
संवाद
विशाल नाल्बो
राकेश क्रान्तिकारी मार्क्सवाद रुचाउने कवि हुन्। उनका केही कविता निक्कै चर्चित भए। अहिलेसम्म कुनै सङ्ग्रह प्रकाशित गरेका छैनन्। नयाँ पुस्तामा रुचाइएका कवि क्रान्तिकारीसित कविताको सेरोफेरोमा रहेर केही कुराकानी गरेको छु। युवा कविहरूको कविता त धेरैले पढिरहेका होलान्, तर उनीहरूको वैचारिकीबारे भने साह्रै पढ्न पाइन्न। यसैले खबरम्यागजिनमा युवा सर्जकसित संवाद गर्ने योजना तयार गरिएको छ। यही माचोमा क्रान्तिकारीसित गरिएको कुराकानी यहाँ राखेको छु- विशाल नाल्बो।
खासमा तपाईँले कविता किन लेख्नु भएको हो?
जुन कुराले मलाई छुन्छ, त्यसले छोएपछि त्यसलाई बाहिर निकाल्ने माध्यम मसित नै कविता छ। कविहरू संवेदनशील हुन्छन्, कविले हतियार उठाउँदैन, कविता लेख्छ। म पनि त्यसै गर्छु। छोएको कुरालाई कलात्मकरुपले अभिव्यक्ति गर्छु। कविको लागि हतियार भनेकै कविता हो।
तपाईँले कविता लेख्दा केकस्ता अनुशासनहरू हुन्छन्?
अनुशासनबिना कविता नै हुँदैन। हामी धेरैको कविता पढ्छौं, बुझ्छौं। तर त्यसलाई अनुशरण गर्दैनौं। हामीले आफ्नै शैली बनाउनुपर्छ। इमान्दार र साँचो कुरा लेख्ने हो। कवि अनुशासित भएन भने कविको अभिव्यक्ति पनि अनुशासित हुन्न। पढ्नु, बुझ्नु र लेख्नु नै कविको अनुशासन हो।
नयाँ पुस्ता र पुराना पुस्ताका कविहरूमा त्यति सामिप्यता छैन भन्छन् नि, हो?
कविहरूमा पुस्ता भन्ने नै हुँदैन। धेरै पाको कवि पनि कलिलो हुनसक्छ। अस्सीवर्षे कवि पनि कामले युवा हुनसक्छ। 20 वर्षे कवि पनि प्रौड हुनसक्छ। सामिप्यता छैन भन्ने कुरा सही होइन। सामिप्यता छ। भूपि, अगमसिंह गिरी पढेर नै हामीले सिकेका हौं। अघिल्लो पुस्ताको वैचारिकता, कलात्मकता हामीलाई मनपर्छ। लेखन कतिको मनपर्ला, नपर्ला, त्यति हो।
तपाईँ शुरुमा हस्तक्षेपसित संलग्न हुनुहुन्थ्यो, तर अहिले हुनुहुन्नजस्तो लाग्यो, किन होला?
थिएँ। वैचारिक एकात्मकता थियो। एक ठाउँ बसेर हिँडौं भन्ने थियो। उहिले बैरागी काइँलाहरूले चेप्टो साहित्य भन्नु पनि हस्तक्षेप नै थियो। सत्ता र जडताको विरुद्धमा हिँड्ने अभियान हो हस्तक्षेप। म अहिले पनि छु। के के कारणले अलग देखिएको होला। अहिले हस्तक्षेपीहरू नै पनि अलगअलग छन्। अलगअलग भए पनि त्यो निरन्तर नै छ।
साहित्यमा गुटबाजीलाई कसरी लिनुहुन्छ?
संसारमा एउटै खाले विचार रहेको कहीँ छैन। विचार विविध हुन्छ। एउटा विचारमा बस्नेलाई गुटबाजी गऱ्यो भनेको होला। मिल्ने मिल्ने काम गर्दा हुन्छ। गुटबाजी नराम्रो होइन। त्यसरी मिल्ने मिल्ने काम गर्नु सजिलो पनि हुन्छ। कसैले मार्क्सवाद मन पराउला, उनीहरूको आफ्नो गुट होला। कसैले मार्क्सवाद मन नपराउँला। मन पराउने र नपराउने आफैमा अलग अलग गुट भइहाल्यो। यो गुटबाजी हुन्छ नै। यो नराम्रो कुरा होइन।
तपाईँ युवा कवि हुनुहुन्छ तर किन प्रेम कविता कम लेख्नुहुन्छ?
प्रेम नै नगर्ने मान्छेबाट किन यस्तो अपेक्षा राख्ने र? प्रेमको अनुभव नै छैन, लेखिनँ। थाहा नभएको कुरामा किन टाउको दुखाउनु? तर मलाई प्रेम कविता मनपर्छ। म प्रेम र प्रेम कविता विरोधी होइन।
तपाईँको ‘सरी शहिद’ कविताले शोषण विरुद्ध आवाज उठाएको छ, यसमानेमा तपाईँ क्रान्तिकारी कवि हुनुहुन्छ है?
त्यो पाठकले भन्ने कुरा हो। म नेपालमा स्कूल पढाउँथेँ। पहाडीहरू जाडोले मरेको कम्ति सुनिन्छ। मधेशमा जाडो महिनामा कम्ती लुगा मात्र लगाएको मधेसीहरू देखें। जाडोले मरेको देखें। मैले समाचारपत्रतिर पनि त्यसरी मरेको खबर धेरै पढें। जसलाई भोट माग्न आउँथे, जितेपछि ती गरीबको उत्थानको काम गर्ने नेता देखिएन। यसरी मर्नेहरूबारे कसैले सरोकार लिएको देखिनँ। त्यो मेरो मनमा गढ्यो र सरी कविता लेखें।
देश निर्माणमा सहयोग पुऱ्याउने यी नै मृतकहरूलाई सम्झेर मैले कविता लेखें, जो सँधै किनारीकृत थिए र छन्। आम मानिसको पक्षमा लेखेको कविता पढेर पाठकले मलाई जस्तो कवि भने पनि हुन्छ, त्यो उनीहरूको स्वतन्त्रताको कुरा हुन्।
राकेश क्रान्तिकारीका तीन कविता
ठूलो
कसले भन्यो सबैभन्दा ठूलो हो सगरमाथा
डल्लै हिउँको हुरी थाप्ने छाती
मधेसभरि छरिएको छ
पहाडको काख काखमा लम्पसार छ।
के तपाईंलाई चुपचाप बस्ने सगरमाथा ठूलो लाग्छ ?
कसले भन्यो संसारभन्दा सयौँ गुणा ठूलो हो घाम ?
हेर्नु माइला बाजेको निधार
जहाँ तप् तप् बनेर चुहिबस्छ घाम
एक एक थोपा।
के तपाईलाई हात बाँधेर बस्ने घाम ठूलो लाग्छ ?
कसले भन्यो सबैभन्दा गहिरो छ
मरिआना ट्रेन्च
महसुस गर्नु काईला बाजेको चोखो सपना
जो सागर भन्दा गहिरो छ।
के तपाईलाई सुतिबस्ने सागर ठूलो लाग्छ ?
कसले भन्यो सबैभन्दा ठूलो हो
सहरको जङ्गल
र
जङ्गलका मान्छेहरू ।
कोट्याएर हेर्नु गाउँको मुटु
कति मिठो सुगन्ध आउँछ गाउँको
ताछेर आफ्नै मुटु तेर्साइदिन्छन्
गाउँका बारीभरि।
के तपाईलाई समसान झैं सहर ठूलो लाग्छ ?
कसले भन्यो सबैभन्दा ठूलो हो तानाशाहको आँट ?
खोलेर हेर्नु आफ्नो छाती
छम्केर पानीले
अनि हेर्नु
वर्षौदेखि सुतेर बसेको तिम्रो आँट।
वास्तवमा सबैभन्दा ठूलो तिमी हौँ
हजारपल्ट धोका पचाउने
ए बिर्खे , चमेलीहरू !
लौ त छम्क पानी तिम्रो छातीमा।
ढोँगी प्रेम
वास्तवमा ,
म तिमीसित ढोँग गरिरहेछु।
म तिम्रो ओठसित प्रेम गर्छु
तिम्रो गालासित प्रेम गर्छु
तिम्रो कामुक स्वरसित प्रेम गर्छु
शरिरसित प्रेम गर्छु
तिमीसित गर्दिन।
जबसम्म ,
तिम्रो मनमा उडानका प्वाँख जोड्दिन
स्वतन्त्रताका चरा तिमीलाई दिँदिन।
जबसम्म
तिम्रा खुला आकाश
तिम्रो हुँदैन
तिम्रा मनका अक्षरहरू
तिम्रा हुँदैनन्
नरम पैताला उभिएको कडा जमिन
तिम्रो हुँदैन ,
जबसम्म
तिमी मात्र तिमी हुँदैनौ
त्यतिबेलासम्म ढोँग मात्र गरिरहेको हुनेछु।
प्रेम स्वतन्त्र छ
तिमी छैनौँ ,
पिँजडामा राखेर
कसरी गरूँ प्रेम ?
हिँड्नै परेपछि
बाटाहरूले सदैव स्वागत गर्नेछन् हामीलाई ।
साथी हो !
हिँड्नै परेपछि
हिँडौँ बाटोको टुप्पोसम्म
हात मिलाऔँ
काँध मिलाऔँ
र
हिँडौँ अन्तहिन यात्रामा।
हिँड्दा हिँड्दै सकिए
बाटोको आयू
जन्माउँदै हिँडौँ
नयाँ बाटाहरू।
नराखौँ यात्राको नाम
नराखौँ यात्राको कारण
चुँडाएर परम्पराको डोरी
फ्याँकेर थकानको जिउ
हिँडौँ अन्तहिन यात्रा।
भत्काएर सिमानाका सबै किल्ला
भाँचेर सकोंचको लाठी
हिँडौँ अन्तहिन यात्रा।
यदि रोके भने कसैले
देखाइदिउँ पैतालाको आँट
साथी हो !
हिँड्नै परेपछि
किन सुनिबस्नु समयको घोषणा ?