
संवाद र कविता
विशाल नाल्बो
विनय सरगम नेपालका पछिल्लो पुस्ता एक शक्तिशाली कवि हुन्। आफूजस्तै कविहरूको कविता शक्तिलाई अनुहारको भीडमा समेत समेटिसकेका छन्। फुटकर कविता लेखेरै युवा पुस्तामा आफ्नो छुट्टै पहिचान बनाइरहेका विनयलाई यताका पाठकले उति नपढेको हुनै सक्छ। यद्यपि उनी प्रस्ट विचार बोक्ने र विचार र कलालाई सुन्दरसित संयोजन गरेर लेख्ने कवि हुन्। उनै विनय सरगमका केही विचार र केही कविता यहाँ राखेको छु- विशाल नाल्बो
पुस्तक एक जिम्मेवारी हो- विनय सरगम
तपाईँ किन कवि भन्नु भयो?
सर्वप्रथम त धन्यवाद विशालजी अनि खबरम्यागजिनलाई। कस्तो गज्जबको लाग्यो यो प्रश्न, म किन कवि बनें?
सायद केही वर्ष अघिल्तिर जाउँ- उसो त म सानै उमेरदेखि यावत कुराहरू डायरीमा लेख्थें। त्यस समय डायरी भर्ने खुब चलनै थियो हाम्रो तिर। यावत कुराहरू पढ्ने पनि गर्थें। उसै-उसै लेख्दालेख्दै थाहै नपाई यतातिर आकर्षित भएँ। अन्तत, के डायरीबाट-घर, घरबाट-समाज, समाजबाट-बजार …सम्म पुग्दैछुष पुग्ने सिलसिलामा छु। यिनै घर,समाज, बजारले दिएको विशेषण हो-कवि। कम्तिमा मेरो लागि। हेहे हैन र?
कवि नभएको भए के बन्नु हुन्थ्यो?
नेपालमा अहिलेनै कम्तिमा मैले लेखेर गुजारा गर्ने अवस्था बनिनसकेको छैन। भनुम, लेखेर पकेट खर्चसम्म हुनेगर्छ-(आफ्नै लागि लेखेर होस् या अरूको लागि लेखिदिएर पनि हेहे)। तसर्थ पनि मैले जिउन, आधारभुत आवश्यकताहरू पूरा गर्न अन्य पेशामा लाग्नुपरेको स्थिति छ। कम्तिमा अहिलेनै सायद नेपाली कविताको बजारमा मेरो यो सोच्ने अवस्था छैन। भोलिको दिन सायद अर्कै हुन पनि सक्छ। आशा राखौं।
कवि भइसकेपछि समाजलाई लिएर कतिको गम्भीर हुनु जरूरी छ?
मानिस एक सामाजिक प्राणी हो। कवि भएर मात्र हैन एक व्यक्तिको हिसाबले पनि हाम्रो समाजमा केही न केही दायित्व/जिम्मेवारी त हुन्छ नै। कुनै पनि एक व्यक्तिले अभिव्यक्त गर्ने हरेककुराहरू यहीं हुन्छ। सायद यो प्रश्नको उत्तर यो हुन सक्छ-कविहरू अलिक ‘सेन्सेटिब पर्सनालिटि’को हुनेगर्छ।
भारत र नेपालमा लेखिरहेको नेपाली कवितामा के भिन्नता पाउनु हुन्छ?
कविता लेख्नुको पहिलो शर्त हो-कविता कविता जस्तै हुनुपर्छ। फेरि यसो भनिरहदाँ कविताको परिभाषा,संरचना सोध्नुहोला। कविताको ठेट परिभाषा या भनौं सर्वमान्य परिभाषा भेटिएको छैन। र केही संरचना त छन् तर त्यस्तै संरचनामा लेख्नु पर्छ त भन्ने हैन। यसो भनिरहँदा म केही उपन्यास सम्झन्छु-जस्तो पारिजातको शिरिषको फूल,उदय प्रकाशको मोहनदास आदि। यी पुस्तकहरू अन्डरलाइन गरेर पढ्दा कविता पढें झै हुनेगर्छ।
नेपाली भाषी जहाँ-कहीँ बसेर लेखुन् तर लेखिरहेको चिजमा उ कति गम्भीर छ, कति जिम्मेवार छ? यसले निर्धारण गर्छ।
खासमा जीवन र कविताको साइनो के हो बताउनुस् त?
तपाईंको प्रश्नमै कति सुन्दर लाइन छ ‘जीवन र कविताको साइनो’। यसमा हामीले निक्कै सुन्दर बहस गर्न सक्छौं तर मैले छोट्करीमा भन्दा कविता जीवनको उत्प्रेरणा हो। साहस हो। अनुभूति हो। जिउने कला हो मन्त्र हो। यहाँ मैले हरिवंश राय बच्चनको कविताको केही लाइन सम्झन चाहें:
बैठ जाता हुँ मिट्टी पे अक्सर….
क्योँ की मुझे अपनी औकात अच्छि लगती हैं
मैने समन्दर से सिखा है जिनेका सलिका,
चुपचाप से बेहना और अपनी मोज में रहना ..
कति सुन्दर जीवनको मन्त्र छ यहाँ।
केही महिना अघाडी मात्र तपाईँहरूले संयुक्तरूपमा अनुहारको भीड नामक कविता सङ्ग्रह बजारमा ल्याउनु भयो। संयुक्तरूपमा नै कविता सङ्ग्रह निकाल्नुको प्रमुख कारण?
पुस्तक एक जिम्मेवारी हो। अनुहारको भीड-जहाँ एउटै पुस्तकमा सत्र(युवा)कविका कविताहरू छन्। यस पुस्तकमा हामीले(दुई दशकका युवाहरूले)बाँचेको समय, हाम्रो विचार, दृष्टिकोण, राजनैतिक उतरचढाव,आफ्ना अनुभूतिका यावत कुराहरू समेटिएका कविताहरू छन्।
यो कति सुन्दर संयोग हैन त? यो पुस्तक एक किसिमले संयोग पनि हो र योजना पनि हो। अहिले नेपाली कविताको यस दशकको युवाकविहरूको कविताको दस्तावेज पनि हो। एक किसिमले।
कारणबस्, धेरै साथिहरू छुटेको भने पक्कै हो। मैले भनें नि-पुस्तक जिम्मेवारी पनि हो। यही जिम्मेवारीलाई हामी सबैले बाँडेर लिएको सुन्दर संयोग अनुहारको भीड हो।
तपाईँ त युवा हुनुहुन्छ अथवा युवा कवि हुनु हुन्छ। प्रेम त पक्कै गर्नु भएको छ होला? प्रेम कविता र प्रेमलाई लिएर तपाईँको आफ्नो धारणा चाहीँ के छ?
युवा छु र प्रेम गर्छु। ओहो!कति ठाडो भयो उत्तर हेहे। यी त सुन्दर अनुभूति हुन्। जसलाई जति शब्दहरू खर्चेर नि पूरा हुन्न। हामी मान्छे सबैलाई इश्वरले दिल(मन)त दिएकै हुन्छ, तर सबैलाई प्रेम गर्ने दिल दिएको होला त?
तपाईं अन्धकार रातमा कुनै एक गन्तव्यमा हिँडिरनुभाको छ,मानिलिउँ। हिँड्दा-हिँड्दै त्यो अँध्यारो बाटोमा पानी, हावा-हुरि चल्नेछ र एक्कासी त्यहाँ केही क्षण(तीन सेकेण्ड)को लागि चट्याङ पर्नेछ। तीनै केही क्षणको उज्यालो प्रेम हो, कविता हो। जहाँबाट अझै तपाईंले तपाईंको गन्तव्यसम्म यात्रा गर्नुनै छ।
विनय सरगमका तीन कविता
काँडा
किनकी,
दुखाई-सम्झनका लागि हैन
काँडा न हुँ
हाम्रो जम्का भेट हुनसक्छ
तिमीले ओहोर-दोहोर गर्ने
गोरेटोहरुमा
तिमीले सुसाईमार्ने चौतारीहरुमा
भेट हुनसक्छ
म अहमको सुन्दर वस्त्र भुषणमा सजिएर
जीवन गीत गाउँदै हिँडिरहेको बेला
या,भेट हुनसक्छ
मृत्युलाई काँधमा बोकी
जीवनको उकाली चढिरहेको बेला
भेट भैहालेमा यदि
चुपचाप हिँडिदिनु-
म एक जुनी बाँचिदिउँला
मेरै सिरमा सजाएर तिमीलाई
म त काँडा न हुँ
अल्झन सक्छु-तिम्रो कपालमा
अल्झन सक्छु-तिम्रो पछ्यौरीमा
बिझाउन सक्छु-तिम्रो कोमल हातका औंलाहरुमा
या, बिझाउन सक्छु- तिम्रो पाइतालाहरुमा
बिझिहाले भने यदि
भुलिदिनु-
किनकी,मदुखाई सम्झनको लागि हैन।
चुहिजाने जुन
इनारमा डुबिरहेको जुनलाई
उघाएँ र भरें हत्केला भरी
खसिजान सक्थ्यो-
सम्हालेर राखें
औंलाहरु बाँधेर राखें
इनारमा डुबिरहेको जुनलाई
हत्केला भरी भरें
जुन विस्तारै-विस्तारै
हत्केलाबाट चुहिन थाल्यो
तप्प-तप्प ….
मेरा दिनहरु
सहरको कुनै एक अप्रचलित क्याफेको
एक कुनामा बसेर कफि पिइरहेछु
यहाँबाट म सुन्न सक्छु
हतारमा कुदिरहेको यात्रुबाहक बसको ध्वनि
जाममा फसेको कुनै मोटरसाइकलको हर्न
कुकुरहरुको कर्कस लाग्ने भुकाइ
यहाँबाट म देख्नसक्छु
घरको छतमा हल्लिरहेको झण्डा
साइकलमा सामान बेचिरहेको व्यापारी
सायद अफिस हिँडिरहेको हतार मान्छे
र यो पनि देखिरहेछु कि
बर्षौंअघि छुटिगएको
तिमी जस्तै लाग्ने प्रतिबिम्ब
अस्तव्यस्त छन्
यहाँबाट सुनिने आवाजहरु
यहाँबाट देखिने दृश्यहरु
यहाँबाट देखिने सहर
र आजकल
यो मन पनि सहर जस्तो भएको छ।