कोमलका कोमल कथा

विज्ञापन

नयाँ किताब : आठौं रङको लाछा

स्माइल सुब्बा, टिष्टा भ्याल्ली।


कति कुराले छुन्छ ,कतिले छुँदैन। कतिले आकर्षित गर्छ, कतिले गर्दैन। कति मनपर्छ, कति मनपर्दैन। जीवन मनपर्छ, मृत्यु मनपर्दैन। दु:ख मनपर्दैन,सुख मनपर्छ।

यस्तै विकल्पहरूमा आफ्नो मनतव्य प्रकट गर्न सकिन्छ विचारद्धारा। जब आफ्नो विचार हामी राख्छौँ,तब जबरजस्ती त्यो अरूले शिरोपर गर्नुपर्छ भन्नु मुर्खता हुन्छ। विचारहरूमा ठूलो खाड़ल हुनाले नै सायद विश्वयुद्ध, युद्ध अथवा मतभेद भएको हो।

भन्नलाई हामी जे पनि भन्न सक्छौँ, विचार व्यक्त गर्न सक्छौँ। मनतव्य राख्न सक्छौँ।तर अरूलाई आफ्नो विचारको भारी बोकाउन सक्दैनौं। यसैले लेखिरहेको कुराहरू केवल मेरो विचारहरूको आधारमा छन्, संविधानको कानुन जस्तै पढ़्नैपर्छ वा स्विकार्नु पर्छ भन्ने छैन।

टिस्टा भेली मेरो जन्मथलो। कोमल केरूङ सुब्बाको जब आठौं रङ्गको लाछा आरजे समिरले फेसबुकमा सार्वजनिक गरे, म छक्क परें। रमाएँ। छक्क पर्नुको कारण कोमल दिदी टिस्टा भेलीकै भएर पनि उनमा भएको कथाकारलाई नचिन्नु, रमाउनुको कारण उनी टिस्टाभेलीकै, उम्दा कथाकार।

प्रथम कथा पढ्दानै म दङ्ग भएको हुँ। अनि अचानक कथा सङ्ग्रह आउने कुरा फेसबुकबाट चाल पाएँ र नभन्दै आज हाम्रो हात हातमा छ –आठौं रङ्गको लाछा

म जस्तै हल्ला गर्दै लेखेनन् उनले, लेखे चुपचाप। हल्ला नगरी कति प्रभावशाली काम गर्न सकिँदो रहेछ, लाग्यो कथा सङ्ग्रह पढेर।

‘म केही लेख्छु है’ भनेको थिएँ। अहिले नभनेको भए असल हुन्थेछ भइरा’को छ। कारण अलि अलि जानेका शब्दहरू पनि बिर्सेको जस्तो भइरहेछ कारण हो कथाहरूको उचाईँ।

मैले गर्छु भनेको कार्य नगर्नु ठिक लागेन, यसैले केही लेख्दैछु आधा अधुरो लागेका कुराहरू।

मनपरेको विषय

कोमल केरूङ सुब्बाको कथाहरू कोमल पाएको छु। कोमल सुब्बाको कथाहरूमा मलाई सबैभन्दा मनपरेको कुरा हो-बाल चित्रण। नानीहरूको अबोधता, सरलता, कोमलतालाई जुन प्रकारले यहाँले कथाहरूमा टिपेर राखेका छन्, सन्तोषजनक रहेको छ।

हामी धेरै चोटि बाल बालिकाहरूको कुरालाई इग्नोर गर्छौं। उनीहरूको भावनाको कदर गर्दैनौं, उनीहरूप्रति भइरहेको व्यवहारहरूलाई त्यति वास्ता गर्दैनौं। यस्ता नसोचिएको कुराहरूले गर्दा नै के कस्तो दृश्य सृजना हुन सक्छन्-भनिएको छ कथाहरूमा।

हामीले नानीहरूको कुन बिषयहरूमा ध्यान दिनु आवश्यक छ, यो आग्रह पनि झलकिन्छ कथामा। नानीहरूको मर्मलाई बुझ्न सक्ने कथाकारले उनीहरूमा बितिरहेको कुराहरू टिपेका छन्। यो विषय बाहेक भइरहेकै घटनाहरू, संवादहरू राखेका छन् कोमल सुब्बाजीले।

कथाहरूमा कथाकार

हामी कथाकारलाई भेटाउँछौ कथाहरूमा। गाउँको कुरालाई टपक्क टिपेर जस्ताको त्यस्तै राखेका छन् कथाहरूमा। चियाबारीको दृश्यलाई उतार्छन् कतै, यो पीड़ा जो कहीं न कहीं हामीसँग जोड़िन्छ।

नारी वेदना र संवेदनाहरू झलकिएको पाउँछौं। विकृत विचारको पराक्रमहरूलाई उदाङ्गो पारिदिएको छन्। सम्बन्धहरूमा हुनुपर्ने पारदर्शितालाई देखाएका छन्। आफ्नो भाषा र लवजलाई हालेका छन्।

पीड़ा, वेदना र अमर्षको कुराहरूलाई पक्रेका छन् जो हाम्रै दैनिक जीवन वरपर छन्। समग्रहमा कोमल ज्यूको कथाहरूमा हाम्रै वर परका दृश्यहरू छन्।

संवेदनाको गफ

कथाकारले मानव जीवनमा हुनुपर्ने संवेदनाहरू हराएको देखाउन चाहेको जस्तो लाग्यो। यो निश्चय पनि नहराउनुपर्ने हो। यो नहराउन दिनलाई हामीलाई कथाले उत्प्रेरित गर्छ। संवेदनाको घड़ेरी आफैबाट बनाउन शुरू गर्नु पर्छ, आह्वान छ। कथाकारलाई अति नै संवेदनशील पाउँछौ कथाहरूमा। हामी पनि सायद अबको समयमा एक कदम बढ़्नु र अरूलाई उत्साह प्रदान गर्नु आवश्यक छ कि जस्तो लाग्यो कथा पढ़े पश्चात।

संवेदनाका भावहरू साँच्चै नै गफमा मात्र सिमित नहोस्, कथाहरूमा बन्द नहुन्। नहराओस् हाम्रो जीवनबाट संवेदनाहरू।

नलेखिएका कथाहरूमा

कथाकार दाजु सञ्जिवले झैं म पनि सोचिरहेछु नयाँ नयाँ नलेखिएका कथाहरूका बारेमा। ती कथाहरूमा आओस् खुशीका तरङहरू पनि। जीवनको रङ्गीन र सुलभ पलहरू। सुझावको झिल्का र परिवर्तनका रागहरू। विद्रोहसँगसँगै बाटो देखाउने परामर्शहरू। आओस् चेतना उज्यालिने ज्योति कथाहरूमा।

अन्तमा:कथाकारलाई शुभकामना र अझ धैरै आशाका साथमा बधाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया