पहाड़की रानी दार्जीलिङ

विज्ञापन

कथा-कलम

विशाल सर्घाई ,दार्जीलिङ


त्यस दिन म अलि बिसञ्चो थिएँ, घरदेखि कतै जान मन थिएन।

झ्यालनेर बसेर रमिता हेर्दै थिएँ।

घर अघिको आँगनमा ढकमक फुलेका सयपत्री हेर्दै दशैं तिहारमा गरिने मौजको सम्झना गर्दै थिएँ। उही आँगनअघिको बाटो भएर कुनाल मतर्फ आइरहेको देखें। म जुरूक्क उठें अनि ढोका खोलें र कुनाल भित्र आयो।

सधैं “बजार जाँउ!, कतै जाँउ!”-भन्दै आउने कुनाललाई, कतै जाँउ भन्न नै आएको भन्ठानेर मैले सोझै कुरा राखें- “आज म कतै पनि जाने हालतमा छुइनँ, ज्वरोले निधार पाकुरा’छ। बरू….”

मेरो कुरा यतिमै काट्दै उसले “जसरी भएनी जानै पर्छ आज त, म ट्युसन जाने बहना बनाएर घरबाट बाहिरिएको हुँ, जसरी पनि जाने नै हो।”

यति कुरा सुनेपछि पनि जाने थिइनँ म, तर आफैलाई नि यसो शहरको रमझम हेरेर आँउ जस्तो लाग्यो। बिसञ्चो थिएँ, औषधि लिइवरी   ‘लौ त जाँउ अब’ – मैले भनें।

कुनालले ‘पर्ख है एकछिन ऐना हेरिहाल्छु’ भन्दैथियो, मैले ‘ठीकै देखिरा’छ जाँउ’ भनें र हामी घरदेखि बाहिर पुग्यौं।

बिस्तारै हिँड्दै, गफ गर्दै, सड़क छेउ हुँदै जाँदै थियौं हामी। जजबजारको बाटोमा पुग्नसाथ एउटा गाड़ीले झण्डै हामी दुइलाई हान्यो। म अलि तर्सिएँ र ‘बाँच्यौं’ भन्ने कुरा दिमागमा पऱ्यो। कुनाललाई यसो हेरेको त ट्वाल्ल परेर त्यही गाड़ीको चालकलाई हेरिरहेको रहेछ। मैले ‘औ के भयो?’ भनेको मात्र के थिएँ, उसले “ड्राइभरको पछि, क्या राम्री केटी रहेछ”- भन्यो।

अलि रिस नि उठ्यो र हाँसो पनि।

मैले झाप्दै उसलाई दोह्राएर सरासर हिँड़्न शुरू गरे।

साँच्चै केटी राम्री थिई। ध्यान दिएर नहेरेता पनि अर्कोपटक भेट भए ठिम्मयाउँन सक्ने थिएँ।

गाड़ी र मोटरसाइकलले खलबलिएको दार्जीलिङ शहर, खासै घुम्न मन पर्दैन।

बरू शहरदेखि मुन्तिरको फुलबारी र मास्तिरको चौरस्ता भने मसँगसँगैका युवकहरूले समय बिताउन चाह गर्ने ठाउँ।

मैले नि कुनाललाई ‘चौरस्तातिर गएर बसौं है’ भनें अनि उसले नि ‘ल जाँउ न त’ भन्यो।

रोबर्टसन् रोड भएर सर्टकट लिएर चौरस्ता केही क्षणमै पुग्यौं।

चौरस्ता वरिपरि बेञ्चीहरू छन्। चौरस्ता दार्जीलिङे युवाहरूको टुँडिखेल भन्न सकिन्छ। सबैजना कामकाज सकिवरि, विश्राम गर्ने र साझा कार्यक्रम गर्ने चौरस्ता। यस्तै छ चौरस्ता। हामी पनि ती मध्येका  एउटा बेञ्चीमा बस्यौं। कुनालले फोनतिर व्यस्थता देखाउन थाले सधैं झैं। म भने उही रमिता हेर्न लागे।

जोड़ी बनेका युवाहरूको आवतजावत हेर्दै थिएँ।

चाय-चाय भन्दै एकजना चायवालाले मलाई पुलुक्क हेऱ्यो र ‘चाय लिनु हुन्छ’ भन्दै सोध्यो।

मैले हातको इसाराले दुइवटा भने, उसले ल्याइदियो। एउटा कुनाललाई दिएँ र एउटा मेरो अघि राखें। पैसा दिनु थियो, मैले जानेकै भाएता पनि ‘कति? ‘भन्दै सोधें। उसले ‘दुइ गिलासको बीस रूपियाँ’ मा उत्तर दियो। “खै तीस फर्काऊ” भन्दै पचासको नोट उसलाई दिएँ।

चिया पिउँदै के-के सोच्न थालें।

दार्जीलिङको चिया विश्व प्रसिद्ध भएपनि दार्जीलिङबासीले कहिल्यै पिउन नपाएको चियाको स्वादको अनुभूति गर्दै।

कता-कता गर्मी  अनुभव भइरहेको थियो, ज्वरोले सायद। मैले चियाको गिलास रित्याएँ र कुनाललाई ‘भयो ?’ भन्दै ‘जाँउ’ भन्ने इसारा गरें। उसले नि हिँड्दै “सिधै घर जाउँ है अब” भन्ने कुरा गऱ्यो।

ल-ल भन्दै कदम नथमाई खुरू-खुरू हिँड़्न लागें।

अप्पर क्लब साइड हुँदै जाँदा मेरो अघि एउटा झण्डा लडिरहेको रहेछ, यसो हेरे ‘गोर्खा’ लेखिएको रहेछ।

उठाएर भित्ताछेउ राखें र अझ नियालेर हेर्दा “गोर्खालिग” लेखिएको रहेछ र माथिल्लो भागमा कमल र मुनिल्लोतिर खुकुरीको चिह्न पनि रहेछ।

कुनालले “मदन तामाङको झण्डा होइन”-भन्दै थियो, म भने गर्वबोध गरिरहेको थिएँ किनभने त्यो झण्डा भारतीय नेपाली/गोर्खाहरूको प्रथम राजनैतिक झण्डा थियो।

तर, कस्तो विडम्बना?

अहिलेसम्म पनि झण्डाकै होडबाजीमा छ दार्जीलिङ।

यस्तै – त्यस्तै कुराहरू सोच्दै त्यस ठाउँबाट खाल्डै- खाल्डो भएको लार्जीलिङ्गे हाईवे हुँदै हामी मेरो घरको आँगन अघिसम्म पुग्यौं। कुनाल ले ‘गए है’ भन्ने इसारा दिँदै आफ्नो घरतिर लाग्यो। मैले ‘एकछिन बस न’ भन्ने मौका समेत पाइनँ।

घरभित्र पसेर एक गिलास पानी पिएँ र एकछिन आराम गर्नुपऱ्यो भनेर खाट माथि बसें। यत्तिकैमा टेबलमाथि राखिएको एउटा किताबमा मेरो नजर पुग्यो। किताब शिर्षक थियो “भारतमा गोर्खा समस्या”। लेखक दार्जीलिङकै भीम सुब्बा । किताब पल्टाएँ, एक दुई हरफ पढ़ें। पढ़्दै जाँदा रिस उठ्यो, त्यसमा हाम्रो कालो इतिहासको वर्णन गरिएको पाएँ।

तर, केही क्षणमै मन हलुका भएर आयो।

अघि देखेको बाटोमा लडिरहेको झण्डाले नि  वास्तवमा त्यही कुरा नै भन्दैथियो।

हुनपनि दार्जीलिङका हामीहरूले न त विश्व प्रसिद्ध चिया पिउँछौं!, न त विश्व प्रसिद्ध रेल नै चढ़्छौं!

खै यस्तै हो हामी दार्जीलिङ्गेहरूको जीवन।

धनी अझ धनी, गरिब अझ गरिब, राजनैतिक सुधार हुनपर्छ भनेर नि सबैलाई बोध भएकै हो।

विश्वमै प्रसिद्ध दार्जीलिङलाई ‘क्वुइन अफ हिल’ भनेर सबैले चिनेको छ तर पहाड़की रानी मुकुटविहीन भएकी हामीलाई मात्र थाह छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया