पछिल्लो समय नेपाली वर्णविन्यासमा धेरै विवादहरू आए । यसको मानक रूप बनाउनुपर्छ भनेर विभिन्न आन्दोलनहरू पनि भए । त्यसपछि नेपाली बृहत् शब्दकोश नै खारेज गर्नुपर्ने अवस्था आयो । वास्तवमा नेपाली भाषामा यस्तो वातावरण किन र कसरी आयो ? 
–नेपाली भाषा असाध्यै सरल, समस्या नभएको, प्राञ्जल, लचिलो र गतिशील भाषा हो । यसलाई आफ्नै गतिमा अगाडि बढ्न दिनुपथ्र्यो । भाषा बिस्तारै समयक्रममा परिवर्तन पनि हुँदै जान्थ्यो । भएको परिवर्तनलाई आत्मसात् गर्नुपथ्र्यो । त्यो चाहिँ स्वाभाविक प्रक्रिया हुनेथियो ।

भाषा गतिशील हुन्छ भनिएको छ । त्यसको अर्थ हो, भाषा समयक्रममा स्वतः परिवर्तित हुँदै जान्छ । यसलाई कसैले जबर्जस्ती गतिशील बनाइदिने होइन । प्रयोगका क्रममा भाषामा स्वतः परिवर्तन आउँदै जान्छ । एउटा उदाहरण; अलिक अघिसम्म ‘मकन रातो टोपी मन पर्छ’ भनिन्थ्यो । त्यो भाषा बिस्तारै, थाहै नपाईकन ‘मलाई रातो टोपी मन पर्छ’ भन्नेमा परिवर्तित भयो । जसरी ‘मकन’ कसैलाई पनि अलिकति पनि असहज महसुस नभई ‘मलाई’मा परिवर्तन भयो, भाषाको परिवर्तन त्यसरी हुन्छ र हुनुपर्छ । सरक्क, सुटुक्क, कसैले थाहै नपाई । त्यो स्वाभाविक परिवर्तन हो । त्यो स्वतः स्वीकार्य हुन्छ ।

तर हामीकहाँ के हुन थाल्यो भने, भाषा परिवर्तनशील भएको हुनाले हामीले परिवर्तन गरिदिनुपर्छ भनेर लागे ।  भाषामा परिवर्तन भएपछि त्यसलाई आत्मसात् गर्ने होइन, आजदेखि यसो गर र त्यसो नगर भनेर आदेश दिने र आदेशका भरमा परिवर्तन लाद्ने काम गर्न थालियो । यस्तो गर्न थालेको पनि करिब चार दशक भइसक्यो । वर्णविन्यासमा परिवर्तन गर्न नेपाली भाषा पढाउने गुरुहरूका बीचमा केही गोष्ठीहरू आयोजना गरियो । उनीहरूले संस्कृतका शब्दहरू जस्ताको तस्तै नबिगारीकन राख्ने, संस्कृत बाहेक अरू भाषाबाट आएका र आउने शब्द चाहिँ बिगार्ने सल्लाह मिलाए । अरू भाषाबाट आएका शब्दमा मोटो श, पेट चिरेको ष हटाएर पातलो स बनाउनुपर्छ, नेपाली भाषामा त्यो आवश्यक छैन भने । हुँदाहुँदै अब त ती नेपाली वर्ण पनि होइनन् भन्न थालेका छन् । त्यसैगरी दीर्घ ईकार, दीर्घ ऊकार सुरु र बीचमा चाहिँदैन भने । यसरी जबर्जस्ती शब्दको स्वरूप तथा हिज्जे बिगार्ने र नभएका नियम जबर्जस्ती थोपर्ने अधिकार कसैलाई हुँदैन ।

भाषामा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि हुँदैन । यस्तो अधिकार एउटा वा धेरै विद्वानलाई पनि हुँदैन, कुनै संस्थालाई पनि हुँदैन । विद्वान र संस्थाहरूको सहमतिलाई पनि हुँदैन । उनीहरूसँग संसद् समेत जोडियो र सबैको सर्वसम्मति भयो भने पनि यस्तो गर्न पाइँदैन । भाषामा हस्तक्षेप गर्ने अधिकार कसैलाई हुँदैहुँदैन । जसले गरे पनि त्यो अनधिकार चेष्टा हो, पूर्णतः अनधिकृत कार्य हो । अधिकार क्षेत्रभन्दा बाहिरको स्वेच्छाचारी कृत्य हो । यस्तो काम राणाकालमा राणाको सिन्दूर लगाएकाहरूले गरे, हिजोआज सरकारी जागिर खानेहरूले गरिरहेका छन् । आजभोलि कसरी जागिर खाइन्छ, कसरी प्राज्ञ भइन्छ भन्ने त तपाईंले पनि बुझ्नुहुन्छ, मैले पनि बुझेकै छु ।

यसका लागि त प्रज्ञा प्रतिष्ठानले गोष्ठीहरू पनि गरेको छ नि, यस क्षेत्रका विज्ञहरूलाई पनि ल्याएको हुन्छ नि, हैन र ? 
–विद्वानहरूको गोष्ठीको काम प्रचलित शब्दहरूको हिज्जेमा एकमुष्ट धावा बोल्ने, एकमुस्ट बिगार्ने भनेर निर्णय गर्ने, यो हिज्जे बदर गर, यो अक्षर बन्द गर भनेर उर्दी जारी गर्ने होइन । त्यसले त प्रचलित शब्दको व्युत्पत्ति दिने हो, प्रचलित हिज्जेको उपपत्ति पहिल्याउने हो, यो किन यस्तो छ भनेर खोज्ने हो । विद्वानहरूको गोष्ठीले त भाषामा यस्तो परिवर्तन देखियो, यो परिवर्तन किन भएको होला, यसको कारण के हो भन्ने कुरा खोज्छ र परिवर्तनले गलत बाटो लिएको रहेछ भने यो बाटो बिराएको हो है भनेर भाषाका प्रयोक्तालाई बताइदिन्छ । बाटो बिराएको होइन रहेछ, स्वाभाविक परिवर्तन रहेछ भने त्यसबारेमा थप छलफल गर्छ र त्यसलाई आत्मसात् गर्छ । शब्दकोशमा पनि त्यस्ता शब्दलाई स्थान र मान्यता दिन्छ । विद्वानहरूको गोष्ठीले कुनै तानाशाहले जस्तो आजदेखि यो बन्द, भोलिदेखि यस्तो लेख्ने भनेर आदेश दिने, उर्दी जारी गर्ने होइन ।

व्याकरणकारको काम भाषाभित्र लुकेर रहेका नियमहरू संवेदनशील भएर, पत्ता लगाएर लिपिबद्ध गरी प्रकट गर्ने हो । भाषाको नियम व्याकरणले बनाउने होइन । भएका नियमहरू देखाइदिने मात्रै हो । भाषाको सम्प्रभुता प्रयोगकर्तामा हुन्छ, त्यसको नियम उनीहरूले गर्ने प्रयोगमा स्वतः बनिरहेको, स्वतः प्रवाहित भइरहेको हुन्छ । भाषालाई सरस्वती पनि भनिन्छ । तिनको आदर गर्ने हो विद्वानले, व्याकरणकारले । सरस्वतीमाथि घोडा चढ्ने होइन । भाषामाथि घोडा चढ्ने होइन । भाषाभन्दा माथि कोही हुँदैन । विद्वान वा व्याकरणकारले विनम्र भएर भाषाभन्दा तल बस्नुपर्छ । तब मात्र सरस्वतीको सम्मान हुन्छ । तब मात्र भाषाको मर्ममा प्रवेश गर्न सकिन्छ । तब मात्र भाषाभित्र लुकेर बसेका नियमहरू उसका सामु प्रकट हुन्छन् र उसले असली नियम लिपिबद्ध गर्न सक्छ । भाषामाथि घोडा चढ्न खोज्नेले त नियमका नाममा विकृतिको मात्र विस्तार गर्छ । हामीकहाँ यस्तै भइरहेको छ ।

भाषाशास्त्रीको काम चाहिँ भाषामा कस्तो प्रचलन आयो, व्याकरणअनुसार चल्यो कि चलेन, किन चलेन होला, मान्छेले कस्तो भाषा प्रयोग गरे, कस्तो प्रवृत्ति देखियो, भाषा कता गइरहेको छ भन्ने कुराको अध्ययन गर्ने मात्रै हो । उसको विषय क्षेत्र नै त्यत्ति हो । बाँकी रह्यो भाषा पढाउने शिक्षक । शिक्षकलाई दिइएको भूमिका भनेको कसैले निर्धारित गरिदिएको पाठ्यक्रम र त्यसको विषयवस्तु कसैले निर्धारित गरिदिएको ढाँचा अनुसार कुनै निर्धारित समूहमा ‘ट्रान्सफर’ गर्ने हो । यस प्रकार, कुनै विद्वान, व्याकरणकार, भाषाशास्त्री वा भाषा शिक्षक कसैलाई पनि बेग्लाबेग्लै वा सामूहिक रूपमा भाषामा हस्तक्षेप गर्ने अधिकार छैन ।

त्यो अधिकार उसलाई कतैबाट पनि प्राप्त हुँदैन । त्यसैले यस्ता मान्छेहरू भेला गरेर गोष्ठी गरियो भन्दै भाषाका बारेमा निर्णय गर्न र लाद्न पाइँदैन । त्यही अनधिकृत काम नेपाली भाषामा भयो र बारम्बार भइरह्यो, जसले नेपाली भाषाको चीरहरण गर्‍यो । सर्वप्रथम २०३४, ३५ सालतिर गोष्ठी आयोजना गरेर यस्तै गरियो । गोष्ठीले भाषा कसरी प्रयोग हुँदैछ भनेर छलफल गर्नुपर्नेमा यसो गर र उसो गर भनेर आदेश दिन थाल्यो । तिनै कुराहरूलाई २०४० मा नेपाली बृहत् शब्दकोशमा स्थापित गरियो ।

२०४० सालको शब्दकोश भन्दा पहिले नेपाली भाषालाई मानक र स्तरीय बनाउने आधार के थियो ? 
–चन्द्रिका लगायत व्याकरण थिए । १९९१ सालतिर नेकशुले पनि आयो । १९९८ सालमा चक्रपाणि चालिसेको नेपाली बगली शब्दकोश आयो, पछि बालचन्द्र शर्माको नेपाली शब्दकोश आयो, अरू कोश पनि आए । उत्कृष्ट साहित्य रचियो, नेपाली वाङ्मय समृद्ध बन्दैगयो । नेपाली भाषा निकै राम्ररी अगाडि बढिरहेको थियो । तर २०४० सालको नेपाली बृहत् शब्दकोशले यसमा अराजकताको बीजारोपण गर्‍यो । त्यसमा हिज्जे बिगारिएका शब्दलाई मूल प्रविष्टि दिइयो, शुद्ध शब्दलाई गौण प्रविष्टि दिइयो ।

त्यही ठूलो नकाम र भाषामाथिको अक्षम्य अपराध भयो । भन्नलाई त हामीले दुवै किसिमको हिज्जे दिएका छौँ, तपाईंको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ भनियो । तर त्यो काइते कुरा थियो, त्यसको निहित उद्देश्य र लक्ष्य बेग्लै थियो । त्यो के भने, राष्ट्रको आधिकारिक शब्दकोशले मूल प्रविष्टिमा जुन हिज्जे दिएको हुन्छ, सरकारी कामकाजमा, औपचारिक लेखाइमा र पाठ्यक्रममा त्यही हिज्जे लागू हुन्छ । यसप्रकार शुद्ध हिज्जे ती सबै स्थानबाट गायब हुने भए ।

नयाँ पुस्ताले नबिगारिएको, शुद्ध हिज्जे पढ्न पाउने भएन । एउटै पुस्ताको अन्तरालमा शुद्ध हिज्जे उन्मूलन हुन सक्ने भयो । यस्तो डरलाग्दो परिणाम निम्त्यायो २०४० को नेपाली बृहत् शब्दकोशले । त्यसमा विचार पुगेन भन्ने लाग्छ मलाई । त्यो अभियान र त्यस शब्दकोशका मूल नाइके र निर्देशक बालकृष्ण पोखरेल स्वयंले त्यो गल्ती स्वीकार्नुभएको छ । उहाँले बारम्बार २०४० सालमा मैले जे गरेँ, त्यो झर्रोवादको उग्रता लागू गरेको थिएँ, त्यसले गर्दा नेपाली भाषामा अराजकता आयो र अहिलेको सम्पूर्ण अराजकताको जड त्यही हो भनेर भन्नुभएको छ ।

तपाईंको भनाइको मतलब त्यतिबेला विकल्प दिनुहुँदैन थियो, जे प्रचलनमा थियो त्यसलाई मात्र प्रविष्टि दिनुपथ्र्यो भन्ने हो ? 
–विकल्प त दिनैपथ्र्यो तर शुद्ध र मूल रूपलाई मूल प्रविष्टि दिएर गौण वा अपभ्रंश रूपलाई वैकल्पिक प्रविष्टि दिनुपथ्र्यो । तर त्यसको उल्टो भयो । तैपनि प्रयोगकर्ताहरूले शुद्ध र मूल रूप नै प्रयोग गरिरहे । खासै धेरै फरक परेन ।

तर, विश्वविद्यालयहरूमा चाहिँ कस्तो गर्न थाले भने, खुशीको श मोटोको सट्टा पातलो स लेख्नुपर्छ भन्न थाले । मोटो श भएको खुशी लेख्यो भने फेल गर्ने, थेसिस नै रोक्ने, अस्वीकार गर्ने काम गरे । कट्टर, जडसूत्रवादी बनेर त्यो विकृतिलाई स्थापित गर्ने हठवादमा संलग्न भए । अझ २०५८ सालमा त शब्दकोशको परिमार्जन गर्ने नाममा त्यो शुद्ध र मूल हिज्जे भएको रूप पनि हटाइयो । शुद्ध हिज्जे भएका मूल शब्द कसैलाई पत्तै नदिई षडयन्त्रमूलक तवरले शब्दकोशबाट गायब पार्ने दुस्साहस गरियो । स्तरीय नेपाली वाङ्मयमा प्रयुक्त शब्दहरू शब्दकोशमा नभेटिने भए । विडम्बना त के भने, त्यो षडयन्त्रका अगुवाहरू नै अहिले म मानक नेपाली बनाउँछु, नेपाली भाषाको उद्धारक हुँ भन्दै, सञ्जाल बनाउँदै हिँडेका छन् । सुन्दा पनि उच्चाट लाग्ने कुरा ।

अर्को कुरा चाहिँ के भने, २०४० सालको त्यो शब्दकोशबाट सरकारी ओहोदामा बसेर, राजकीय सत्ताको उपयोग गरेर भाषालाई भाँड्न, बिगार्न पाइँदोरहेछ भन्ने नजिर बस्यो । तैपनि त्यतिखेर त अलिक विवेक भएका मान्छेहरू हुनुहुन्थ्यो र त्यति भाँडभैलो भइहाल्न पाएन । तर, उहाँहरूको सेखपछि आएका मान्छेहरूमा त्यो विवेक थिएन । त्यो गहिराइ थिएन । अनि भाषा भाँड्न पाइँदो रहेछ भन्ने त्यो नजिरलाई समातेर उनीहरूले अझ भद्रगोल बनाउँदै गए ।

दूध, मीत जस्ता शब्द क्षतिपूर्ति दीर्घीभवनको नियमबाट दीर्घ हुन्छन्, यो भाषाको नियम हो, सिद्धान्त हो भनेर ४०औँ वर्षदेखि पढाइँदै आएको थियो । तर एक दिन गोष्ठी बसेछ अनि भोलिपल्ट बिहानै अबदेखि यो क्षतिपूर्ति दीर्घीभवन भन्ने हटाउने, दूध मीत आदि सबै ह्रस्व लेख्ने भन्ने उर्दी जारी भयो । त्यसो भन्नेहरूसँग अलिकति पनि प्राज्ञिक नैतिकता भए ४० वर्षसम्म हामीले पढाएको गल्ती थियो भन्न सक्नुपथ्र्यो नि त । ४० वर्ष दीर्घ हुन्छ भनेर पढाएको पनि सही, अनि विना कारण ठिँगुर्‍याएर ह्रस्व बनाउने भन्दा पनि सही त हुँदैन नि । यसै क्रममा संयुक्त अक्षरको खुट्टा काट्ने भन्ने उर्दी आयो । विद्या लेख्ता एक ठाउँमा खुट्टा काट्ने, द्वन्द्व लेख्दा दुई टाउँमा खुट्टा काट्ने जस्ता कथित नियम लादिए, सिङ्गो शब्दकोश त्यसको सिकार भयो । संयुक्त अक्षरको जथाभावी खुट्टा काट्नु हुँदैन भनेर पहिलो पटक मैले नै कुरा उठाएको थिएँ ।

२०७२ सालको शब्दकोश नै खारेज गर्नुपर्ने अवस्था चाहिँ त्यतिकै कारणले आएको हो ?
–मूल कुरो त भइरहेका शुद्ध शब्दलाई विकृत बनाउनु हुँदैन भन्ने नै थियो । शुद्धतातिर नै जानुपर्छ, स्थापित हिज्जेतिरै जानुपर्छ, भाषालाई अस्थिरतातिर लानुहुँदैन भन्ने नै थियो । शब्दकोशमा मूल शब्दलाई मुख्य प्रविष्टि दिनुपर्छ, हिज्जे बिगारिएका शब्दलाई वैकल्पिक प्रविष्टिमा राख्नुपर्छ भन्ने नै मूल कुरो थियो । तर, विकृति घटाउनुको सट्टा बढाउँदै लगिएको थियो । मूल शब्दहरूलाई नै शब्दकोषबाट हटाउने षडयन्त्र गरिएको थियो ।
यसैबीच संयुक्त अक्षरको खुट्टा काट्ने उर्दी जारी भयो र त्यसलाई बलपूर्वक लागू गर्ने अभियान चलाइयो । लामो समयसम्म कसैले केही नबोलेपछि मैले नै शिक्षक पत्रिकामा यसबारे एउटा लेख लेखेँ । अनलाइनहरूले त्यसलाई प्रमुखतासाथ प्रसारण गरे । त्यसपछि, त्यो लेख पढ्ने मान्छेहरूलाई एकदमै असह्य भयो र उनीहरूले सशक्त रूपमा आवाज उठाए ।

त्यसमा मैले भनेको छु, संयुक्त अक्षरको अवधारणा देवनागरी लिपिको मूल प्रकृति र चरित्रको एउटा अभिन्न अङ्ग हो । खुट्टा काटेर लेख्न थालेपछि संयुक्त अक्षर भन्ने अवधारणा नै समाप्त हुन्छ । व्यञ्जन वर्ण आधा मात्राको अर्थात् खुट्टो काटिएको हुन्छ । त्यसैले त्यो आफू एक्लै उभिन सक्दैन भनेर त्यसलाई अर्को व्यञ्जनसँग जोडिन्छ । संयुक्त अक्षर त्यही हो । हामी क, ख, ग, घ पढ्छौँ । व्यञ्जन वर्ण त क्, ख्, ग्, घ् हुन् नि । तिनमा अ जोडेर पढ्छौँ । कुनै व्यञ्जन स्वरको आड नलिई आयो भने उभिनका लागि उसले त्यसपछि आउने अर्को व्यञ्जनको सहारा लिनुपर्छ । त्यो कि अर्काको बुई चढ्छ, कि अर्काको काँधमा अडेस लागेर हिँड्छ । खुट्टा नभएपछि कि कसैले बोक्नुप¥यो, कि कसैको काँधमा अडेस लागेर हिँड्नुपर्‍यो । संयुक्त अक्षर त्यही हो । यो चिज रोमन लिपिमा हुँदैन । त्यसको प्रकृति बेग्लै छ । हामी अक्षर बनाएर लेख्छौँ र त्यही पढ्छौँ, बोल्छौँ । रोमनमा चाहिँ वर्ण मात्र लेखिन्छ र अक्षर बनाएर पढिन्छ, बोलिन्छ ।

त्यो लेखमा मैले के लेखेको थिएँ भने, सुरुमा ५, ७ वटा शब्दमा मात्र खुट्टा काटेको देखाइए पनि नियम चाहिँ सबै संयुक्त अक्षर खुट्टा काटेर मात्र लेख्ने भन्ने बनाइएको छ । संयुक्त अक्षर खुट्टा काटेर लेख्ने सिद्धान्त स्थापित गर्नेबित्तिकै त्यसले यी ५, ७ वटालाई मात्र होइन सबै संयुक्त शब्दलाई समेट्छ । सिद्धान्त मानेपछि त समेट्नै प¥यो । त्यसपछि पहिलो चरणमा स्थिति यस्तो हुन्छ, दोस्रो चरणमा स्थिति यस्तो हुन्छ र तेस्रो चरणमा पुग्दा नेपाली भाषा अब देवनागरी लिपिमा नलेख्ने भन्ने कुरा जोडदार रूपमा उठ्छ । त्यसबेला यसो गर्नुहुँदैन भन्ने कसैको पनि हैसियत बाँकी रहँदैन । यसरी देवनागरी लिपिमा लेखिने नेपाली भाषा केही वर्षमै समाप्त हुन्छ । अवश्यम्भावी तवरले आइलाग्ने यो परिणति सुस्पष्ट रूपमा, छर्लङ्ग हुने गरी देखाइदिएपछि भाषा प्रयोगकर्ताहरू जागे, आक्रोशमा आए ।

यति भइसकेपछि भाषिक विकृतिको प्रवर्धक भएर बसेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अब हामी पनि बच्ने रहेनछौँ भनेर आत्तिए । अनि आफूले नै सही गरेका निर्णयहरूलाई बिर्सेजस्तो गरेर बोल्न थाले ।

प्रज्ञा प्रतिष्ठान एक हप्ता अघिसम्म पनि हामीले जे गरेका छौँ त्यही ठीक छ, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी गरेर यो हिज्जे र यो नियम बनाएको भन्दै वक्तव्य दिइरहेको थियो । ठीक एक हप्तापछि भने एकैचोटि शब्दकोश नै खारेज गर्ने अवस्थामा पुग्यो । यसले पनि प्रज्ञा प्रतिष्ठानको विचित्रको स्थिति देखाउँछ । एक हप्ता अघिसम्म अनेकौँ राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलनहरूको हवाला दिएर आफ्नो नियम ठीक छ भनिराखेकोमा एक हप्तापछि कुनै गोष्ठी सङ्गोष्ठीविनै पहिलेका ती निर्णयलाई डस्टबिनमा हालिदियो । भनेपछि, आफूले गराउने गोष्ठीहरूलाई त उसले  नाटक मात्रै मान्दो रहेछ नि ! यसप्रकार, निर्णय पहिले नै तयार पारेर त्यसमा ल्याप्चे लगाउन मात्र गोष्ठीको नाटक गरिँदो रहेछ भन्ने स्पष्ट पारेर प्रज्ञा प्रतिष्ठानले आफ्नो गरिमा, प्रतिष्ठा र विश्वसनीयतालाई आफै सिध्यायो । हुन पनि, संसारमा यो नै यस्तो एकेडेमी होला जो आफूले बनाएको शब्दकोश आफै बदर गरिहिँड्छ । यसबापत यसको नाम गिनिज बुकमा लेखियो भने अचम्म नमाने हुन्छ ।

सङ्क्षेपमा भन्दा मूल र शुद्ध हिज्जे भएका शब्दहरूलाई जबर्जस्ती दोस्रो दर्जामा झार्ने काम ४० सालको शब्दकोशले ग-यो । त्यसपछि वैकल्पिक रूपमा रहेका शुद्ध हिज्जेलाई पनि फाल्ने अभियान २०५८ मा सुरु भयो । त्यसको अनुक्रममा चरणबद्ध रूपमा अरू धेरै किसिमका विकृति जबर्जस्ती लाद्ने काम भयो । अन्ततः संयुक्त अक्षरको खुट्टा काट्ने कुरा आएपछि प्रयोगकर्तालाई असह्य भयो र प्रज्ञा प्रतिष्ठानले घुँडा टेक्नुपर्‍यो ।
यस क्रममा त्रिभुवन विश्वविद्यालयले पनि आफूले गरेको निर्णय आफैले उल्ट्याएको छ । उसले नै सही गरेर पठाएको कागजबाट त्यो निर्णय भएको थियो र आज ऊ त्यही निर्णयका विरुद्ध उभिएको छ । आफैले सही गरेको त्यो निर्णय उसले न फिर्ता लिएको छ, न गल्ती गरेँ भनेर माफी नै मागेको छ । अर्को उदेक !

भनेपछि, २०७२ सालको खारेजवाला शब्दकोश निर्माण गर्नमा र त्यसलाई खारेज गर्नमा पनि त्रिभुवन विश्वविद्यालयको हात छ भन्न खोज्नुभएको हो ?
–भाषा बिगार्ने सन्दर्भमा विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानलाई म फरक देख्दिनँ । किनभने, को मान्छे कहिले विश्वविद्यालयमा थियो र कहिले प्रज्ञा प्रतिष्ठानमा आयो भनेर यसो सम्झी हिँड्नुपर्छ । भाषा बिथोल्न दुवै संस्थामा  सक्रिय हुने मान्छे उनै हुन् । पालो पर्दा यता आउने, पालो नपर्दा उता जाने हुन् । औपचारिक निर्णय प्रज्ञा प्रतिष्ठानले गर्ने गरेको हुँदा विश्वविद्यालयले प्रज्ञालाई मानेको जस्तो देखिएको मात्र हो । यो प्राविधिक कुरा मात्र हो, अरू केही होइन । भाषा भाँड्ने मामिलामा दुवैको मत एउटै देखिएको छ । फलानो मितिमा हामीले यस्तो बैठक गर्‍यौँ, ढिस्कानो मितिमा यस्तो निर्णय गर्‍यौँ  भनेर उनीहरूले लम्बेतान कथा भनेको सुनिन्छ । तर कहाँबाट प्राप्त भयो उनीहरूलाई भाषाबारे निर्णय गर्ने अधिकार ? के हो त्यसको स्रोत ? संसारमा कुन भाषामा कसले गर्छ यस्तो अराजक, अनधिकृत चेष्टा ?

भाषा बिगारेर विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई कसरी दुःख दियो भन्ने त मैले भर्खरै उल्लेख गरेँ । विश्वविद्यालयकै मानिसले त्यो विकृति स्कुल तहसम्म सङ्क्रमित गराएका छन् । दशकौँ भइसक्यो, प्राथमिक तहदेखि स्नातक तहसम्म नेपाली अनिवार्य छ । सबै मान्छे पास भएकै छन् । नेपालीका गुरुहरूले नै जाँच लिएर उत्तीर्ण गराउँदै आएका छन् । गुरुहरूलाई तर्साएर, धम्क्याएर, जबरजस्ती गरेर त तिनले नम्बर पाएका होइनन् होला । गुरुहरूले जाँचेरै नम्बर दिएका होलान् । यसरी बितेका ४० वर्षमा लाखौँ लाख नेपाली अनिवार्य नेपाली विषयमा तलदेखि माथिसम्म उत्तीर्ण भए, जानकार भए । तर तीमध्ये एक प्रतिशत त के, त्यो एक प्रतिशतको दशांशले पनि दुई अनुच्छेद शुद्ध नेपाली लेख्न सक्छु, मेरो नेपाली भाषा पूर्णतः ठीक हुन्छ भन्न सक्ने अवस्था छैन । त्यो आत्मविश्वास उसमा हुँदैन । यसको कारण के हो ? सिक्ने मान्छेको कमजोरी हो ? कि पढाउने मान्छेको अक्षमता हो ?

संसारभरिका शिक्षाशास्त्रीहरू के भन्छन् भने विद्यार्थीले बुझ्न नसक्ने भन्ने कुरा हुँदैन । त्यो पनि आफ्नो मातृभाषा नबुझ्ने, नजान्ने कुरै हुँदैन । उसले बुझेन, जानेन भने त्यो पढाउने मान्छेको अक्षमता हो । त्यो अक्षमताको सिकार उनीहरूले भाषालाई बनाए । कति दुःखद कुरा । विद्यार्थी चाहिँ सबै फेल र नजान्ने, अनि पढाउने चाहिँ सबै पास र जान्ने ? कहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो । नेपाली भाषालाई कति दारुण अवस्थामा पुर्‍याइएको छ भन्ने कुरा अलिकति संवेदनशील भएर हेर्नुभयो भने तपाईंको आत्मा रुन्छ । आफ्नै मातृभाषाप्रति शिक्षित नेपालीहरू समेत डराउनुपर्ने, हच्किनुपर्ने, म जान्दिनँ–शुद्ध लेख्न सक्तिनँ भन्नुपर्ने भएपछि; म राम्रो नेपाली जान्दछु भन्ने एक प्रतिशत पनि नेपाली बाँकी नरहने भएपछि नेपाली भाषाको स्थिति कति दयनीय भएको रहेछ त ? यस्तो पनि हुन्छ संसारमा ? यसैगरी हुन्छ नेपाली भाषाको विकास ? यो सब कसका कारणले भयो ? सिक्ने मान्छेका कारणले भएको त होइन  होला । सिकाउने मान्छेमा कसरी सिकाउने, के कुरा सिकाउने भन्ने कुराको योग्यता नपुगेको, क्षमता नभएको बाहेक के कारण हो त ?

संयुक्त अक्षरकै कुरा गर्नुहुन्छ भने एक सय दस वर्ष हुन लाग्यो, लेखनाथ पौडेलले केटाकेटीलाई वर्णमाला सिकाउने प्राथमिक किताब ‘शिशुबोधिनी’ लेख्नुभएको । त्यो किताबको भूमिकामा उहाँले लेख्नुभएको छ, संयुक्त अक्षरका बारेमा राम्रोसँग एक पटक केटाकेटीलाई सिकाइदिने र अभ्यास गराइदिने हो भने जिन्दगीभर उनीहरू जस्तोसुकै  संयुक्त अक्षर पनि राम्ररी लेख्न पढ्न सक्ने हुन्छन् । त्यति पनि सिकाउन नसक्नेलाई कस्ता शिक्षक भन्ने ? आफूले सिकाउन नसकेपछि त्यसको सिकार भाषालाई बनाउने शिक्षक, प्राध्यापक र प्राज्ञलाई के भनेर सम्बोधन गर्ने ?

भाषा परिवर्तनशील हुन्छ भनिन्छ, सञ्चार तथा साहित्य जगतमा तपाईंले विद्यार्थी कालदेखि देखेभोगेको र अहिलेको वर्णविन्यासमा के परिवर्तन पाउनुभएको छ ? 
–भगवानको कृपाले म विद्यार्थी छँदा यस्तो अराजकता थिएन । शुद्ध शब्द प्रयोग गर्नुपर्छ भन्ने थियो । शुद्ध र मूल हिज्जे नै प्रयोग गर्नुपर्छ भन्ने थियो । मूल हिज्जे नै प्रयोग गरिन्थ्यो । त्यसमा न कसैको विवाद थियो, न विमति नै । आजको जस्तो अराजकता नभएको हुँदा नेपाली भाषा लेख्न, पढ्न, जान्न, बुझ्न कुनै समस्या थिएन । २०४० सालमा भाषालाई गिजोल्न थालिएपछि, अझ ५५–५६ साल यता त्यो विकृति उन्मादपूर्ण तवरमा चर्काउन थालिएपछि धेरै नै गन्जागोल भएको हो । मानिसलाई लाग्ला, यो सब विद्वानहरूले गरेको हो । तर यो विद्वानको काम होइन । वास्तविक विद्वानले यसो गर्दैनन् ।

विद्वानले त भाषाको गम्भीर अध्ययन गर्छन्, चिन्तन मनन गर्छन् र त्यसको निष्कर्ष निकाल्छन् । यो ठीक यो बेठीक भन्छन्, त्यो भन्ने अधिकार उनीहरूलाई हुन्छ । त्यो कुरा, त्यो निष्कर्ष उनीहरूले समाजका सामु राखिदिन्छन् । समाजले स्वीका¥यो र ग्राह्य भयो भने त्यो कुरा भाषाले स्वतः अङ्गीकार गरिहाल्छ । स्वीकारेन भने त्यो एउटा मतका रूपमा बस्छ । त्यसैले मुकुन्दशरण उपाध्याय, शिवराज आचार्य, चूडामणि रेग्मीहरूले जे गर्नुभएको छ नि, त्यो हो विद्वान्ले गर्ने काम । आफ्नो कुरा राख्ने, समाजले ग्रहण गर्छ भने ठीक छ, ग्रहण गरेन भने पनि आफ्नो मत रहन्छ । भोलि मानिसले कुरा बुझ्लान् र ग्रहण गर्लान् । आफ्नो प्रज्ञा, आफ्नो विद्वत्तामा आत्मविश्वास भएकाले यसो गर्छन् । कुनै पनि कुरा जबर्जस्ती लाद्न खोज्दैनन् । आफ्नो विद्वत्ताप्रति आत्मविश्वास नभएकाहरूले मात्र नाना तिकडम गरेर, सत्ताको छहारी खोजेर र शासनको आडमा भाषा भाँड्ने कुचक्र चलाउँछन् । विभिन्न किसिमका प्रपञ्च गरेर एकेडेमीमा पुग्यो, भाषामा आफ्नो अधिकार भन्दा बाहिर गएर जथाभावी अनधिकृत निर्णय गर्‍यो अनि त्यो निर्णय राज्यसत्ताको बलमा निरङ्कुश तवरले जबरजस्ती लागू  गर्‍यो । छद्म बुद्धिजीवीको, आफ्नो प्रज्ञाप्रति आफैलाई विश्वास नभएकाहरूको प्रवृत्ति यस्तै हुन्छ । उनीहरूमा लोकतान्त्रिक प्रवृत्ति हुँदैन, स्वेच्छाचारी निरङ्कुश प्रवृत्ति हुन्छ ।

एक ठाउँमा तपाईंले आज हाम्रो भाषा अज्ञान वा असावधानीवश गरिएका त्रुटिबाट असंस्कृत अवस्थातर्फ अभिमुख भएको मात्र होइन, सुनियोजित तवरमा भइरहेको साङ्घातिक प्रहारले क्षतविक्षत भएको भन्नुभएको छ । भाषामा कस्ता कस्ता साङ्घातिक हमला भएका छन् ?

–साङ्घातिक प्रहार भनेको असह्य आघात पार्ने, थचक्कै पार्ने, मरणासन्न हुने गरी चोट पार्ने प्रहार हो । हिज्जेका नाममा भाषामाथि भएका जुन प्रहारहरूको मैले यसअघि उल्लेख गरेँ, ती सबै साङ्घातिक प्रहार हुन् । भाषालाई आफ्नो स्वाभाविक गतिमा अगाडि बढ्न नदिएर अबदेखि यो अक्षर चाहिँदैन, यो मात्रा चाहिँदैन, पूरै वर्णमाला चाहिँदैन, यी सबै शब्दलाई अङ्गभङ्ग गरेर विकृत बनाउनुपर्छ, संयुक्त अक्षर जति खुट्टा काटेर मात्र लेख्न पाइन्छ भनेर वितण्डा खडा गर्नु नै भाषामाथिका साङ्घातिक प्रहार हुन् । ती कुरा मतका रूपमा आएको भए केही समस्या थिएन, स्वागतयोग्य नै हुनेथियो । तर यहाँ त उर्दीको ढाँचामा, राज्यशक्ति र सत्ताको प्रयोग, अझ दुरुपयोग गरेर ती कुरा जबरजस्ती लाद्न र भाषाको ढाड भाँच्न खोजियो । साङ्घातिक प्रहार भनेकै यही हो ।

तर नेपाली कसरी शुद्ध लेख्ने २०६९ मार्फत नेपाली भाषालाई १९९१ तिरै फर्काएको आरोप तपाईंहरूमाथि लागेको छ नि, के यो सत्य हो ? 
–मलाई लाग्छ, नेकशुले २०६९ पनि नपढेका र १९९१ सालको नेपाली कस्तो थियो भन्ने पनि थाहा नभएका मानिसले आरोपका लागि आरोप लगाउन अथवा भ्रम फैलाउन भन्दिएको कुरा मात्र हो यो । प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयले अँगालेको सङ्कीर्ण, पश्चगामी र अराजकतावादी बाटोभन्दा विपरीत उदार, अग्रगामी र व्यवस्थित मार्ग अँगालेको छ नेकशुले २०६९ ले । एउटा उदाहरण दिन्छु । अरू भाषाका शब्द आफ्नो भाषामा लिँदा आफ्नै तरिकाले उच्चारण गर्ने र त्यसैगरी लेख्ने भन्ने तद्भवीकरणको हिजोको सिद्धान्त आज असान्दर्भिक र मृत भइसकेको छ ।

सूचना प्रविधिको तीव्र विकासले आज संसारभरि जुनसुकै भाषाबाट जुनसुकै भाषामा शब्दहरू जस्ताको तस्तै, तत्सम रूपमा आउन–जान थालेका छन् । बोलिन–लेखिन थालेका छन् । नेपाली पारा भनेर तपाईं सी चिनफिङलाई छी जिनपिङ लेख्न पाउनुहुन्न । यो आजको यथार्थ हो । उनीहरू यति टड्कारो सत्य पनि देख्न सकिरहेका छैनन् र आज पनि तद्भवीकरणको लास बोकेर अन्य भाषाबाट आएका शब्दहरूको अङ्गभङ्ग गर्ने अड्डीमा छन् । विदेशी मात्र पनि होइन, आफ्नै देशका राष्ट्रिय भाषाहरूबाट आएका शब्दलाई समेत विरूप पार्दै र अपमानित गर्दै जाने उनीहरूको अभियान छ । यसले कति ठूलो विकृति र विग्रह ल्याउँछ भन्ने उनीहरूलाई किंचित् भानसम्म छैन । हामी त्यो लास बोक्न तयार छैनौँ । यसरी आएका शब्द तिनलाई विरूप नपारी यथावत् ग्रहण गर्नुपर्छ भन्ने मान्यतामा छौँ । नेपाली भाषालाई मृत मान्यताको कारागारमा बन्दी बनाएर ठिँगुर्‍याउन तयार छैनौँ; उदार, उन्मुक्त र विश्वव्यापी उडान भर्न सक्ने बनाउनुपर्छ भन्ने अभियानमा छौँ । अब तपाईं नै भन्नोस्, को अग्रगामी छ र को पश्चगामी हो ।

हाम्रो मान्यता के हो भने भाषा आफ्नो जरोबाट काटिन हुँदैन । जरोसँग दरो गरी जोडिएर, गाँसिएर बस्नुपर्छ । जरो काठियो भने रूखबिरुवा झैँ भाषा पनि मर्न थाल्छ । शुद्ध, सही हिज्जे र मूल हिज्जे, त्यो पनि लोकव्यवहारबाट स्थापित भइसकेको, राम्रा साहित्यकार र वाङ्मयसेवीहरूले प्रयोग गरिआएको, उनीहरूले स्वीकारेको हिज्जेलाई हामीले बिर्सन, लत्याउन हुँदैन, शब्दको सम्मान गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो । त्यसपछि भाषाले जे जति नयाँ नयाँ प्रवृत्ति अँगाल्छ, जे जति परिवर्तन स्वीकार गर्छ त्यसलाई खुला रूपमा अङ्गीकार गर्नुपर्छ । भाषा अगाडि बढ्ने, व्यापक, विकसित र सर्वस्वीकार्य बन्दै जाने बाटो यही हो भन्ने हाम्रो निष्कर्ष हो । एकेडेमी र विश्वविद्यालय जहाँ छन्, हाम्रो भाषा त्योभन्दा धेरै अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौँ ।

१९९१ र २०६९ को नेकशुलेमा चाहिँ के फरक छ ?
–त्यसबेला एकखालको हिज्जे थियो । पदयोग वियोगसम्बन्धी एकखालको चलन थियो । त्यसबेला तद्भवीकरणको सिद्धान्त जीवित, जाग्रत र सक्रिय थियो । १९९१ को नेकशुले आदेशका रूपमा आएको थियो । तैपनि निकै राम्रो थियो । त्यसपछि भाषामा परिवर्तन हुँदै आयो । आज भाषा धेरै अगाडि आइसकेको छ । यसले नयाँ नयाँ प्रवृत्ति अँगालेको छ । भाषाले स्वाभाविक गतिमा अङ्गीकार गरेको परिवर्तनलाई हामीले सहर्ष आत्मसात् गर्नुपर्छ । भाषाको विकास यसैगरी हुने हो । जबर्जस्ती लादिएको कुरा चाहिँ पूरै गलत हो, त्यसले भाषालाई कमजोर बनाउँछ, अक्षम बनाउँछ । हामीले भाषालाई त्यसबाट जोगाउनुपर्छ ।

१९९१ पछि भाषाले आत्मसात् गरेका परिवर्तन अङ्गीकार गर्ने तर कसैले अनधिकृत रूपमा जबर्जस्ती लादेका कथित परिवर्तन अस्वीकार गर्ने काम गरेको छ नेकशुले २०६९ ले । यसले भाषाको जरो काट्ने, अक्षर मास्ने र भाषालाई सङ्कुचित एवं साँघुरो बनाउने प्रवृत्तिलाई अस्वीकार गरेको छ । तद्भवीकरणको मृत भइसकेको सिद्धान्तलाई इतिहासको जिम्मा लगाइदिएको छ । भाषाले अङ्गीकार गरेको स्वाभाविक परिवर्तनलाई आत्मसात् गरेको छ । भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ भन्ने तथ्य अनि शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको सुदृढ जगमा उभिएर नै भाषाको विकास एवं विस्तार हुन सक्छ भन्ने यथार्थ मनन गरेको छ । १९९१ को नेकशुले त्यसबेलाका लागि थियो, नेकशुले २०६९ आज र भोलिको नेपालीका लागि हो । यो आदेश होइन, व्यवस्था हो । भाषाको जरो नकाट्ने, यसको जग हल्लिन नदिने, शब्दको सम्मान गर्ने अनि भाषाले अँगालेका र अँगाल्न चाहेका प्रवृत्तिलाई स्वीकार र स्वागत गर्ने यसको सारांश हो ।

त्यसमा बालकृष्ण पोखरेल र तारानाथ शर्मालाई झुक्याएर सही गराउनुभयो भन्ने कुरा छ नि ?
–यो दिउँसै रात पार्न खोज्ने कुरा हो । नेकशुले २०६९ को निर्माण नेपाली भाषाशास्त्रीहरूका भीष्मपितामह प्रा. बालकृष्ण पोखरेलले आफ्नो सक्रिय निर्देशन तथा सहभागितामा मुकुन्दशरण उपाध्याय, कृष्णप्रसाद पराजुली लगायत नेपाली भाषाका स्वनामधन्य भाषा तपस्वीहरूसँग मिलेर गर्नुभएको हो । यो मैले निर्माण गरेर त्यसपछि उहाँहरुलाई सही गराएको वस्तु होइन । न म त्यस्तो दुस्साहस गर्न सक्छु न उहाँहरुले त्यसरी सही गर्ने कल्पना नै गर्न सकिन्छ ।

त्यसपछि विभिन्न पत्रपत्रिकालाई दिएका अन्तर्वार्ताहरू र उहाँ आफैले लेखेका लेखहरूमा यसबारे सबै कुरा छर्लङ्ग पारेर जानुभएको छ । नेकशुले २०६९ को घोषणा यसका सबै निर्माताहरूले सशरीर उपस्थित भएर, ठूलो विद्वत्सभाका बीच गर्नुभएको हो । घोषणाका क्रममा यसका प्रत्येक बुँदा उपबुँदा र समग्र नेकशुले २०६९ उक्त विद्वत्समुदायले सर्वसम्मति र गौरवका साथ पारित गरी ती महागुरुहरूप्रति कृतज्ञता व्यक्त गरेको हो ।

नेपाली भाषाले आफ्नो आजसम्मको जीवनकालमा यसअघि यति बृहत्, विशिष्ट र गरिमामय भाषिक जमघट देख्ने सुयोग पाएको थिएन । यसमा मैले थप केही भन्नैपर्दैन । तपाईंको प्रश्न नेकशुले २०६९ लाई थाम्न र प्रतिवाद गर्न नसक्नेहरूको प्रलापसँग सम्बन्धित छ; बालकृष्ण पोखरेल जस्ता महागुरुका बारेमा त्यस्तो भन्नु जस्तो घटिया कुरो केही पनि हुँदैन । उहाँले बारम्बार भन्नुभएको छ, मैले २०४० सालमा जे पाप गरेको थिएँ, नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) २०६९ मा सही गरेर त्यसको प्रायश्चित्त गरेको छु ।

नेकशुले २०६९ राज्यसत्ता प्रयोग गरेर लादिएको वस्तु होइन । त्यसकारण यसमा पवित्रता छ, शक्ति छ । चार दशक यता नेपाली भाषामा हिज्जेका मुख्य धार जम्माजम्मी दुइटा मात्र छन्, एउटा बालकृष्ण पोखरेलको र अर्को मुकुन्दशरण उपाध्यायको । दुवै गुरुकुल एकदमै सशक्त छन् । अरू बाँकी भनेका यी दुई गुरुकुल वा धार अन्तर्गत पर्ने सानातिना भँगाला, खोलाखोल्सी, कुलाकुलेसा मात्र हुन् । उहाँहरू जीवनभर आआफ्नै धारमा चट्टानझैँ अडिग भएर बसेका त्यस्ता महागुरु हुनुहुन्थ्यो, जसलाई आफ्नो धारबाट डिगाउने कल्पना पनि कसैले गर्न सक्तैनथ्यो ।

तर, नेपाली भाषालाई अराजकताग्रस्त हुनबाट जोगाउन दुवै महागुरुहरू एक ठाउँमा आउनुभयो । यो एकदमै ठूलो, कसैले कल्पनै गर्न नसक्ने घटना थियो । उहाँहरूसँगै कृष्णप्रसाद पराजुली, कुमारबहादुर जोशी, कमल दीक्षित जस्ता नेपाली भाषा साहित्यका स्तम्भहरूले मिलेर बनाएको र पत्रकारिता, साहित्य, व्याकरण, भाषा, कानुन आदिका क्षेत्रमा आफै संस्था र मानक जस्ता बनिसकेका ८० भन्दा बढी व्यक्तित्वहरूद्वारा सँगै बसेर अनुमोदन गरिएको भाषिक व्यवस्था हो– नेकशुले २०६९ ।

सरकारी जागिरमा नरहेका तर जागिरभन्दा धेरै माथि उठेका यति धेरै दिग्गजहरू नेपाली भाषा जोगाउन इतिहासमा कहिल्यै एउटै मञ्चमा उभिएका थिएनन् । नेकशुले २०६९ को ओज, गरिमा र गहनता यसबाट स्वतः स्पष्ट हुन्छ । यसैले त बालकृष्ण गुरुले यसमा सही गरेर मैले २०४० सालको पापको प्रायश्चित्त गरेँ भन्नुभएको हो । यसै क्रममा प्राडा कुमारबहादुर जोशीले भाषिक अराजकताको बीउ रोप्न उसबेला बालकृष्ण गुरुलाई आफूले पनि सघाएको प्रसङ्ग कोट्याउँदै त्यसबापत सार्वजनिक रूपमा आत्मालोचना गर्नुभएको हो । अब, यति हुँदाहुँदै पनि कसैले घामलाई हत्केलाले छेकेर रात प¥यो भन्न चाहन्छ भने त उसप्रति सहानुभूति मात्र व्यक्त गर्न सकिन्छ ।

नेपालको संविधान (२०७२) पनि तपाईंले नै सम्पादन गर्नुभएको हो, त्यसमा वर्णविन्यास भद्रगोल स्थितिको छ भन्ने छ, कसरी त्यस्तो हुनगयो ? 
–संविधान भनेको देशको दिशा, गति र गन्तव्य निर्धारण गर्ने सर्वोच्च दस्तावेज हो । यसका अक्षर, शब्द, भावना र यसले अङ्गीकार गरेका सिद्धान्त सर्वथा अनुल्लङ्घनीय हुन्छन् । तिनको उल्लङ्घन संविधानको उल्लङ्घन ठहरिन्छ । हाम्रो संविधान सार्वभौमसत्ता सम्पन्न संविधानसभाले निर्माण गरेको दस्तावेज हो । संविधान भनेको ख्यालठट्टा होइन । प्रज्ञा प्रतिष्ठान जस्तो, शिक्षा मन्त्रालय जस्तो वर्ष वर्ष दिनमा सिद्धान्त परिवर्तन गरिरहने, आजको भोलि आफैले आफ्नो निर्णय खारेज गर्ने केटाकेटीको खेल जस्तो कुरा होइन ।

संविधान निर्माण गर्दै जाँदा संविधानसभाका सभासद्हरूलाई यसको भाषा गडबड गर्नुहुँदैन भन्ने अन्तरात्मामा लागेको रहेछ । सायद त्यही भएर संविधान जारी हुनुभन्दा तीन महिना जति अघि अचानक मलाई बोलाइयो । त्यहाँ कोर कमिटीका मान्छेहरू; माओवादी, काँग्रेस र एमालेका एकदमै प्रखर नेताहरू, संविधान निर्माण गर्ने मूल मान्छेहरू, विविध पक्षका विशेषज्ञहरू थिए । त्यहाँ मलाई उपस्थित गराइयो, र तपाईंले संविधानको भाषा हेरिदिनुपर्छ भनियो ।

मैले म तपाईंहरूलाई व्यक्तिगत रूपमा चिन्दा पनि चिन्दिनँ, कतै भेट हुँदा सामान्य शिष्टाचारबाहेक कसैसँग एक मिनेट कुराकानी पनि भएको छैन, मलाई कसरी बोलाउनुभयो भनेर सोधेँ । उहाँहरू मध्येबाट तीन जना विशिष्ट व्यक्तिहरूले हाँस्तै आआफ्नो शैलीमा भन्नुभयो, तपाईंको किताब (हाम्रो भाषा) हामीले पढेका छौँ, भाषाका बारेमा, हिज्जेका बारेमा तपाईंका कुरा पनि हामीलाई थाहा छ । तपाईंलाई हामी राम्रोसँग चिन्छौँ । त्यही भएर तपाईंलाई बोलाएका हौँ । यो तपाईंले नै गर्नुपर्ने काम हो । राम्रोसँग गर्नुपर्छ । संविधानको भाषा राम्रो बनाइदिनोस्, किनभने भाषाको भद्रगोल र अराजकताको अवस्थाबाट हामी वाक्क भएका छौँ । कसलाई के भन्ने, के नभन्ने ? भाषा हाम्रो विषय होइन, त्यसकारण उनीहरूलाई जवाफ दिन हामी सक्दैनौँ । उनीहरूसँग तर्क पनि गर्न सक्दैनौँ । तर हाम्रो भाषा बिग्रिराखेको छ, भद्रगोल भइराखेको छ भन्ने पीर चाहिँ हामीलाई पनि छ । तर त्यसलाई कसरी ठीक बाटोमा ल्याउने भन्ने हामीलाई थाहा छैन । त्यो कुरा पछि गर्दै गरौँला । अहिले चाहिँ संविधानलाई त्यो भद्रगोलबाट जोगाइदिनोस् । शुद्ध हिज्जे कायम हुनुपर्छ भन्ने जुन बाटोमा तपाईं लाग्नुभएको छ त्यही किसिमले काम गरिदिनुहोस् भन्नुभयो । त्यत्तिकै होइन, एकेडेमी र विश्वविद्यालयले हिज्जे बिगारेका कतिपय शब्दको उदाहरण दिएरै उहाँहरूले त्यसो भन्नुभयो ।

उहाँहरूको कुरा सुनेपछि त म चकित नै भएँ । मेरा लागि यो एकदमै अप्रत्याशित, अनौठो घटना थियो । किनभने नेताहरूले, सभासदहरूले भाषालाई यति गम्भीर भएर हेरिरहेका होलान्, एकेडेमी र विश्वविद्यालयले लादेका विकृतिहरूबाट यति दिक्क भएका होलान्, भाषाप्रति यति संवेदनशील होलान् भन्ने मलाई लागेकै थिएन । जे होस्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको भाषा हेर्न एक मात्र भाषा विशेषज्ञका रूपमा मलाई निम्त्याइएको थियो । स्वाभाविक रूपमा म गौरवान्वित थिएँ र छु । मैले आफ्नो कर्तव्य आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म पूर्ण निष्ठाका साथ सम्पन्न गरेँ । एकदमै अन्तिम समयमा कतिपय कुरा थपिएर र परिवर्तन भएर, हतार हतार टाइप र प्रिन्ट गरी सबै सभासदलाई फोटोकपी गरेर बाँड्नुपर्ने अवस्था पनि आयो । तर त्यसको छाया संविधानको भाषामा परेको छैन । संविधानको भाषा र विशेष गरी हिज्जे शुद्ध, सही र मूल रूपमा छ । त्यसैले आफूलाई भाषाको ठेकेदार मान्नेहरू, जसले भाषामा विकृति भित्र्याएर भाँडभैलो मच्चाएका छन्, उनीहरू संविधानको भाषा देखेर छटपटाएका छन् । ती र तिनका पक्षधरको दोषी चस्माले संविधानको भाषामा भद्रगोल देख्नु त स्वाभाविकै हो नि ।

सबैले ख्याल गर्नुपर्ने कुरा के हो भने, संविधानको अक्षर र भावना (लेटर एन्ड स्पिरिट) दुवैको समष्टि संविधान हो । यसका प्रत्येक अक्षर, प्रत्येक शब्द, प्रत्येक कमा र फुल स्टप संविधानका अङ्ग हुन् । त्यसैले, संविधानले जस्तो हिज्जे अपनाएको छ, हिज्जेमा जुन सिद्धान्त अङ्गीकार गरेको छ, त्यसका विरुद्ध कमसेकम सरकार स्वयं र सरकारी पैसाबाट चल्ने, देशको कानुनअन्तर्गत सञ्चालित निकायहरू जान हुँदैन । जान मिल्दैन । प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षा मन्त्रालय त्यो हिज्जे र त्यसको सिद्धान्त विपरीत जान्छन् भने त्यो संविधानको अक्षर र भावनाको बर्खिलाफ हो, संविधानको बर्खिलाफ हो । यो कुरा तिनले गम्भीर भएर बुझ्नुपर्छ, मनन गर्नुपर्छ । संविधान भनेको सम्पूर्ण जनताका प्रतिनिधिहरूले एक–एक अक्षर र एक–एक शब्दमा छलफल गरेर, अनुमोदन गरेर ल्याइएको दस्तावेज होे । यो कुनै एउटा व्यक्तिले बनाएको कुरा होइन । आफूलाई मन परेका मान्छेहरूलाई ल्याएर गोष्ठी गरेर गरेको निर्णय पनि होइन संविधान । संविधानको एउटा पनि शब्द, एउटा पनि अक्षर दुई तिहाइ सांसदको बहुमतले मात्र परिवर्तन गर्न सक्छ भन्ने त सबैलाई थाहा छँदैछ । भाषाका सन्दर्भमा संविधानको अक्षर भनेको हिज्जे हो र भावना भनेको त्यस हिज्जेका पछाडि रहेको सिद्धान्त हो, जसलाई उसले आफैमा लागू गरेको छ । त्यसैले ती दुवैको विपरीत प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालय कदापि जान हुँदैन । तिनका नियम, निर्णय अथवा शब्दकोश यसका विरुद्ध जान हुँदैन । त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।

संस्कृतका वर्ण, शब्द, व्याकरण र नियमहरूको भारी नेपालीले कहिलेसम्म बोकेर हिँड्नुपर्छ ? नेपालीका मात्र वर्ण, शब्द, व्याकरण र नियमको प्रयोग गरेर नेपाली भाषामा लेख्न सकिन्छ कि सकिँदैन ? 
–तपाईंको प्रश्नमा धेरै पक्षबारे जिज्ञासा छ । पहिले वर्णकै कुरा गरौँ । पुस्तौँपुस्तादेखि हामीले सुुनेर, पढेर, लेखेर, बोलेर, सुनाएर आएका परम्परागत जे जति वर्ण छन्, ती सबै हाम्रा वर्ण हुन् । हामीले प्रयोग गर्दैआएका ती वर्ण हाम्रा नभए, नेपालीका नभए कसका हुन् त ? संस्कृतका वर्ण र नेपालीका वर्ण भन्दै विभेद गर्ने कुरा व्यवहारतः नेपाली भाषालाई, यसको क्षमता र शक्तिलाई सङ्कुचित पार्ने उपक्रमबाहेक केही होइन । यसकै पहिलो चरणका रूपमा, ५२ वर्ण रहेको हाम्रो वर्णमालाबाट १७ वर्ण हटाएर उच्चार्य नेपाली वर्णमालामा ३५ वर्ण मात्र छन् भनेर पढाउन थालिएको दुःखद दृश्य तपाईंले देख्नुभएकै छ । परम्परागत वर्णमाला हाम्रो सम्पत्ति हो, बोझ होइन । भएको सम्पत्ति फ्याँकेर दरिद्र बन्ने यो कस्तो बुद्धि हो ?

हेर्नोस् न गाइजात्रा, नेपालीमा ण नै हुँदैन रे । त्यसो भन्नेलाई के हुँदैन अरे भनेर सोध्नुभो भने उसले ण हुँदैन भनेर जवाफ दिन्छ । त्यसो भन्दा उसैले ण उच्चारण गरिरहेको हुन्छ । हुँदैन भने तपाईंले भर्खरै कसरी ण उच्चारण गर्नुभो त भनेर सोध्नोस्, ऊसँग जवाफ हुँदैन । ण हुँदैन भने राना र राणा एउटै हो कि फरक हो त भनेर सोध्नोस्, त्यसको पनि ऊसँग जवाफ हुँदैन । अन्य वर्णको कुरा पनि यस्तै हो । होला, उनीहरूको शास्त्रले ण, श, ष आदिलाई वर्ण नभन्दो होला । तिनलाई उनीहरू अरू नै केही भन्दा होलान् । वर्णको सट्टा संवर्ण भन्छन्, विवर्ण, अनुवर्ण अथवा घाँस, पात, ढुङ्गा, माटो जे भन्छन् भने पनि मलाई कुनै आपत्ति छैन । मेरो भनाइ के मात्र हो भने, तिनलाई जे नाम दिए पनि ती नेपालीमा छैनन् भन्न चाहिँ पाइँदैन । शास्त्र र सिद्धान्तका आडमा लोकव्यवहार र परम्परा बिथोल्न पाइँदैन । त्यो कदापि स्वीकार्य हुँदैन । त्यसो गर्न पाइने भए त वेदान्तशास्त्रीले संसार मिथ्या हो भन्ने नाममा, भक्तिमार्गीले भगवानको इच्छाविना एउटा पात पनि हल्लिन सक्तैन भन्ने मान्यतामा अनि प्रतीत्यसमुत्पादवादीले एक क्षण अघिको मानिस अर्को क्षणमा रहँदैन भन्ने आधारमा जघन्य अपराधीलाई सजाय गर्न नहुने परमादेश दिन थाल्थे होलान् । यो दुनियाँमा त्यस्तो कहीँ देख्नुभएको छ त ?

अहिले त के भइराखेको छ भने, जसले राम्रोसँग उच्चारण गर्न सक्दैन, जहाँ कमजोरी छ, जहाँ अशुद्धि छ, त्यसैलाई मानक घोषित गर्न थालिएको छ । शुद्ध लेख्ने र स्पष्ट उच्चारण गर्नेलाई निन्दा गरेर, होच्याएर, पन्छाएर कसैले अशुद्ध लेख्यो, अस्पष्ट उच्चारण गर्‍यो भने त्यही चाहिँ मानक हो भनेर महिमामण्डित गर्ने कार्य भएको छ । कसैले वाणी भन्न सकेन र बानी भन्यो त्यसैलाई मानक भन्दिने, कसैले गणेश भन्न जानेन र गनेस भन्दियो भने आहा यो पो हो मानक उच्चारण भन्दिने, कसैले शहीद भन्न सकेन र सहिद भन्यो भने त्यसैलाई मानक घोषणा गरिदिने  उन्माद चढेको छ । यही पारा हो भने कुन दिन शहीदलाई सइद लेख्ने उर्दी जारी हुने हो, ठेगान छैन । किनभने कैयौँले त शहीदलाई सइद नै भनेको सुनिन्छ नि, होइन र ? यो उन्मादले नेपाली भाषालाई कमजोर बनाइरहेको छ । हाम्रो भाषालाई भीरतिर नधकेलौँ भन्न खोजेको हो हामीले ।

अब आउनोस् शब्दको कुरामा । महाकवि देवकोटाले नेपाली भाषा भन्ने निबन्धमा भन्नुभएको छ, ‘कसैले संस्कृत भाषा भन्दा नेपाली भाषा ज्यादा गरीब छ भन्छ भने म भन्दछु, नेपाली संस्कृत भन्दा कमसेकम दोब्बर धनी छ । नेपाली संस्कृत भाषाको काँधमा चढेको पाइन्छ । सारा संस्कृत नेपाली भाषाको अन्तर्गत धन हो ।’ मलाई लाग्छ, संस्कृतका शब्द र नेपालीका शब्द भनेर गलफत्ती गर्नेहरूलाई महाकविको यही जवाफ पर्याप्त छ । कुनै पनि भाषाले अन्य भाषाहरूबाट शब्द लिएरै आफ्नो शब्दभण्डार बढाउने गर्छ । अन्य भाषाबाट शब्द नलिने भाषा अघि बढ्न सक्तैन । रह्यो व्याकरण र नियमको कुरा । संस्कृतबाट नेपालीमा आएका शब्द संस्कृतकै व्याकरण र नियम अनुसार बनेर आएका हुन्, तिनमा नेपालीले टाउको दुखाउनै परेन । त्यसबाहेक चाहिँ नेपाली भाषाको आफ्नै व्याकरण र नियम छ, त्यसलाई राम्ररी बुझ्न, पहिचान र प्रयोग गर्न सक्नुपर्छ । यति पनि गर्न नसकिएकाले मात्र गन्जागोल भएको हो । नेपाली शब्दको प्रकृति प्रत्यय पर्गेल्न संस्कृतको अन्धानुकरण बिल्कुलै आवश्यक छैन ।

नेपाली भाषामा पदयोग पदवियोगको समस्या पनि निकै जटिल देखिएको छ, यसलाई समाधान गर्ने उपाय के छ ? 
–नेपाली भाषामा पदयोग–वियोगको वस्तुतः कुनै समस्या छैन । नेपाली भाषाको प्रकृति पर्गेल्न नसक्नेहरूले संस्कृतको अन्धानुकरण गर्न र गराउन खोजेकाले मात्र समस्या सिर्जना भएको हो । यो नकली समस्या हो । अवश्य पनि नेपाली भाषा संस्कृतबाट आएको हो । संस्कृतको सन्तान हो । तर जसरी मानिसको सन्तानले आमाबाबुका धेरै विशेषता लिए पनि त्यसभन्दा छुट्टै आफ्नो बेग्लै विशेषता पनि बोकेको हुन्छ, भाषामा पनि त्यस्तै हुँदो रहेछ । नेपाली भाषाले स्वाभाविक रूपमा संस्कृतका धेरै कुरा लिएको छ । तर केही कुरामा आफ्नो बेग्लै विशेषता पनि बोकेको छ । संस्कृतमा समास भनेको धेरै शब्द वा पद मिलेर एउटा पद बन्ने प्रक्रिया हो । त्यसैले समास भएपछि जतिवटा शब्द मिलेका भए पनि अनिवार्यतः एउटै डिकोमा, जोडेर लेखिन्छ ।

जस्तै, नेपालसंस्कृतविश्वविद्यालय, परीक्षानियन्त्रणकार्यालय । तर नेपाली भाषाको प्रकृति अलिक फरक छ । यसले संस्कृतको त्यो नियमलाई पूर्णतः अवज्ञा पनि गरेको छैन र अन्धानुकरण पनि गरेको छैन । समास गर्दा लामो भएन भने जोड्छ, लामो भयो भने यो त भएन है, आँखालाई पनि बिझायो भनेर छुट्याइदिन्छ । बाल र कृष्ण लाई जोडेर बालकृष्ण बनाउन त रुचाउँछ तर नेपालसंस्कृतविश्वविद्यालय जोडेर लेख्न मन पराउँदैन, छुट्याएर नेपाल संस्कृत विश्वविद्यालय बनाइहाल्छ । परीक्षानियन्त्रणकार्यालय पदयोग गरेर लेख्न मान्दैन, पदवियोग गरिहाल्छ र परीक्षा नियन्त्रण कार्यालय लेख्छ । समास भएका शब्द वा शब्दावलीका निम्ति नेपाली भाषाले निर्माण गरेको पदयोग–वियोगको नियम एउटै छ र त्यो हो, लामो भयो र आँखालाई बिझायो भने छुट्याउने, नत्र जोड्ने । पदयोग–वियोगको समस्या देखिएको अर्को ठाउँ हो, नामयोगी । वस्तुतः यो पनि समस्या होइन, कृत्रिम अन्योल मात्र हो । नाम, सर्वनाम, विशेषण र क्रिया जस्तै अव्यय पनि स्वतन्त्र एकाइ वा शब्द हुन् ।

त्यसैले अरू शब्दलाई झैँ अव्ययलाई पनि छुछ्टै लेखिनुपर्छ । यही मान्यताअनुसार अव्ययअन्तर्गत पर्ने क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपातलाई हामी छुट्याएरै लेख्छौँ भने नामयोगीलाई मात्र जोड्नुको कुनै तुक छैन । यति सरल र सहज कुरा पनि नबुझेर कथित भाषाविदहरूले छेउ न टुप्पोका नियमहरूको प्रपञ्च खडा गरेका छन्, जसमा अरूलाई पनि अल्झाएका छन् र आफू पनि अल्झेर बारम्बार थेचारिएका छन् । धेरै पर किन जाने, यो गाईजात्रा नेपाली बृहत् शब्दकोश २०४० को सम्पादकीयमै देख्न सकिन्छ, जहाँ उही पद वा पदावलीलाई कहीँ शिष्टपरम्परा अनुसार लेखिएको छ त कहीँ शिष्ट परम्पराअनुसार । एउटा प्याराग्राफमा शिष्ट र परम्परालाई जोडेर अनुसारलाई छुट्याइएको छ भने त्यही पृष्ठको अर्को प्याराग्राफमा शिष्ट र परम्परालाई छुट्याएर परम्परालाई अनुसारसँग जोडिएको छ । नेपाली भाषाले निर्माण गरेको नियम बुझ्न सकेको भए चाहिँ शिष्ट परम्परा अनुसार अर्थात् तीनैवटा शब्दलाई छुट्याएर नै लेखिन्थ्योे । त्यस्तो बिजोक छरपस्ट हुने थिएन ।

यस सन्दर्भमा नेपाली भाषाले हेक्का राखेको र हामीले पनि हेक्का राख्नुपर्ने कुरा के मात्र हो भने चाहे समस्त शब्द होऊन् वा नामयोगी, पदवियोग गर्दा अर्थमा बाधा पर्न हुँदैन । साथै, रूढ भइसकेका शब्द भत्काउन पनि हुँदैन । त्यसैले नेकशुले २०६९ ले विभक्तिवत् भएर आउने नामयोगी र विराटनगर, विश्वविद्यालय जस्ता शब्दको पदयोगलाई सम्बोधन गरेको छ ।

‘दराज भित्र छ’ भन्नु र ‘दराजभित्र छ’ भन्नुमा फरक त छ नि । पदवियोग गरेर दराज भित्र छ भन्दा दराज घर वा कोठाभित्र छ भन्ने बुझिन्छ, पदयोग गरेर दराजभित्र छ भन्दा दराजको भित्र कुनै सामान छ भन्ने बुझिन्छ । तर यहाँ पनि के देखिएको छ भने भाषा थाहै नपाई पदवियोगतिरै गइरहेको छ । किन भने, त्यही शब्द एक ठाउँमा छुट्टिने अर्को ठाउँमा जोडिने किन भन्ने आम प्रयोगकर्तालाई लाग्दोरहेछ । पदवियोग गर्दा पनि वाक्य र सन्दर्भ अनुसार उसले सहज रूपमा, नअलमलिई सही अर्थबोध गर्दोरहेछ । त्यो पदवियोगलाई कसरी व्याख्या गर्ने, त्यसभित्र लुकेको नियम कसरी परिभाषित गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने चाहिँ विद्वानहरूका गोष्ठीको, व्याकरणकारको चिन्ता हुनुपर्ने हो । त्यो चिन्ता गर्ने ल्याकत र त्यो संवेदनशीलता नभएपछि हामी यो गर्न हुन्छ र यो गर्न हुँदैन भनेर कृत्रिम नियमका डण्डा बोकेर बस्ने गरेका छौँ ।  डण्डा बोकेर भाषा बुझ्न सकिँदैन ।

५०–६० वर्ष यताको प्रवृत्ति र परिवर्तनलाई हेर्ने हो भने नेपाली भाषा बिस्तारै पदयोगबाट पदवियोगतिर प्रवृत्त भएको छ । समस्त शब्दलाई पनि अलि बढी टुक्र्याउनेतिर, नामयोगीलाई पनि अलि बढी छुट्याएर लेख्नेतिर गएको देखिन्छ । कसैले नियम बनाएर, जबरजस्ती गरेर यस्तो भएको होइन । भविष्यमा पदवियोगको प्रवृत्ति अझ बढ्ने देखिन्छ । यो भाषाको स्वाभाविक परिवर्तन हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुहुँदैन, स्वीकार्नु र स्वागत गर्नुपर्छ ।

–शब्द लामो भयो भने अफ्ठ्यारो चाहिँ हुँदो रहेछ, जस्तो उपमहानगरपालिका भन्दा कहाँनेरि छुट्याउने भन्ने कठिन हुँदोरहेछ नि ? 
ठीक भन्नुभो । तर त्यो बिस्तारै, स्वतः छुट्टिएर जान्छ । प्रयोगले आफै छुट्याइदिन्छ । मैले भनिहालेँ नि, नेपाली भाषाले शब्दहरूलाई एउटै डिकोमा लामो पारेर टाँगेको मन पराउँदैन । तर त्यो काम रातारात हुँदैन, त्यसका लागि समय लाग्छ । तपाईंले हेर्दै जानुपर्छ । तपाईंसँग विवेक र क्षमता छ भने यहाँनेर छुट्याउने भनेर बाटो देखाउन पनि सक्नुहुन्छ । ठीक लाग्यो भने प्रयोगकर्ताले त्यसलाई स्वीकार्छन् र भाषाले पनि ग्रहण गर्छ । होइन, तपाईंले व्यवस्था दिन सक्नुभएन भने भाषाले कहिलेकाहीँ अमिल्दो ठाउँमै पनि छुट्याइदिन्छ र तपाईंले नाकका चालले त्यसलाई स्वीकार्न बाध्य हुनुपर्छ । जस्तै महालेखापरीक्षक शब्दलाई नै हेर्नोस् । पहिले एउटै डिकोमा लेखिने यो शब्द हिजोआज डिको छुट्याएर महालेखा एउटा डिकोमा र परीक्षक अर्को डिकोमा लेखिन थालेको छ । यसले प्रयोगकर्ताको बृहत्तर स्वीकृति पाएको छ । यसरी छुट्याइँदा यसको अर्थ महालेखाको परीक्षक भन्ने हुन्छ । तर त्यो महालेखाको परीक्षक हो र ? त्यो त महा अर्थात् सबैभन्दा ठूलो लेखापरीक्षक पो हो । यो अर्थ बुझाउन त महा एउटा डिकोमा र लेखापरीक्षक अर्को डिकोमा पो लेखिनुपर्ने हो । तर के गर्नुहुन्छ, तपाईंले व्यवस्था दिन नसकेपछि भाषाले यादृच्छिक पाराले आफ्नो बाटो लियो लियो ।

यहाँनेर एउटा अनुभव सुनाइहालौँ । मेरो किताब ‘हाम्रो भाषा’ २०६३ सालमा छापियो । त्यसबेला हिज्जे बिगारेर लेख्ने चलन सुरु भइसकेको थियो अनि गुरुहरू पदयोगमै विशेष बल गर्थे । मलाई त्यो बाटो स्वीकार्य थिएन । त्यसैले ‘हिज्जेका सन्दर्भमा अपरिपक्व लहडबाजीतिर नलागी शिष्ट परम्परा र लोकव्यवहारबाट स्थापित शुद्ध रूपलाई शिरोपर गरिएको छ र नेपाली लेखनको स्वाभाविक प्रवृत्ति अनुरूप पदयोगतर्फ झुकाव राखिएको छ’ भनेर किताबको भूमिकामै स्पष्ट पारेको थिएँ ।

मलाई लागेको थियो, भाषाका मठाधीशहरूले चारैतिरबाट आक्रमण गर्नेछन् । तर भयो उल्टो । किताब सबैले मन पराए । त्यसको तीन वर्षपछि यस्तै तिहार पछितिर एकजना नेपालीका प्राडाले फोन गर्नुभयो र भन्नुभयो, ‘शरदजी, हामी पनि तपाईंको बाटोमा आयौँ नि, यसपालिको ‘गरिमा’ हेर्नुभयो ?’ मैले ‘कस्तो बाटो ?’ भनेर सोध्दा उहाँले ‘पदयोगबाट पदवियोगतिर नि !’ भन्ने जवाफ दिनुभयो । मैले ‘गरिमा’ किनेर हेरे । धेरै ठाउँमा राम्रै बाटो पक्रनुभएको रहेछ तर शिष्टपरम्पराअनुसार, परराष्ट्रमन्त्रालय, वातावरणमन्त्रालयसम्बन्धी जस्ता पदयोगबाट हुत्तिएर एकैचोटि चन्द्र लाल, कर्ण देव, सीता कान्त, तारा नाथ, जल विद्युत्, बाढी पीडित, ललित पुर, भाषा विज्ञान जस्ता पदवियोगमा पुग्नुभएछ । स्वनिर्मित नियमको फन्दामा परेर आफ्नै नाम पनि अकस्मात् व्रत राज, लाला नाथ, हेमाङ्ग राज लेख्न थाल्नुभएछ । एउटा अतिबाट छलाङ मारेर अर्को अतिमा ! यो कथित नियम सर्वत्र लागू गर्न खोज्नुभयो, तर प्रयोगकर्ताले स्वीकारेनन्, भाषाले स्वीकारेन ।

मलाई के लाग्छ भने, नेपाली भाषा पदवियोगमुखी त छ, तर त्यसो भनेर जथाभावी पदवियोग गर्न थाल्ने हो भने त्यसले पनि अराजकता ल्याउँछ । भाषाको स्वाभाविक गतिलाई पो पछ्याउने हो, त्यस अनुसार पो नियमको व्यवस्था गर्ने हो त । भाषालाई नबुझी नियम बनाउन हतार गर्ने र नियमको गलहत्ती लगाएर भाषालाई कहिले यता, कहिले उता धकेल्न र मुन्ट्याउन त भएन नि ! तर हिज्जेमा भनेस् या पदयोग–वियोगमा, भइरहेको यही छ । भाषामाथि यसरी अत्याचार गर्न हुँदैन ।

नेपाली वर्णविन्यासमा के के गरियो भने एकरूपता कायम हुन सक्ला ?
-यसका दुईवटा पक्ष छन् । सामान्य अवस्थामा भाषामा, शब्दमा, हिज्जेमा सर्वत्र एकरूपता कायम गर्ने भन्ने कुरा एउटा भ्रम हो, भाषालाई नबुझ्नुको परिणाम । हिज्जेमा सर्वत्र एकरूपता चाहिन्छ भनेर हाम्रो दिमागमा एकदमै ठूलो भ्रम चट्टान जस्तो बनाएर हालिएको छ । त्यो हुन नसक्ने र गर्न पनि नहुने कुरा हो । विकल्पहरू छोडिदिनुपर्छ । अनौपचारिक लेखाइमा, साहित्यिक रचनामा अथवा छन्द मिलाउनुपर्दा अनेक रूप प्रयोग हुन्छन् । कसैले भएको थियो लेख्ला, कसैले भको थियो लेख्ला त कसैको भाको थियो लेख्ला । कहीँ बेहुलो लेखिएला, कहीँ बेउलो लेखिएला; कसैले अकास लेख्ला, कसैले आकाश लेख्ला । त्यसले केही फरक पर्दैन । सबै विकल्प रहन्छन् । रहन दिनुपर्छ । यो भाषाको सौन्दर्य हो ।

तर विशेष अवस्थामा, अर्थात् औपचारिक, स्तरीय र मानक लेखाइमा चाहिँ हिज्जेमा एकरूपता चाहिन्छ । त्यहाँ अनौपचारिक, बिगारिएको र अमानक हिज्जे चल्दैन । चल्नुहुँदैन । ‘भएको’ नै लेख्नुपर्छ, ‘बेहुलो’ नै लेख्नुपर्छ अनि ‘आकाश’ नै लेख्नुपर्छ । नत्र अराजकता सिर्जना हुन्छ, मानकले हावा खान्छ ।

हाम्रो समस्या यहीँनेर छ । स्तरीय, औपचारिक लेखनको हिज्जे के हो वा के हुनुपर्छ भन्ने थाहा नपाएर एकरूपता कायम नभएको, भाषामा अराजकता आएको होइन । भइरहेको, चलिरहेको, सबैले स्वीकारेर आएको स्तरीय, मूल र शुद्ध हिज्जेलाई, जुन स्वयंमा मानक थियो, भत्काएर–बिगारेर त्यही बिगारिएको रूपलाई, अपभ्रंशलाई जबरजस्ती मानक हो भन्न थालेपछि, राज्यशक्तिको प्रयोग गरेर लाद्न थालेपछि समस्या भस्मासुर जस्तो भएर अगाडि आएको हो । बलपूर्वक लादिएका कुरा हटाइदिऊँ, समस्या समाप्त भइहाल्छ । स्तरीय, मूल र शुद्ध हिज्जे स्वतः स्थापित भइहाल्छ । भाषा प्रसन्न भएर अगाडि बढिहाल्छ ।

विकल्पलाई निषेध गर्नैपर्दैन, सबै विकल्प राखेर सही कुरा बताइदिनासाथ प्रयोगकर्ताले सही बाटो लिइहाल्छन् । शब्दकोशमा मोटो श भएको खुशी र पातलो स भएको खुसी दुवै राख्नोस्, दीर्घ उकार भएको कानून र ह्रस्व उकार भएको कानुन दुवै राख्नोस्, तर मूल रूप र मूल हिज्जे चाहिँ मोटो श भएको खुशी र दीर्घ उकार भएको कानून हो भनेर लेख्नोस् । सत्य कुरा लेख्नोस्, गलतलाई सही हो भनेर ढाँट्ने, घामलाई हत्केलाले छेक्ने प्रयास नगर्नोस् । प्रयोगकर्ताले बिस्तारै मूल, शुद्ध र सही हिज्जे चलाउन थालिहाल्छन् । मानिसको प्रकृति नै कस्तो छ भने ऊ खाने, लाउने, बस्ने, बोल्ने, लेख्ने, पढ्ने यावत् कुरामा राम्रोपन र स्तरीयता नै खोज्छ । नपाउन्जेल, नभेटुन्जेल, नबुझुन्जेल बेग्लै कुरा हो, जे छ त्यसैले काम चलाउँछ, तर पाएपछि, भेटेपछि, बुझेपछि राम्रो र स्तरीय नै चाहन्छ । शुद्ध र सही रूपलाई नै अँगाल्छ । जरोबाट काटिन चाहँदैन, जरोसँग जोडिन चाहन्छ । मानव सभ्यताको विकास यसैगरी भएको हो । यो मानिसको जन्मजात प्रवृत्ति नै हो । हिज्जेमा पनि यही प्रवृत्तिले काम गर्छ ।

वर्णविन्यासको अराजकता हटाउन तत्काल गर्नुपर्ने कुरा के के हुन् ?
-धेरै कुरा गर्नैपर्दैन । एउटै कुरा गरे पुग्छ । त्यो हो, हिज्जेमाथि अनधिकृत तवरमा गरिएको हस्तक्षेप फिर्ता लिने । अर्थात्, परम्परागत शुद्ध र सही हिज्जे भाँड्न र भत्काउन विवेकहीन तवरमा जेजस्ता निर्णय गरिएका छन्, तिनलाई फिर्ता लिने । जसको नेतृत्वमा त्यो काम सुरु भयो, ती महागुरुहरूले नै गलत गरिएछ, नेपाली भाषाविरुद्ध पाप गरिएछ, भाषिक अपराध गरिएछ भनेर सार्वजनिक रूपमा आत्मालोचना गरिसकेपछि त्यस्तो हस्तक्षेप, ती निर्णय र त्यस्ता कथित नियमको लेश मात्र पनि औचित्य अब बाँकी छैन । नेपाली भाषामा आज देखा परेको विकृति, अन्योल र अराजकताको जड त्यही हस्तक्षेप हो भनेर त्यसका मूल अभियन्ताहरूले नै घोषणा गरिसकेपछि तिनलाई बोकेर हिँड्नुको के अर्थ ? यही एउटा काम गर्ने बित्तिकै, अर्थात् हिज्जेमाथि गरिएको अनधिकृत हस्तक्षेप फिर्ता लिने बित्तिकै नेपाली भाषा विकृति, अन्योल र अराजकताबाट स्वतः मुक्त हुन्छ । यसले स्वतः गति पक्रिन्छ र उत्फुल्ल भएर उन्मुक्त उडान भर्न थाल्छ । तपाईंलाई यो कुरा अतिशयोक्ति जस्तो लाग्ला । यति विकराल समस्याको समाधान यति सजिलै, फूमन्तर गरेजसरी त कसरी होला भन्ने लाग्ला । तर, अनधिकृत रूपमा गरिएको हस्तक्षेप, त्यसरी लादिएका कुरा, ती विकृति फिर्ता हुनासाथ यो समस्या नै बाँकी रहँदैन । किन भने, देवनागरी लिपिमा लेखिने नेपाली भाषामा वास्तवमै हिज्जेको कुनै समस्या छैन, हुन पनि सक्दैन ।

उदाहरण तपाईं–हाम्रै सामु छ, यसो ध्यान मात्र दिनोस् न, कुरा छर्लङ्ग भइहाल्छ । जस्तै, नेपाली भाषाको औपचारिक लेखाइमा ६० प्रतिशतभन्दा बढी संस्कृतका शब्द प्रयोग हुन्छन्, भइरहेका छन् । संस्कृतका शब्दको हिज्जे चाहिँ नचलाउने, जस्ताको तस्तै लेख्ने नियम छ । फेरि संस्कृतका शब्दको हिज्जे नै सबभन्दा अपठ्यारो, अनुमान गर्न नसकिने, सबै नियम बुझेर पार नलाग्ने खालको छ । तर त्यति धेरै प्रयोग हुने, त्यति जटिल हिज्जे भएका संस्कृत शब्दमा विवाद आएको, अन्योल आएको, अराजकता उत्पन्न भएको, समस्या खडा भएको देख्नुभएको छ ? कसैले नजानेर वा झुक्किएर कुनै शब्दको हिज्जे गलत लेख्यो, जस्तै शरीर शब्दमा मोटो श लेख्नुपर्ने ठाउँमा पातलो स लेख्यो भने पनि अर्काले ‘ए, यो त यस्तो हो’ भनिदिनासाथ शुद्ध बनाइहाल्छ, समस्या समाप्त भइहाल्छ । यसरी, परम्परागत हिज्जेमा आक्रमण नगरिएकाले नेपालीमा प्रयोग हुने संस्कृत शब्दमा कुनै समस्या छैन । यति मात्र होइन, ती शब्दकै कारण नेपाली भाषाको गौरव र गरिमा, इज्जत र आबरू आजसम्म सुरक्षित छ । यसो कल्पना गरिहेर्नोस् त, त्यहाँ पनि हिज्जेमा हस्तक्षेप गरेर भाँडभैलो मच्चाइएको भए आज नेपाली भाषाको कुन दुर्गति भइसक्ने थियो !

‘आगन्तुक’ भनिएका जुन शब्दहरूको हिज्जेमा अनधिकृत हस्तक्षेप गरिएको छ र शब्दलाई नै विरूप पारिएको छ, औपचारिक नेपालीमा त्यस्ता शब्द तीनदेखि पाँच प्रतिशतको हाराहारीमा मात्र प्रयोग हुन्छन् । तपाईं आफै गन्ती गरेर हेर्न सक्नुहुन्छ । फेरि ती शब्दको हिज्जे संस्कृत शब्दको जति अपठ्यारो छैन, सजिलो छ ।

यथावत् रूपमा तिनको प्रयोग गर्न न कहिल्यै समस्या थियो, न आज नै छ । परन्तु, त्यति थोरै र त्यति सजिला शब्दको हिज्जेमा विवेकहीन तवरले अनधिकृत हस्तक्षेप सुरु भएकैले समग्र नेपाली भाषामा आज यति ठूलो अन्योल, अराजकता र भाँडभैलो मच्चिएको छ । यति मात्र नभएर भविष्यमा यसका अझ भयावह परिणामहरू देखिने सम्भावना टड्कारो हुँदै गएको छ । भाषामा कसैले पनि, कुनै पनि कुनाबाट थोरै पनि अनधिकृत हस्तक्षेप ग-यो र राज्यशक्ति प्रयोग गरेर त्यसलाई लागू गर्न उद्यत भयो भने त्यसको परिणाम ज्यादै भयावह हुन्छ, त्यसैले यस्तो अक्षम्य भाषिक अपराध गर्नुहुँदैन भन्ने कुराको योभन्दा ठूलो उदाहरण अरू के हुन सक्छ ? त्यसैले म बारम्बार भनिरहेको छु, भाषामाथिको अनधिकृत हस्तक्षेप फिर्ता हुनुपर्छ, हिज्जेको समस्या भन्नोस् वा अराजकता स्वतः समाधान हुन्छ ।

अनि, यसै अनुसार शब्दकोश पनि निर्माण गर्नुपर्छ । आफ्नै निर्णयको अवज्ञा गर्दै, त्यस निर्णयमाथि विश्वास गर्ने सबैप्रति विश्वासघात गर्दै प्रज्ञा–प्रतिष्ठानले जस्तो शब्दकोश हालै बजारमा ल्याएको छ, त्यो प्रज्ञा–प्रतिष्ठान स्वयंको र शब्दकोशको समेत अपमान हो । यो शब्दकोश चरम गैरजिम्मेवारी र अराजकताको नमुना हो भन्ने वस्तुतथ्य त शब्दकोश–विज्ञ विद्वानहरूले नै गम्भीर आलेख मार्फत सार्वजनिक गरिसकेका छन्, मैले थप केही भनिरहनै पर्दैन । त्यसैले, अघिल्लो शब्दकोशलाई झैँ यस शब्दकोशलाई पनि बदर गर्नुपर्छ र मानक शब्दकोश भन्न लायक शब्दकोश निर्माण गर्नुपर्छ ।

२०४० को नेपाली बृहत् शब्दकोशले जसरी दुवै किसिमको हिज्जे राखेको थियो, त्यसैगरी सबै विकल्प राखेर शब्दकोश बनाउनुपर्छ । प्रयोग र प्रचलनमा आइसकेका सबै स्वरूपका शब्दलाई समावेश गर्नुपर्छ । तर, २०४० सालमा भएको गल्ती, जसले नेपाली भाषा भाँडियो र जसलाई त्यसका निर्देशक तथा सर्वोपरि सम्पादक बालकृष्ण पोखरेलले पापको संज्ञा दिनुभयो, त्यो पाप अब गर्न हुँदैन । अर्थात्, मूल र शुद्ध हिज्जेलाई दोस्रो दर्जामा झारेर बिगारिएको–विकृत हिज्जेलाई पहिलो दर्जामा उकाल्ने भाषिक अपराध गर्न हुँदैन । मूल र शुद्ध रूपलाई शब्दकोशको मूल अर्थात् प्राथमिक प्रविष्टिमा राख्नुपर्छ र त्यसको अर्थ त्यहीँ दिनुपर्छ । बिगारिएको वा अपभ्रंश भएको रूपलाई गौण अर्थात् दोस्रो प्रविष्टिमा राख्नुपर्छ र त्यसको अर्थ मूल प्रविष्टिमा गएर हेर भन्नुपर्छ । जस्तै, दीर्घ उकार भएको कानून मूल प्रविष्टिमा राख्ने, मोटो श भएको खुशी मूल प्रविष्टिमा राख्ने र तिनको अर्थ त्यहीँ दिने । ह्रस्व उकार भएको कानुन र पातलो स भएको खुसी दोस्रो प्रविष्टिमा राख्ने र तिनको अर्थ मूल प्रविष्टिमा हेर भन्ने । यत्ति भूल सुधार गरे, यत्ति पाप मोचन गरे पुग्छ, धेरै केही गर्नैपर्दैन ।

यति गर्नेबित्तिकै सरकारी कामकाजमा, औपचारिक लेखाइमा, पाठ्यपुस्तकमा शुद्ध, सही हिज्जेले स्थान पाउँछ । संविधानको अक्षर र भावनाले पनि सम्मान पाउँछ । अनौपचारिक, साहित्यिक लेखाइमा वैकल्पिक रूप पनि चल्दै जान्छन् । कालान्तरमा भाषाले वैकल्पिक रूपको कुनै शब्दलाई बढी रुचाएछ भने त्यसैमा गए भइहाल्छ । यसमा कसैले सङ्कोच गर्नै पर्दैन, आग्रह राख्नै पर्दैन, हठ गर्नै पर्दैन ।

मान्छेले शुद्ध, राम्रो र स्तरीय नै खोज्छ । यो नेपालीको मात्र होइन मानव जातिकै जन्मजात प्रवृत्ति हो । मानव जाति ढुङ्गे युगबाट आजको स्थानमा आइपुगेको यसै प्रवृत्तिका कारणले हो । त्यसैले शुद्ध, सही र स्तरीय हिज्जेको बाटो नछेकौँ । अनधिकृत रूपमा लादिएका विकृति फिर्ता लिऊँ, नेपाली भाषा शुद्ध, सहज र प्राञ्जल बनेर आफै अगाडि बढ्छ । भाषाको अर्को नाम सरस्वती हो; भाषाको सम्मान गर्दा, शब्दको इज्जत गर्दा कसैको इज्जत घट्तैन, कोही सानो हुँदैन ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया