
कालेबुङ, 13 नोभेम्बर
‘हाम्रो रोजी रोटी बचाउ’ , ‘ काम पनि छोड्दैनौ दाम पनि चाहिन्छ’ नारा लिएर समग्र बीएसएनएल कन्ट्राक्च्युल कर्मचारीवर्ग शुक्रबारदेखि आन्दोलनमा उत्रने भएको छ।
बीएसएनएल अधिनस्त जतिपनत कन्ट्राक्च्युल कर्मचारीहरू छन्, उनीहरूले दस महिना अघिदेखि नपाएको रोज लगायत विविध विषय लिएर कालेबुङ मुल एक्सेन्जमा सभा सम्पन्न गरिएको अर्गनाइजेसनको पक्षबाट कालिझोडा एक्सेन्जका दावा शेर्पाले बताएका छन्।
सोही सभामा आफूहरू शुक्रवारदेखि आन्दोलनमा उत्रने निर्णय लिएको भन्दै उनले बीएसएनएल अधिनस्त जेनरल सेक्युरिटीमा ठेकेदार मार्फत कालेबुङ जिल्लामा कुल पैंतालीस जना कर्मचारीहरू रहको जनाए।
‘ती कर्मचारीहरू धेरै वर्षदेखि आफूहरूले पाउनु पर्ने अधिकार अनि सहुलियतदेखि वञ्चित छन्। एजेन्सीले विगत दस महिना अघिदेखि रोज दिएको छैन। कर्मचारी छटाइ भइरहेको छ। यसैले हामी आन्दोलनमा उत्रने भएका हौं,’ उनले भने।
सभामा अर्गनाइजेसनका सभापति भरत बसोरले विभागले आफूहरूमाथि गरिरहेको हेलचेक्राइँप्रति विरोध जनाउँदै कालेबुङ, दार्जीलिङ, सिलगढी अनि खरसाङबाट अर्गनाइजेसनका कुल तीन सय पचास जना सदस्यहरू रोजविहीन बन्न परिरहेको बारे चर्चा गरे।
सेक्युरिटी गार्डको पदमा नियुक्ति दिएर भर्ना गरिएको कर्मचारीहरूलाई विभागले हाल तल झारेर वाच एण्ड वार्डमा राखेको गुनासो अघि राख्दै बसोरले बिना प्रशिक्षण आफूहरूलाई फिल्डमा लाइनको काम गर्न लागाइरहेको कुरा उठाए।
उनले यतिका वर्षसम्म विभागको हेलचेक्राइँमा परेको भन्दै अब नहेपिने कुरामा जोड दिए। शुक्रबार सब डिभिजनल टेलिकम अफिसरलाई ज्ञापन बुझाउने साथै माग पूरा नभएको खण्डमा आन्दोलनमा उत्रने शेर्पाले जनाएका छन्।
सचिव विनोद सुनामले पनि यतिका वर्ष सम्म आफूहरूले कम्पनीले भने अनुसार नै कामहरू गर्दै आइरहेको बताउँदै बिना कारण कर्मचारी छ्टाइ गरिरहेको कुरालाई स्विकार नगर्ने बताएको शेर्पाले जनाएका छन्।